www.tandavnews.com
Fact ~ In search of truth

कालीगण्डकीमा अबैध उत्खनन र चोरी निकासी

बाबियाचौर, म्याग्दी (रासस)

बेनी नगरपालिका–१ आनन्दबगरमा अबैध रुपमा कालीगण्डकी नदीबाट नदीजन्य बस्तीको उत्खनन र चोरी निकासी भइरहेको छ ।

सम्बन्धित निकायको अनुमतिविना उपकरणको प्रयोग गरेर नदीबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गरेर चोरी निकासी भएको हो । नदीजन्य पदार्थको उत्खननका लागि जिल्ला समन्वय समितिसँग सम्झौता गर्नुपर्ने व्यवस्था छ ।

Batas

आनन्दबगरमा नदीजन्य पदार्थको उत्खनन र निकासीका लागि कसैले पनि अनुमति नलिएको र सम्झौता विपरीत डोजर, ब्याकलोडरको प्रयोग गरेर उत्खनन गर्नु अवैध काम भएको जिल्ला समन्वय अधिकारी यमप्रसाद सुवेदीले बताउनुभयो ।

केही दिनयता अनुमतिविना नदीको धार र स्वरुप परिवर्तन हुने गरी डोजरको प्रयोग गरेर नदीजन्य पदार्थको उत्खनन गर्दै आएका छन् । जथाभावी रुपमा नदीजन्य पदार्थ उत्खनन गर्दा नदीको धार परिवर्तन भई कटानको जोखिम बढेको छ ।

आनन्दबगरमा खेलमैदान विस्तार र नदी कटान नियन्त्रणका लागि ढुङ्गा, गिट्टी र बालुवा बेचेर आयस्रोत जुटाउन क्लबले रु सात लाख ५० हजारमा ठेक्का दिएको सेभेनस्टार युवा क्लबका अध्यक्ष लालबहादुर थापा (माइकल)ले बताउनुभयो ।

नगरपालिका, समन्वय समिति, जलउत्पन्न प्रकोप व्यवस्थापन कार्यालयमा पटकपटक योजनाको माग गरे पनि बजेट विनियोजन नभएकाले बाध्य भएर नगरपालिकाका जनप्रतिनिधिहरुको सहमतिमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गरिएको थापाले दाबी गर्नुभयो ।

जिल्ला समन्वय समितिका सूचना अधिकृत पद्म भण्डारीले स्थानीयवासीको विरोध र दबाबका कारण चालु आर्थिक वर्षमा जिल्ला समन्वय समितिले आनन्दबगरको नदीजन्य पदार्थको ठेक्का नलगाएको बताउनुभयो ।

बस्ती जोखिममा पर्छ भनेर सरकारी निकायलाई उत्खनन गर्न नदिने तर स्थानीय बासिन्दाले जथाभावी रुपमा उत्खनन गर्नु उपयुक्त नभएकोे भण्डारीको दाबी छ ।
प्रहरी नायब उपरीक्षक बसुन्धरा खड्काले उत्खननमा प्रयोग भएका उपकरण र सवारी साधन मंगलबार दिउँसो नियन्त्रणमा लिएर थप कारबाही प्रक्रिया अघि बढाउन जिल्ला समन्वय समितिको जिम्मा लगाएको बताउनुभयो ।

गत माघमा पनि बेनपा–१ सारेमारे क्षेत्रमा नदीजन्य पदार्थको उत्खननमा प्रयोग भएका डोजर र टिपर प्रहरीले नियन्त्रणमा लिएर समितिलाई बुझाएको थियो ।

प्रहरीले अवैध र जथाभावी रुपमा नदीको दोहनमा प्रयोग भएका सवारी साधन र उपकरण नियन्त्रणमा लिए पनि कारबाही नभएकाले यस्तो गतिविधि मौलाएको प्रनाउ खड्काको गुनासो छ ।

बेनपा–५ को बगुवाखोलाका क्रसर सञ्चालकले समेत सम्झौता विपरीत डोजर प्रयोग गरेर नदीजन्य पदार्थको उत्खनन गरेको स्थानीयवासीले गुनासो गरेका छन् । जसका कारण नदी गहिरिएर वरपरका बस्ती र जमिन कटानको जोखिममा परेको गुनासो उनीहरुको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.