सन्तोष सुवेदी
पोखरा, ताण्डव न्यूज ।
एकसमय पोखरामा पपगीतले माहोल तताउने गथ्यो । यहाँ हुने विभिन्न कार्यक्रममा पपसंगीत पारखीहरुको बाक्लो सहभागीता हुने गथ्र्यो । पप गीतको बजार गर्मराउने बेला एक्कासी यसको क्रेज सेलाउदै गयो ।
कलाकार पलायन हुनु, संगीतमा भविष्य नदेख्नु सायद यस्तै कारण थिए । तर अब लामो समय पपगीतको हराएको क्रेजको रफ्तार पुन देखिने भएको छ ।

यसको अनुमान यसरी गर्न सकिन्छ कि, जति पलायन भएका चर्चित व्यान्डहरु थिए तिनीहरुको पुनरागमन हुने क्रम चलिरहेको छ । १० वर्ष अमेरिका पलायन भएका गायक कर्णदास साँगीतिक क्षेत्रमा फर्किसकेका छन् । त्यस्तै झण्डै आठ वर्ष ग्यापमा रहेको पोखरेली समूह कन्दराले पनि आफ्नो क्रेज पुरानै लयमा फर्काउने क्रममा छ ।
यही भीडमा लामोसमयदेखि निष्क्रिय ‘लेकाली व्याण्ड’ पनि फर्किएको छ । दुई दशकपछि व्याण्डले पाँचौ एल्बम ‘फर्केर हेर्दा’ बाट संगीत क्षेत्रमा पुनरागमन गरेको छ । व्याण्डको उक्त गीतलाई डिभिडीमा रुपान्तरण गरेर ल्याउन लागिएको छ ।
अप्रिल फस्टमा हङकङकमा लेकाली नाइट गरी उक्त एल्बमको विमोचन गरियो । ब्यान्डका सदस्य सचिन पुनका अनुसार वरिष्ठ संगीतकार तथा गीतकार विक्रम गुरुङले एल्बमको विमोचन गरियो । उक्त एल्बममा नयाँ तथा पूराना गरी ८ वटा गीत संग्रहीत छन् ।
एकपछि अर्को एल्बम गर्दै दर्शक श्रोताको मन जित्ने बेलामा व्यान्ड झ्याप्प रोकियो । एल्बमको निरन्तरता बन्द भयो, स्टेज तिर देखिने व्याण्डको उपस्थित न्यून रह्यो ।
व्याण्डको सुरुआत
उबेला लोकपप गीत निकै रुचाइथ्यो । ठाउँठाउँमा विभिन्न कार्यक्रमहरु हुन्थे । कुरा २०५१÷०५२ तिरको हो । पोखराको पृथ्वीनारायण क्याम्पसमा एउटा साँगीतिक कार्यक्रम भएको थियो । त्यहाँ गीत प्रस्तुत गर्नको लागि काठमाडांैदेखि कलाकार सन्जय श्रेष्ठ, भित्र तुलाधर, सुनिल उप्रेतीहरु आएका थिए ।
गीत सुन्नको लागि पुग्ने अधिकांश युवकमध्येका केही एक युवकहरु अल्लि फरक सोचले त्यहाँ पुग्थे । उनीहरु थिए, नविन गुरुङ, सचिन पुन लगायत । कलाकारसँग अटोग्राफ लिन्थे उनीहरु अनि सोच्थे हामी पनि यसरी चर्चित बन्ने पाए ।
पृथ्वीनारायण क्याम्पसमा सँगै पढ्नेबेला देखि नै संगीतको हुटहुटीले छोएको थियो उनीहरुलाई । सचिनले नविनलाई गीत गर्ने कुरो राखे । नविनबाट सहमत भएपछि गीत तयार गरियो । गीत यस्तो बन्यो, ‘यो मुटुमा माया धेरै धड्कन बढ्दै आयो ।’ गीतलाई पनि निकै रुचाइयो ।
एउटा व्यान्ड गरौं न त भन्ने हिसावमा अगाडि बढेका थियो लेकाली व्यान्ड । २०५२ मा स्थापित भएपछि एल्बम निकाल्नमै हौसिए व्यान्डका सदस्यहरु । व्यान्डले पहिलो एल्बम २०५४ ‘यो मुटुमा’ निकालेका थिए ।
त्यसपछि २०५६ सालमा ‘यातना’ र २०६० सालमा ‘मानस र मोहनी ।’ यसबीचमा व्यान्डले थुप्रै ठाउँमा स्टेज शो गरे । उनीहरुको एल्बममा बढी रुचाइएको गीत ‘यो मुटुमा’ नै थियो । सुरुआतको समयमा गायक विनोद बानियाँ पनि व्यान्डमा आवद्ध थिए । पछि विभिन्न कारणले बानियाँ अलग रहे ।
पलायन हुने कारण
एकपछि अर्को एल्बम गर्दै दर्शक श्रोताको मन जित्ने बेलामा व्यान्ड झ्याप्प रोकियो । एल्बमको निरन्तरता बन्द भयो, स्टेज तिर देखिने व्याण्डको उपस्थित न्यून रह्यो ।
व्याण्डका सदस्य सचिन पुन भन्छन्, ‘विदेश पलायन हुँदा संगीतमा सक्रिय हुन सकिएन । अब आएका छौं, निरन्तरता दिनेछौं ।’ व्याण्डका सदस्यहरुको आआफ्नै समस्याको कारण विदेशीन परेपनि अब त्यस्तो समस्या नआउने पुनले बताए । जतिबेला संगीतमा सिक्ने र दरिलो बन्ने उमेरमा विदेशीनु बाध्यता रहेको उनले खुलाए । ‘नयाँ व्यान्ड सदस्यका साथ पुन आएका छौं,’ उनले भने, ‘हिजोका दिनमा खस्किएकै हो, अब जुर्मुराउने छौं ।’
फर्कि हेर्दा
चौथो एल्बम निकालेपछि विभिन्न कारणले गर्दा विदेशीएको व्यान्ड पाँचौं एल्बम ‘फर्कि हेर्दा’ बाट आगमन भएको छ । विदेशिएका व्यान्ड सदस्य साथीभाईको जमघटले थप हौसला मिलेको सचिन पुन बताउँछन् ।
‘साथीभाईहरुले कता हराएको, किन संगीतमा ढिला गरेको जस्तो जिज्ञासाले गर्दा फर्किनै पर्ने देखियो,’ उनले सुनाए, ‘हामी पुन संगीतमा आउनु नै थियो । त्यही भएर एल्बमको नामपनि सोही अनुसारकै राखिएको हो, फर्कि हेर्दा ।’
बुढेसकालमा संगीतमा फर्केजस्तो भान भएपनि आगमी दिनमा निरन्तरतासँगै थुप्रै गीत आउने तयारी रहेको पुनले सुनाए । व्यान्डमा अहिले नविन गुरुङ, सचिन पुन, कुन्दन गुरुङ, विनोद गुरुङ र गुप्ता गुरुङ सदस्य छन् ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.