www.tandavnews.com
Fact ~ In search of truth

रोयल्टी सुरुआतीको वर्ष ०७४

सन्तोष सुवेदी
पोखरा, ताण्डव न्यूज ।

संगीत क्षेत्रको लागि वर्ष ०७४ को अन्त्यअन्त्य तिर खुशीको सन्देश आयो । लाखौं रुपैयाँ खर्चेर गीत रेकर्ड गराएर एक रुपैयाँ नपाएका कलाकारहरु गीतबाट रोयल्टीको व्यवस्था हुन लाग्यो ।

यातयात व्यवस्था विभागले देशभरका सवारी साधनबाट गीत बजाएबापत रोयल्टी तिर्नुपर्ने व्यवस्था गरेको छ । नेपाल सरकारले जारी गरेको निर्देशिका अनुसार यदि कुनै पनि सवारी साधनले गीतको रोयल्टी नतिरेर बजाएको पाइएमा प्रतिलिपी ऐन बमोजिम दुई लाख रुपैयाँसम्मको तिर्नुपर्ने व्यवस्था गरेको छ ।

Batas

सवारीमा एफएम, क्यासेट प्लेयर जुनसुकै माध्यमबाट गीत बजाउँदा पनि रोयल्टी तिर्नुपर्ने हुन्छ । विकसित देशहरुमा यस्तो व्यवस्था १ सय बर्षभन्दा पहिलेदेखि नै लागु भएको भन्दै विभागले नेपालमा भने पहिलो पटक यस्तो नियम लागु गर्न लागिएको हो । यातायात कार्यालयमा सवारी साधनको रुट इजाजत, नवीकरण गर्न रोयल्टी बुझाउन सकिन्छ ।

जसमा ६ पाङग्रे ठूलो सवारी साधनले बार्षिक रुपमा दुई हजार रुपैयाँ बुझाउनुपर्नेछ भने ३ पाङग्रे ट्याम्पोले ८ सय रुपैयाँ, ट्याक्सी, माइक्रो, जीपले एक हजार रुपैयाँ, चार पाङग्रे मझौला मिनी बसले १४ सय रुपैयाँ, ट्रक, ट्याङकरले बार्षिक १२ सय रुपैया, मिनिट्रकले १ हजार रुपैयाँ, पिक अपले ९ सय रुपैयाँ तिर्नुपर्नेछ ।

यसरी रेडियो तथा यातयातमा बजेबापत दिइने रोयल्टी झन्डै वार्षिक रुपमा ३०÷४० करोड संकलन हुने आँकलन संगीत रोयल्टी संकलन समाजका उपाध्यक्ष रमेश बिजी बताउँछन् ।

‘रोयल्टीको सुरुआत भएको छ,’ उनी भन्छन्, ‘केही कुराहरुमा बिरोध पनि भएको थियो तर अब यातयातबाट पनि रोयल्टी तिर्न पर्ने व्यवस्था भएको छ ।’ बिजीले सिआरबिटीको रोयल्टी केही कलाकारलाई पाएपनि अब यातयातबाट रोयल्टीको सुरुआत भएको बताए । संगीत क्षेत्रको लागि रोयल्टी पाउनु केही मात्रामा सुखद रहेको उनको भनाई थियो ।

नेपाली फिल्मले पनि लोकगीतलाई आत्मसाथ गरेको वर्षको रुपमा ०७४ लाई लिएको पाइन्छ । युटुवमा करोडौं भ्युर्अस भएका गीतहरु सबै लोकलयमा आधारित रहेको बिजी बताउँछन् ।

व्यावसायिक रुपमा मेला महोत्सवहरुले एकदमै धेरै भए । यसले गर्दा स्टेजमा चलेका कलाकारहरुको लागि फलदायी बन्यो । ‘श्रष्टा र सर्जकको लागि त अझ केही वर्ष नै पीडा दायक नै होला,’ स्रजक समेत रहेका बिजी बताउँछन्, ‘तर, स्जेटजमा गाउन नाच्न जान्नको लागि राम्रै बन्यो । सामान्य कलाकार पनि यो वर्ष व्यस्त नै रहे ।’

०७४ मा थुप्रै गीत रेकर्ड भए । स्टुडियोमा पनि व्यावसायिक रुपमा रहेका कम्पनीलाई पनि राम्रै खालको फाइदा भएको बिजी औल्याउँछन् । ‘बिकृति विसंगतिमा केही कुरा पनि आए । त्यसमा पनि प्रतिष्ठानले पनि कार्यान्वयन गरेको छ,’ उनी भन्छन्, ‘समग्र रुपमा ०७४ साल संगीतको लागि सकरात्मक नै छ भन्दा हुन्छ ।’

स्टेजमा तडकभडक प्रस्तुति दिने केही कलाकारहरुलाई आयोजकबाट नै बहिष्कारका कुरा आउनु राम्रो पक्ष रहेको उनले सुनाए । २०७५ सालको प्रतिष्ठानकै भवन निर्माण गर्ने एउटामात्र ठूलो लक्ष्य रहेको उनले बताए । ०७४ मा दोहोरी गीत प्रतिष्ठान विदेशमा पनि शाखा गठन भएको छ । जसमा जापान, इण्डिया, कतार र असारमा दुबैमा समेत गठन हुँदैछ ।

राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालका उप–महासचिव चोलेन्द्र पौडेलले संख्यात्मक रुपमा बढी गीत सिर्जना भएपनि बिकृतिका कुरा पनि उत्तिकै आएको बताए । विकृतिविसंगतीको लागि प्रतिष्ठानबाट पहल गरी न्यूनिकरणका कामहरु भएको उनले सुनाए । यसको अलावा संगीतकर्मीको लागि वर्ष २०७४ उत्तिसारो निरासजनक नभएको उनको भनाई थियो ।

प्रतिष्ठानका केन्द्रीय सदस्य जीवन दाहालले वर्ष ०७४ मा गीत चोरीका घटना नरोकिएको बताए । ‘सिर्जनाका चोरीको कुराहरु पनि आए,’ उनले भने, ‘रोयल्टी प्रदान पाउने काम पनि तिव्र भएको छ ।’ गायक÷गायिकाले कम्पनीको निर्भर भन्दा पनि आआफ्नै युटुव खोलेर काम गरे ।

संगीतको लागि फाइदा बेफाइदा भन्दा पनि मध्यम वर्ष रहेको दाहालको विश्लेषण छ । डिजिटल स्टारका सञ्चालक तथा एरेन्जर तारानाथ आचार्यले वर्ष २०७४ मा उत्कृष्ट गीत संगीत बजारमा आएको बताए ।

उनले विस्तारै संगीत क्षेत्रमा प्रविधिको पनि विकास भएको जनाए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.