www.tandavnews.com
Fact ~ In search of truth

प्रदेश चारको नाम हिमालय, गण्डकी वा मुक्तिक्षेत्र राख्न सुझाव

फलेवास, पर्वत(रासस)

प्रदेश नं ४ को नाम गण्डकी, धौलागिरि वा मुक्ति क्षेत्र राख्न पर्वतका सरोकारवालाले सुझाव दिएका छन् ।

सोमबार भएको एक कार्यक्रममा उनीहरुले प्रदेशसभा सदस्यसँग ११ वटै जिल्लाको पहिचान हुने गरी प्रदेशको नाम राख्नुपर्ने सुझाव दिएका हुन् ।

Batas

पर्वतमा विशेष गरी हिमालय, गण्डकी वा कालीगण्डकी, र मुक्ति क्षेत्रको नाम प्रस्ताव गरिएको छ । यसबाहेक धौलागिरि, शालिग्राम, कृष्णगण्डकी, वा मध्य प्रदेश राख्न समेत सरोकारवालाको सुझाव रहेको छ ।

प्रदेश नम्बर ४ का अधिकांश जिल्ला हिमाली भेगसँग जोडिएको र अग्ला हिमशृंखला यस क्षेत्रको पहिचान भएकाले हिमाल प्रदेशनै सबैको साझा नाम हुने सुझाव सरोकारवालाले दिएका छन् ।

त्यसैगरी, नेपालकै लामा र ठूला नदी पनि यस प्रदेशमा पर्ने भएकाले गण्डकी प्रदेश राख्न पनि सकिने उनीहरुको तर्क छ ।

नेपालमै पवित्र मानिएको कालीगण्डकी नदी, जहाँ शालिग्राम शिलासमेत पाइन्छ, त्यस्तै सेती गण्डकी लगायतका नदी रहेको स्थान र यसभन्दा अघि तत्कालीन माओवादीले गण्डक प्रदेशसमेत नामाकरण गरिसकेकाले गण्डक प्रदेश राख्न सकिने पनि सुझाव आएको छ ।

त्यस्तै, प्रदेश नम्बर ४ को मुख्य पर्यटकीय क्षेत्र राउण्ड अन्नपूर्णमध्येको पनि मुक्तिनाथ सबैभन्दा परिचित धार्मिकस्थल भएकाले मुक्तिक्षेत्र राख्नुपर्ने सुझावसमेत दिइएको छ ।

हिन्दूको आस्थाको धरोहरसमेत मानिएको र विश्वमै परिचित धार्मिक एवं पर्यटकीयस्थल भएकाले मुक्ति क्षेत्रको नामबाट प्रदेशको नामाकरण गर्नु उचित हुने नामसमेत आएको छ ।

यसबाहेक भगवान् विष्णुको अवतार मानिने विश्वकै ठूलो शालिग्राम शिला रहेको प्रदेश र कालीगण्डकी नदीमा मात्र पाइने भएकाले शालिग्राम प्रदेश राख्दा पनि सबैको लागि साझा नाम हुने प्रस्ताव गरिएको छ ।

त्यस्तै, दामोदरकुण्डदेखि तराईका जिल्लासम्म पुगेको कालीगण्डकी जुन कृष्णगण्डकी नामले पनि परिचित छ, यो नाम राख्न पनि सकिने सुझाव सहभागीले दिएका छन् । उनीहरुले प्रदेश राजधानी भने पोखरामै उपयुक्त हुने सुझाव दिएका थिए ।

सुझाव संकलन कार्यक्रममा सहभागी राजनीतिक दलहरुले हिमालय, कालीगण्डकी÷गण्डकी वा मुक्तिक्षेत्रलाई नै जोड दिएका छन् ।

नेकपा (एमाले)का जिल्ला उपाध्यक्ष भक्त कुँवर, नेपाली काँग्रेसका सभापति खिमप्रसाद भुसाल, नेकपा (माओवादी केन्द्र)का शंकर गिरी, नयाँ शक्तिका यामबहादुर चोचाङ्गी पुनलगायतले मुख्य गरी हिमालय, कालीगण्डकी÷गण्डकी वा मुक्ति क्षेत्र राख्दा ११ वटै जिल्लाका लागि साझा नाम हुने सुझाव दिनुभएको थियो ।

त्यस्तै, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, स्थानीय तहका प्रमुखले पनि जुन नाम राख्दा सबैको पहिचान झल्किन्छ र सबैले अपनत्व बोध हुन्छ त्यस्तो खालको नाम राख्नुपर्ने बताएका छन् । उनीहरुले गण्डकी, मुक्तिक्षेत्र वा हिमालय राख्दानै उपयुक्त हुने पनि बताउनुभएको छ ।

पर्वतमा सुझाव संकलनका लागि प्रदेशसभा सदस्य चन्द्रबहादुर बुढा, सावित्री राना र जुनादेवी नेपालीसहितको कर्मचारीको टोली खटिएको हो । पर्वतमा आएका सुझावलाई प्रदेशसभामा लैजाने र सकेसम्म यस क्षेत्रबाट गएका नामकै आधारमा नामाकरण गर्नका लागि पहल गर्ने सांसदले बताउनुभएको थियो ।

कार्यक्रममा जिल्लास्थित स्थानीय तहका प्रमुख÷उपप्रमुख र प्रशासकीय अधिकृत, सरकारी कार्यालयका प्रमुख, राजनीतिक दल, गैरसरकारी संस्थालगायत सरोकारवालाको उपस्थिति गराइएको थियो ।

सो अवसरमा प्रतिनिधिसभा सदस्य लालकाजी गुरुङले धेरै व्यक्तिका फरकफरक खालका सोचका आधारमा सुझाव दिनुभन्दा पनि एउटै साझा नाम मानेर पठाउँदा राम्रो हुने सुझाव दिनुभएको थियो ।

उहाँले जुन नाम ११ वटै जिल्लाका नागरिकका लागि उपयुक्त हुन्छ त्यस्तो नामबाट नामाकरण हुनुपर्ने सुझावसमेत दिनुभएको छ ।

धेरै जिल्लाबाट धेरै किसिमका नाम राख्न सुझाव आउने र मुख्य मुख्य दुई÷तीनवटा नामलाई बहुमतका आधारमा टुंगो लगाउँदा उचित हुने सुझाव समेत सहभागीले दिएका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.