www.tandavnews.com
Fact ~ In search of truth

अनिलको रंगमञ्च राग

सन्तोष सुवेदी
पोखरा, ताण्डव न्यूज ।

पोखरा थिएटरले सञ्चालन गरेको गन्धर्व नाटकघरमा यतिखेर ठूलो नाटकको पोस्टर छ ।

‘जिउँदो आकाश’ नामक नाटकको पोस्टरमा एक युवतीको मलिन चेहरा छ । तर ति युवती वास्तविक भने होइनन् । नाटकमा तेस्रोलिंगी पात्रमा देखिएका अनिल सुब्बाको तस्विर हो ।

Batas

तेस्रोलिंगीले भोग्नुपरेको समस्यालाई नाटक मार्फत देखाउनको लागि कलाकार सुब्बा गौरब देखि गरिमा पात्रसम्म बनेका छन् । तेस्रोलिंगीको पात्रमा देखिएका सुब्बा दर्शकलाई नाटक मञ्चन अवधिभर मज्जैले बाधेका छन् ।

चन्द्रप्रसाद पाण्डेयको लेखन रहेको नाटकको परिकल्पना तथा निर्देशन आर के महता रोशनले गरेका हुन् ।

इलाम चुलाचुली गाविसका अनिल सुब्बा पोखरा थिएटरमा वैशाख १ गतेदेखि विभिन्न पात्रमा सजिएर एकल प्रस्तुति दिएका छन् । जन्म पुरुष भएपनि बृद्धि विकास सोच महिलाको हुने पात्र उनले न्याय पूर्वक निभाएका छन् ।

‘गौरबदेखि गरिमासम्मको स्ट्रगल नाटकमा छ,’ पोखरा थिएटरमा ताण्डव न्यूजसँगको भेटमा सुब्बाले सुनाए, ‘तेस्रो लिंगीप्रति सबैको सोच सकरात्मक हुनपर्छ भन्ने देखाउन खोजिएको छ ।’

बैशाख १५ गतेसम्म पोखरेली दर्शकसमक्ष उनले नाटक देखाउँदै छन् ।

आफू अभिनित पहिलो नाटक नामको उनलाई याद छैन् । नाटकमा खेल्न थालेको वर्षहरुको पनि ठ्याक्कै अड्कल छैन उनलाई ।

भन्छन्, ‘नाटक खेल्न थालेको थुप्रै भयो । समयको लागि त गन्नै पर्छ ।’

तर उनलाई २०६५ सालमा चण्डी मेलामा दुव्र्यसनी सम्बन्धी नाटक खेलेको भन्ने सम्झना छ । उनको औपचारिक नाटकको सुरुआत इलामबाटै भएको हो । त्यहाँ रहेको चुलाचुली थिएटरमा उनी अझै पनि काम गर्छन् भने काठमाडौंमा उनी फ्रिलान्सरको रुपमा कार्यरत छन् ।

नाटकको यात्रा

घरको कान्छो छोरा । दाइदिदीहरुको आर्ट फिल्डमा रहेको हुँदा गीत गाउनेदेखि अभिनयको गुण दाइबाट सरेको उनी ठान्छन् ।

उनका दाई चेतन आङथोपोको सर्पोट नै नाटकको प्रेरणा हो । उनले पहिलो नाटकमा ब्रेक नै चेतनबाट पाएका थिए ।

उनी सम्झन्छन्, ‘सुरुमा नाटक गर्नुपर्छ भन्ने थियो तर त्यो सम्बन्धी केही थाहा थिएन् । पछि चेतन दाईले नाटक भनेको दुईथरीको हुन्छ, एउटा मञ्च नाटक अर्को सडक नाटक भनेर भन्नुहुन्थ्यो । मञ्च नाटकमा लाइट केही नहुने अग्लो स्टेज बनाएर देखाइन्थ्यो ।’

त्यतिबेला देखिनै प्रतिभा देखाउँदै समाजका समस्याको बारेमा नाटकबाट सन्देश दिने गरेको उनले सुनाए । नाटक देखाउन बिहानै हिड्थे ।

पैसा हुनि थिएन। दुव्र्यसनी, जातिय छुवाछुत सम्बन्धी नाटक बनाउने ३÷४ घण्टा हिडेर आधिघण्टाको नाटक देखाएर फर्कने गरेको सम्झना उनलाई अझै पनि आउँछ । त्यससमय नाटक खेलेर पैसा पाउने भन्दा पनि नाटकबाट सोसल एवारनेन्सको लागि गर्थे ।

उनले त्यहीबेलादेखि नै आफूमा नाटकप्रतिको रस, झुकाव बढेको हुन सक्ने आँकलन गर्छन् अहिले ।

काठमाडौं छिरेको चार वर्ष भयो । नेपालमा नाटक सम्बन्धी पढाई हुँदैन् । तीन महिने, छ महिने कोर्षलाई नै नाटकको अध्ययन मानिने गर्छ । त्यसैले पनि उनी नाटक भन्दा पनि संगीत पढिरहेका छन् ।

उनले आधा दर्जनजति नाटक खेलिसकेका छन् । नाटक ‘जिउँदो आकाश’ मञ्चनमा व्यस्त सुब्बा पोखरा लगत्तै झापा र विराटनगर पुग्दैछन् । यो उनको दोस्रो एकल नाटक हो । यसअघि उनीको ‘एलो कमेडी’ एकल पहिलो नाटक थियो ।

फिल्मको अफर

राम्रो व्यानरबाट फिल्म खेल्ने अफर आए गर्ने सोच छ उनको । यसअघि पनि केही फिल्म आएका थिए तर उनले गरेनन् । फिल्म मेकरहरुको कन्सेप्ट थिएटर आर्टिष्ट राख्दा खत्रै चल्छ भन्ने छ तर उनलाई त्यो भ्रम भने छैन् ।

उनलाई केही पहिले एउटा फिल्मको अडिनसको लागि बोलाइएको थियो । छनोट पनि भए । पछि उनलाई फोन गरेर बोलाइयो । भेट्न पुगे । फिल्मको स्क्रिप्टमै नलेखिएको रोल रहेछ उनको ।

फिल्ममेकरका अनुसार उनले फिल्म भरीमा तीनपटक अनुहार देखाउँने रहेछन् । एकचोटी क्यान्टिनमा बस्दा हिरोले हेर्दा, रेष्टुरेन्टमा केटीहरुले सेल्फी खिच्दा हेरेको सिन र अर्को केटीहरुको फोटोे खिच्नुपर्ने ।

उनी त्यहाँबाट सुटिङको मिति सोध अनि निस्के ।

पछि निस्केपछि उनलाई रिअलाइज भयो, ‘मेरो ठाउँ कहाँ छ ? यत्रो समय दुख गर्छौ, मान्छेहरुले हामीलाई के सोच्दा रहेछन् ।’ उनी छक्क परे , एक्कै छिन हासे पनि…। पछि सुटिङको लागि बोलाइएपनि समय नमिल्ने भनेर टारे ।

नाटकमा भविष्य

नाटकको लामो समयको अनुभव अनुसार ठूलो सपना नदेख्ने हो भने सामान्य जीवन नाटक खेलेरै सहजै बाच्न सकिन्छ । ‘नाटकमा निरन्तरताको आवश्यक छ,’ उनी भन्छन्, ‘भविष्य आफै कोरिदै जान्छ ।’

उनले नाटक ‘विरंग रङहरु’ खेलेर पहिलो पटक पाँच सय रुपैयाँ पारिश्रमिक पाएका थिए । नाटक दार्जलिङ पुगेर देखाइएको थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.