www.tandavnews.com
Fact ~ In search of truth

‘सिरुमारानी’लाई दर्शकको उल्लेख्य साथ

पोखरा ।

पोखराको ग्रैहापाटनमा स्थापना गरेको गन्धर्व नाटकघरमा नाटक ‘सिरुमारानी’ मञ्चन भइरहेको छ ।

फागुन २ गते औपचारिक उद्घाटन गरी नाटक मञ्चन सुरु गरिएकोमा बिहिबारबाट भने सर्वसाधरणका लागि नियमित नाटक मञ्चन सुरु भएको छ ।

Batas

विगतमा पोखरा उद्योग वाणिज्य संघको हल, पोखरा सभागृह हल लगायतका ठाउँमा नाटक देखाउँदा हल व्यवस्थापन राम्रो नहुँदा निकै सकसपुर्ण तरिकाले नाटक हेर्न बाध्य बनेका नाट्यप्रेमीले थिएटरमा बसेर नाटक हेर्न पाउँदा नौलो अनुभुती गरे ।

निर्धारित समयमा नाटक शुरु हुने, अनि शान्तपुर्वक थिएटर हलमा बसेर रंगकलाकारको अभिनय हेर्न पाउँदा उनीहरु उत्साहित देखिन्थे । नाटकमा विभिन्न भुमिकामा देखिएका कलाकारको अभिनय क्षमता, उनीहरुको गेटअपले दर्शकलाई आर्कषित गर्छ ।

१८ वर्षपछि रंगमञ्चमा फर्किएका माओत्से गुरुङको उपस्थितीले सिरुमारानी नाटकलाई परिपक्क बनाएको अनुभुती सबैले गरे । माछे पात्रको रुपमा देखिने माओत्से गुरुङको अभिनयले दर्शकको ध्यान खिचिरहन्छ ।

नाटकको मुख्य पात्रको रुपमा देखिएकी बविता मल्ल ठकुरीले विभिन्न भुमिकामा गरेको उत्कृष्ट अभिनय हेर्दा उनी भर्खरै नाट्य क्षेत्रमा डेब्यु गरेकी कलाकार हुन् भन्दा दर्शकलाइृ पत्यार लाग्दैन । किनभने मुख्यपात्रको रुपमा उनले नाटकको मुख्य विषयवस्तुलाई बुझाउन निकै मेहनत गरेकी छन् ।

पोखरेली नाट्य क्षेत्रमा स्थापित बनीसकेका प्रकाश घिमिरेको युवा जोश देखाउदै रोमान्टिक प्रस्तुतिले उनको बुढ्यौलीपनालाई चटक्कै बिर्साइदिन्छ । माया, प्रेम, मिलन विछोडको समिश्रण भएको नाटकमा विष्णु गौतमले आफ्नो उमेर भन्दा निकै पाको भुमिका निभाउदै नाट्य क्षेत्रमा कमव्याक गरेका छन् । धनबहादुर गायकको वाजाको धुन अनि नाटकमा प्रयोग गरिएको गीतसंगीतले पोखरेली रगंमञ्चलाई माया गर्नेहरुको नाट्य तृष्णा मेटाउने थप खुराक बन्छन् ।

विभिन्न नाटक मार्फत रंगमञ्चमा देखिसकेका दिल गुरुङ गरिब ढाक्रेको भुमिकमा देखिदा होस् वा महामन्त्रीको रुपमा देखिदाँ कथालाई न्याय गरेका छन् ।

सेनापती बनेका रमेशबाबु तिमिल्सिना सँगै रंगमञ्चमा आशा लाग्दो प्रतिभा बनेर उदाउन खोजेका अन्जु दाहाल, लक्ष्मण डुम्रे, बबिता मल्ल, प्रसूना भण्डारी, सीमा गुरुङ, सचिन गिरी, शरद भण्डारी, ध्रुव पौडेल, अविराज बिसी, सूर्य सुवेदी, सम्झना सिर्पाली, विश्वराज पौडेल लगायतका कलाकारको अभिनयले स्टेजतर्फ मात्र दर्शकलाई ध्यान केन्द्रित गर्न वाध्य बनाउँछ ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त्त श्रेष्ठको लेखनको नाटक ‘सिरुमारानी’मा नाटकको निर्देशन सोमनाथ खनालले गरेका छन् भने थियटरका अध्यक्ष परिवर्तनको संयोजन छ ।

फागुन १५ गतेसम्म हरेक साँझ पौने पाँच बजेबाट मञ्चन हुनेछ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.