www.tandavnews.com
Fact ~ In search of truth

आस्ताइन् श्रीदेवी, भारतको कलाकारिता क्षेत्र स्तब्ध

मुम्बई (रासस|एएफपी)

भारतीय चलचित्र जगत बलिउडकी एकजना चर्चित अभिनेत्री श्रीदेवीको गएराति निधन भएको दुःखद खबर छ ।

श्रीदेवी संयुक्त अरब इमिरेट्समा आफन्तको वैवाहिक कार्यक्रममा सहभागी हुन गएका बेला शनिबार राति उहाँलाई हृदयाघात भएको परिवारिक स्रोतले जनाएको छ ।

Batas

उहाँको निधनको समाचारले भारतीय सिने जगतका साथै उहाँलाई मनपराउने सर्वसाधारण सबै नागरिक स्तब्ध भएका छन् । साथै यस निधनप्रति भारतका चलचित्रकर्मी र शुभचिन्तकहरुले शोक व्यक्त गरेका छन् ।

चार वर्षको उमेरदेखि कलाकारिता क्षेत्रमा प्रवेश गरेकी श्रीदेवी ५४ वर्षको मात्र हुनुहुन्थ्यो । उहाँका मिस्टर इण्डिया, चाँदनी, मावली, तोफा, चालबाज, लमहे, खुदा गवाह, जुदाईजस्ता निकै चर्चित तथा व्यावसायिकरुपमा सफल चलचित्रमा अभिनय गर्नुभएको छ ।

उहाँका यी चर्चितसहित डेढ सयभन्दा बढी चलचित्र रहेका छन् । उहाँको जन्म सन् १९६३ को अगष्ट १३ मा भारतको तमिलनाडुमा भएको थियो ।

चर्चित अभिनेत्री श्रीदेवी बालकलाकारको रूपमा चार वर्षको उमेरदेखि नै एक तमिल चलचित्रबाट कला जगतमा प्रवेश गर्नुभएको थियो ।

उहाँले आफ्नो कलाकारिता व्यवसायको सुरुवातका समयमा बालकलाकारकै रूपमा तेलुगु र मलयालम भाषाका चलचित्रहरूमा पनि अभिनय सुरु गर्नुभएको समाचारमा जनाइएको छ ।

श्रीदेवीले सन् १९७९ मा मुख्य नायिकाकै रुपमा बलिउड चलचित्र ‘सोलहवा साल’ बाट अभिनय शुरू गर्नुभएको थियो ।

उहाँले सन् १९९७ मा जुदाई नामक चलचित्रमा अभिनय गरेपछि केहीवर्ष चलचित्रमा देखा नपरेपछि उहाँ किन सो क्षेत्रमा नआएको भन्ने बारेमा निकै ठूलो चर्चा चलेको थियो ।

यसैबीच उहाँको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्नुभएको छ । उहाँले लोकप्रिय कलाकार श्रीदेवीको निधनबाट भारतलाई बलिउड क्षेत्रमा ठूलो क्षति भएको बताउनुभएको छ ।

प्रधानमन्त्री मोदीले आइतबार बिहान ट्वीटगर्दै श्रीदेवीप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

त्यसैगरी बलिउडकी अर्की चर्चित अभिनेत्री प्रियंका चोपडाले पनि ट्वीटगर्दै आफूसँग श्रीदेवीप्रति श्रद्धाञ्जलि अर्पणगर्न कुनै शब्द नै नभएको भन्दै आफूलाई ठूलो शोक परेको बताउनुभएको छ ।

उहाँले श्रीदेवीको निधनले भारतीय चलचित्र क्षेत्रलाई निकै ठूलो र अपुरणीय क्षति पुगेको बताउनुभएको छ ।
भारतीय चलचित्र क्षेत्रका अर्का एकजना चर्चित नायक अक्षयकुमारले पनि उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

भारतीय कलाकारिता क्षेत्रका हजारौँ व्यक्तिले श्रीदेवीको निधनले बलिउड क्षेत्र नै शोकमा डुबेको र देशलाई ठूलो क्षति पुगेको अभिव्यक्ति दिइरहेका छन् ।

त्यसैगरी भारतका दशौँ लाख नागरिकले सामाजिक सञ्जालहरुमा उहाँप्रति हार्दिक श्रद्धाञ्जलि अर्पणगर्दै श्रीदेवीको निधनले विश्वमा नै चर्चित भारतको बलिउड क्षेत्रमा अपुरणीय क्षति पुगेको बताएका छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.