www.tandavnews.com
Fact ~ In search of truth

भाषिक सिनेमा निर्माणमा कमी

सन्तोष सुवेदी
पोखरा, ताण्डव न्यूज ।

जनजाति समुदायको उल्लेख्य बसोबास भएको सहर, पोखरा । यहाँबाट आदिवासी संस्कृति, कला, भाषा, संस्कार, पोसाक, गीतसंगीतमा आधारित भएर फिल्म निर्माण हुने गर्दछ । महिनौं जसो हलमा गुरुङ सिनेमाहरु च्यारिटो शो भइरहन्छन् ।

यसबाट पोखरालाई गुरुङ सिनेमाको उर्वरभूमि मानिन्छ । सुरुआतको समयदेखि २२ वर्षको लामो समयमा गुरुङ सिनेमाहरु थुप्रै बने र बन्ने क्रम निरन्तर चलिरहेको छ ।

Batas

वर्ष २०७४ सालमा गुरुङ सिनेमाको लागि एउटा नियम आयो, ७० प्रतिशत गुरुङ भाषा भएको सिनेमालाई मात्र बल्ल गुरुङ फिल्म नामकरण हुने । यसले गर्दा औषतमा जति फिल्महरु बन्थे त्यो अनुपात घट्यो ।

गुरुङ फिल्म एसोसियसनका संस्थापक अध्यक्ष माओत्से गुरुङका अनुसार यो पटक एसोसियसनमा १० वटा फिल्म दर्ता भए । यो संख्या अघिल्लो वर्षको तुलनामा ७ कम हो । दर्ता भएका मध्ये पनि तीनवटा सिनेमाहरु अझै निर्माण पूरा भएको छैन् । यसमा ‘रिपा, मित्जू, मेधो’ दर्ता भएर निर्माण हुन बाँकी फिल्म हुन् ।

‘नेपाली भाषाकोलाई नै अर्थात गुरुङ परिवेशलाई नै गुरुङ सिनेमा मान्ने जुन अवस्था थियो त्यो घटेको भएर अहिले गुरुङ सिनेमाको निर्माण भााषिक रुपमा अलिकति कम भएको हो कि,’ गुरुङ भन्छन्, ‘अधिकांश फिल्म मेकरहरु नेपाली भाषामा बनाएर गुरुङ सिनेमा हो भन्ने थियो, मेकिङको हिसावले भाषिक सिनेमा कलिकति कम बनेको हो ।’

आदिवासी चलचित्रमा सबभन्दा बढी गुरुङ भाषाकै चलचित्र बनेको पाइन्छ । २२ वर्षको अवधिमा गुरुङ सिनेमाले उल्लेख्य प्रगति गरेको पनि छ । हालसम्म दुईसय हाराहारीमा गुरुङ चलचित्र निर्माण भएका छन् भने केही निर्माणाधीन अवस्थामा पनि छन् ।

ती चलचित्रको निर्माण गर्ने व्यक्ति र छायांकन समेत बढी मात्रामा गण्डकी अञ्चलमा हुने गरेको पाइन्छ । गुरुङ चलचित्र र त्यससँग सम्बन्धित चलचित्रकर्मीलाई सहज होस् भनेर २०६५ सालमा गुरुङ फिल्म एसोसियसन (जिफान) स्थापना गरिएको थियो ।

यसले गुरुङ चलचित्रको मात्र नभएर कला, संस्कृतिलाई समेत पर्दामा पस्कने काम गरेको छ । फिल्मबाट गुरुङ समुदायको कला,रीतिरिवाजलाई नयाँ पिढीमाझ जानकार दिने गरेको जिफान नेपालका अध्यक्ष गिरीप्रसाद गुरुङ बताउँछन् ।

‘जति फिल्म जिफानमा दर्ता भए ति सबै गुरुङ भाषाकै हुन्छन्,’उनी भन्छन्, ‘प्राय फिल्महरु गुरुङ समुदायसँग नजिक रहेर समाज सुधार्ने सन्देश दिनेखालका र विकृति विसंगतिलाई पनि फिल्ममा समावेश गरेर चेतना दिएको पाइन्छ ।’

कुन वर्ष कति फिल्म ?
२०७० मा १५ वटा
२०७१ मा ९ वटा
२०७२ मा १४ वटा
२०७३ मा १७ वटा
२०७४ मा १० वटा

पर्यटनसँगै फिल्मको राजधानी मानिने पोखरामा यी फिल्महरु च्यारिटी शो गरी लगानी उठाउने गरेको पाइन्छ । एकादुई चलचित्र हलमा क्यु सिस्टम अनुसार प्रदर्शनमा आएको रेकर्ड छ ।

माओत्से गुरुङले निर्माण, निर्देशन गरेको गुरुङ फिल्म ‘नकैफु’ हलमा क्यु सिस्टम अनुसार रिलिज भएको फिल्म हो । उक्त फिल्मले हलबाट ५ लाख कलेक्सन गरेको माओत्से सुनाउँछन् । २०७४ मा प्रदर्शन आएको भोजबहादुर गुरुङले निर्देशन गरेको फिल्म ‘मैरुमु’ पनि पोखराका फिल्ममा नियमित प्रदर्शन गरियो ।

गुरुङ फिल्मको क्षेत्र फराकिलो मात्र नभएर गुणस्तरीय पनि भएको छ । चलचित्र विकास बोर्डको स्वीकृतबिना फिल्म सुटिङ गर्न नपाइने त छँदैछ, त्यसमाथि आफूहरुसँग पनि दर्ता गर्नुपर्ने जिफानले बताइरहेको छ । त्यतिमात्र नभएर सेन्सर पास नभई फिल्म प्रदर्शन गर्न पाइँदैन । यसले गर्दा जथाभावी फिल्म बन्ने क्रम रोकिएको पनि छ ।

समयसँगैको परिवर्तन

सुरुमा आफ्नो भाषा, संस्कृति संरक्षण र संवद्र्धन गर्ने भन्दै गाउँ परिवेशलाई केन्द्र बनाएर गुरुङ फिल्म बनाइन्थे ।

आजभोलि धार बदलिएको छ । आफ्ना मुद्दा स्थापित गर्न, विभेदमा पारिएका र मनोविज्ञानका कथासम्म गुरुङ फिल्ममा देखिने गरेका छन् । पछिल्लो समय त राजनीतिक मुद्दाले पनि फिल्ममा प्राथमिकता पाउन थालेको छ ।

कृष्णकुमार गुरुङले निर्देशन गरेको फिल्म ‘तमु ह्युला’ (गुरुङ राज्य) र ‘यम्फावती’ यसकै उदाहरणमा लिन सकिन्छ ।

स्थानीय कलाकारको बढी अभिनय रहने फिल्ममा लगानी खासै धेरै हँुदैन । माओत्से गुरुङका अनुसार १० लाखदेखि २० लाखमा निर्माण हुने गर्छ । तर एकाध फिल्महरु ५० लाखसम्म पनि लगानी भएका छन् ।

अधिकांश गुरुङ फिल्मले लमजुङ, गोरखा, पर्वत, तनहुँ, मनाङ, मुस्ताङ, स्याङ्जा आदि जिल्ला र पोखरा, काठमाडौंलगायत सहरहरूमा हुने च्यारिटी शोबाटै लगानी उठाउने गरेका छन् । प्रोजेक्टरबाट गाउँ–गाउँमा प्रदर्शन गर्ने चलन पनि बढेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.