पोखरा
ताण्डव न्यूज ।
आठ वर्षपछि धम्पुसमा आयोजना गरिएको ‘गन्तव्य धम्पुस लालीगुराँस महोत्सव’ को लगभग तयारी पूरा भएको छ ।
लालीगुराँस युवा क्लबको आयोजनामा हुने महोत्सव बैशाख ४ गतेदेखि ८ गतेसम्म माछापुच्छ्रे गाउँपालिका–७ पृथ्वीनारायण मावि धम्पुसको प्राङगणमा हुनेछ ।
महोत्सवको मिति नजिकिएसँगै तयारी पनि लगभग ९० प्रतिशत पूरा भएको क्लबका अध्यक्ष आसिम गुरुङले जानकारी दिए ।
‘धम्पुस लालीगुराँस महोत्सव हाम्रो पहिचान आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नारासहित महोत्सव पाँच दिनसम्म चल्नेछ ।
देशको आर्थिक मेरुदण्डको रुपमा रहेको पर्यटन व्यवसायलाई प्रवद्र्धन गरी प्रदेश ४ तथा यस क्षेत्रलाई बाह्य तथा आन्तरिक पर्यटनहरुको आगमनमा बृद्धि गराई आर्थिक विकासमा टेवा पुग्ने महोत्सवको लक्ष्य लिएको आसिम गुरुङले जानकारी दिए ।
महोत्सवमा पुरुष तथा महिला भलिवल, खुल्ला लोकदोहोरी गीत, वडा स्तरीय झाँकी, छेलो, रस्साकस्सी खेलकुद प्रतियोगिता, कृषि तथा हस्तकला प्रदर्शन, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति, लाइभ कन्सर्ट (लक्ष्य, ड्यामेज ग्रीटर्स, डिजे कान्छ) आकर्षण रहने गुरुङले बताए ।
पुरुष भलिबलमा १५ टिम र महिला भलिबलमा ७ टिम दर्ता भइसकेको गुरुङले जानकारी दिए ।
महोत्सव सम्पन्न गर्नको लागि २५ लाख अनुमानित लागत लाग्ने जनाइएको छ । एक लाख दर्शक आउने अपेक्षा गरिएको महोत्सव हेर्नको लागि २५ रुपैयाँको टिकट काट्नुपर्ने हुन्छ ।
महोत्सवमा खानाको ४, कपडाको ३ र कृषि तथा हस्तकलाको ३ गरी जम्मा १० वटा स्टल रहनेछन् ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।