www.tandavnews.com
Fact ~ In search of truth

मर्दी ट्रेकिंगमा आन्तरिक पर्यटकको मोह

मर्दी ट्रेकिंगमा आन्तरिक पर्यटकको मोह
सन्तोष सुवेदी
पछिल्लो समय नयाँ ठाउँ पुगेर रमाउने संस्कारको विकास भएसँगै हिमालतिरका गन्तव्यमा यसको आर्कषण बढेको छ । हिमालका गन्तव्यमा घुम्नको लागि सबै विविधता पाइने भएकोले घुम्न जानेहरु बढी मात्रामा भेटिन्छन् । ४ हजार १ सय मिटर अग्लो स्थानमा रहेको मर्दी भ्यू पोइन्ट पछिल्लो समय ट्रेकिङको मुख्य गन्तव्य बनेको छ । पोखरेलीबासीको लागि हिमाल नौलो नभएपनि नजिकै पुगेर तस्विर खिच्ने र रमाउनेहरु उत्तर तर्फ रहेको मर्दी हिमाल पुग्ने गर्छन् ।
बसोबासका लागि उचित होटेल र रमाइलो वातावरणले पनि सबै उमेर वर्गलाई त्यताको यात्राले तानेको ट्रेकिङ गर्नेहरु बताउँछन् । ललितपुरका सुविन पन्तले पोखरा आउँदा मर्दी हिमाल जाने रहर र यहाँको रोमाञ्चक वातावरणले गर्दा ट्रेकिङ आउन बाध्य बनाएको सुनाए । उनले मर्दी हिमालको बारेमा सुनेपनि आउने अवसर बल्ल जुरेको बताए । उनी मर्दी हिमालको काखमा रहेर सुन्दर तस्विर कैद गर्दै भने, ‘‘विदेशका कुनाकुनाबाट पर्यटक घुम्न आउने यति सुन्दर ठाउँमा हामी किन चुक्ने, सबैले घुमेर यस्ता सुन्दर ठाउँको प्रचार गर्नुपर्छ ।’ घुमघामसँगै अध्ययन अनुसन्धानमा समेत सहयोग पुग्ने भएकाले हिमालको छेउघाउ ट्रेकिङ गर्न आवश्यक रहेको उनले बताए । विश्वकै उत्कृष्ट पदयात्रा मार्गमा पर्ने यी हिमाली भेगमा रमाउन पाउँदा जानेहरु फुरुङ देखिन्थे ।
माछापुच्छे्र र मर्दी हिमाललाई नजिकबाट नियाल्न मोटर बाटोले समेत नछोएको मर्दी ट्रेकमा आजकल विदेशी भन्दा पनि स्वदेशी पर्यटकहरु बढी पुग्ने गरेका छन् । यो ट्रेकको भ्यु प्वाइन्टमा पुगेपछि हिमालका चुचुरा नियाल्न पाइने हुँदा त्यहाँ पुग्न लालयित हुने गरेको जानेहरु बताउँथे । यहाँ पुगेर सामाजिक सञ्जालमा तस्वीर पोस्ट गर्नेमा अधिकांश नै युवा छन् । युवादेखि पाका उमेरका स्वदेशी देखि विदेशीहरु मर्दी हिमालको रोमाञ्चक यात्रामा कस्सिने गर्छन् ।
मर्दी हिमालको हाइ क्याम्पमा ट्रेर्कस प्याराडाइज सञ्चालन गरेका रविलाल गौतमले सिजनको बेला आन्तरिकदेखि बाह्य पर्यटकको ओहिरो लाग्ने गरेको बताउँछन् । उनका अनुसार असोज, कात्र्तिक र मंसिर महिना ट्रेकिङको सिजन मानिन्छ । ‘सिजनको बेला होटेलमा कोठाको व्यवस्थापन गर्न गाह्रो हुन्छ,’ उनले भने, ‘सिजनको बेलामा त दैनिक एकसय हाराहारीमा हिमाल हेर्नको लागि पर्यटक आउने गर्छन् ।’ ३ हजार ९ सय मिटरमा रहेको उनको होटेल चाहेको उचित सेवा सुविधा दिन नसक्नु समस्या भएको बताउँछन् । ‘टाढा भयो, सामान ल्याउन पनि गाह्रो हुन्छ,’ उनले भने, ‘भरियालाई बोकाउन पनि उतिसाह्रो मान्दैनन् माने पनि धेरै पैसा लिन्छन् ।’
मर्दी ट्रेक व्यवस्थापन समितिका अध्यक्ष सुदीप गौतमले पछिल्लो केही वर्षयता तन्नेरी जमात गु्रप बनाएर हिमालतिर रमाउन आउने क्रम ह्वात्तै बढेको बताउँछन् । उनले वर्षमा सयौंको संख्यामा स्कुल, कलेजमा अध्ययनरत युवा मर्दी हिमाल ट्रेकिङमा आउने गरेको बताए । ‘आन्तरिक पर्यटनहरु स्थायी हुन् यिनीहरु जस्तोसुकै अवस्था पनि आउने गर्छन्,’ उनले भने, ‘विदेशी पर्यटकहरु नेपालमा केही भयो भने आउन बन्द हुन्छ । मर्दी हिमाल ट्रेकिङ जाने बढी स्वदेशी पर्यटक नै छन् ।’
३ वर्ष अघि नेपालका पर्यटकलाई पनि घुम्नुपर्छ भन्ने मान्यताअनुसारनै यहाँ आउने पर्यटकको बढेको उनको अनुमान छ । उनका अनुसार सिजनको बेला एक दिनमा ८० जना सम्म आन्तरिक पर्यटक र ५० जना जति बाह्य पर्यटकहरु ट्रेकिङ गर्दछन् । अफसिजनमा भने यसको संख्या कम हुन उनले बताए । ट्रेकिङको व्यस्त गन्तव्य मर्दी बनेको हुँदा बाटोमा पनि सुधार ल्याउनुपर्ने उनले बताए । ‘ट्रेकिङ रुटलाई मर्मत गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘नेचर खोज्न आउने पर्यटकलाई सोही अनुसारको बाटो सिर्जना गर्नुपर्छ ।’

मौसम खुल्ने र हिमाल छ्याङै देखिने यो समयमा झनै युवाले हिमालको यात्रालाई रोज्ने गरेका छन् । अन्नपूर्ण पदयात्रा मार्गको, अस्ट्रेलियन क्याम्प, मर्दी हिमाल, अन्नपूर्ण बेस क्याम्प, मुस्ताङ, मनाङलगायतका हिमाली क्षेत्र तन्नेरीका रोजाइमा पर्छन् । हिजोआज कलेजले समेत अध्ययन अवलोकन भ्रमणका रूपमा समेत यही ठाउँ रोज्ने गरेको पाइन्छ ।

© 2018, अर्जुन गिरी. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.