www.tandavnews.com
Fact ~ In search of truth

प्रदेश ४ संसद बैठक : बजेटका विषयमा सत्तारुढ र प्रतिपक्षको जुहारी

पोखरा
ताण्डव न्यूज । 

प्रदेश ४ को संसद बैठकमा शुक्रबार प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र नयाँ शक्तिका साँसदहरुले अवरोध गरेका छन् । चालु आर्थिक बर्षको बाँकी अवधीको बजेट माथी छलफल गर्न बोलाइएको संसद बैठकको शुरुवातमै काँग्रेस र नयाँ शक्तिका साँसदहरुले उभिएर विरोध जनाएका थिए ।

बैठकमा सभामुख नेत्रनाथ अधिकारीले काँग्रेस साँसदलाइ बोल्न दिएपछि अन्य साँसदहरु भने बसेका थिए । बजेट भ्रष्टाचार गर्न र कार्यकर्ता पोस्न ल्याएको भन्दै यसको विरोध गर्ने साँसद खड्काले बताएपछि पुन प्रतिपक्षी दलका साँसदहरुले उभिएर बैठक अवरोध गरेका थिए । सभामुख अधिकारीले पटक पटक बस्नका लागि गरेको आग्रह प्रतिपक्षी दलका साँसदहरुले अस्विकार गरेपछि आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ ।

Batas

बैठक स्थगित भएपछि प्रदेश ४ को काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले बजेटमा जथाभावी रकम विनियोजन गरेको आरोप लगाए । बजेट दुरुपयोग नहुने आश्वस्त पार्न र संसोधन गरेपछि मात्र संसद चल्न दिने उनले दाबी गरे । प्रतिपक्षी दलका साँसदहरुले बजेट कनिका छरेजस्तो भएको टिप्पणी गरेका थिए ।

यता, सत्तारुढ दलले भने काँग्रेस र नयाँ शक्ति पार्टीका साँसदले संसदीय परम्परा विरुद्ध बैठक अवरोध गरेको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आज साँसद पत्रकार भेटघाट गर्दै आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रतिपक्षी दलका साँसदहरुले विरोधका लागि विरोध मात्र गरेको बताए ।

प्रदेश सभाको १९ बैशाखमा पेस भएको बजेट माथी विहिबार सौहार्दपूर्ण छलफल भएको र शुक्रबार अचानाक छापामार शैलीमा बैठक अवरुद्ध पारेको गुरुङको आरोप छ । उनले विरोध जनाउन संसद बैठकको कार्यसुची तय गर्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा जानकारी गराउनुपर्ने व्यवस्था काँग्रेस साँसदले उल्लङ्घन गरेको दाबी गरे ।

“बजेट माथी संशोधन प्रस्ताव पेश गर्न सकिने व्यवस्था रहेपनि अचानाक कुनै कारण बिना नै अवरोध भयो, मन्त्री गुरुङले भने, संसदीय अभ्यासमा काँग्रेसले कालो धब्बा लगाएको छ ।” बजेट कनिका छरेजस्तो भन्ने प्रतिपक्षीको टिप्पणीको जवाफ दिँदै आर्थिक मामिलामन्त्री गुरुङले भने, यो कनिका होइन, विउ हो यसलाई उमार्नुपर्छ ।” उनले विगतमा काँग्रेस सरकारले कनिका छरेका कारण अहिले प्रदेश सरकारको बजेटलाई पनि त्यही दृष्टीले हेरेको टिप्पणी गरे ।

पत्रकार भेटघाटमा प्रदेश ४ को सरकारका प्रवक्ता एवं भौतिक पुर्वाधार विकासमन्त्री रामशरण बस्नेतले प्रतिपक्षी दलका साँसदहरुले बालापन देखाएको टिप्पणी गरे । “विरोध गर्नका लागि पनि विधि र प्रक्रिया पुरा गर्नुपर्छ, बस्नेतले भने, प्रतिपक्षी दलले संसदीय मुल्य मान्यताको खिल्ली उडायो ।”

संसद बैठकको शुक्रबारको कार्यसुचीमा बजेट माथी छलफल, विनियोजन विधेयक पेश गर्ने, विधायन समितिले स्थनीय तह सम्बन्धी एजेण्डा पेश गर्ने लगायतको कार्यसुची थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.