www.tandavnews.com
Fact ~ In search of truth

‘उज्यालो अन्धकार’मा परेको कुमारीको छायाँ

पोखरा
ताण्डव न्यूज ।

प्रसिद्ध कवि बर्तोल्त ब्रेख्तले भनेका छन्, ‘अँध्यारोमा बसेर पनि अँध्यारोकै विरुद्ध कविता लेख्न सकिन्छ ।’

कुमारी लामाको निबन्धसङ्ग्रहको नाम सुन्दा त्यही अन्धकारभित्रको उज्यालो खोज्ने प्रयासको झल्को लाग्छ । सामान्यतयाः अग्रगामी विचारधारालाई आत्मसात् गर्नेहरु अन्धकारको घोर विरोध गर्छन् ।

अन्याय, अज्ञानता, दुराचार, प्रतिगमन, गरिबी आदिका उत्कृष्ट बिम्बका रुपमा अन्धकारको चित्रण हुँदै आएको पाइन्छ तर हामी वास्ता गर्दैनौं, अन्धकारको पनि एउटा जबर्जस्त अस्तित्व छ हाम्रो समाजमा, हाम्रो धर्तीमा ।

उज्यालोको महत्व देखिनका लागि पनि अँध्यारोको उत्तिकै महत्त्वपूर्ण भूमिका रहने तथ्यलाई निबन्धकार कुमारी लामाले स्विकारेकी छन् । अन्धकारले गर्ने मिर्मिरे उज्यालोको आव्हान पनि कम रुचिकर कहाँ हुन्छ र ! कुमारी लामाले जीवनको सत्यताको सूक्ष्म तवरले उद्घाटन गरेकी छन् कृतिमार्फत् । जीवनसँगै मृत्यु पनि अवश्यम्भावी छ ।

उज्यालोसँग अँध्यारो पनि अवश्यम्भावी छ, जीवन र मृत्युजस्तै । बेलायतको लण्डन होस् कि नेपालको काठमाडौं होस्, लौकिक सत्यता भूगोलका जुनसुकै छेउ—कुनामा गए पनि अकाट्य नै रहन्छन्, मात्र फरक त्यहाँको परिवेशले कति हदसम्म आत्मस्विकृति दिन्छ भन्ने कुरामा निर्भर रहन्छ ।

निबन्धकार लामाले जीवनका कोमल अनुभूतिहरुलाई भावनाको कसी लगाएर निबन्धको स्वरुप दिने प्रयास गरेकी छन् ‘उज्यालो अन्धकार’भित्र । जीवनका उज्याला र अँध्यारा दुवै पाटाहरुलाई उत्तिकै महत्वका साथ प्रस्तुत गरिएका निबन्धहरुमा जीवनप्रेम भेटिन्छन् अधिकांशतः ।

निबन्धहरुमा जीवनका विसङ्गत पक्षहरुको चित्रणसहित अस्तित्त्वको घोषणा गर्दै लामाले यात्राका आयामहरु चिनाउने प्रयास गरेकी छन् । यी निबन्धहरु अस्तित्त्वकै घोषणापत्र हुन् भन्दा पनि सायद अन्यथा हुँदैन ।

मूलतः जीवन यात्राका क्रममा भेटिएका अनेकौं पात्रहरुका दुःखद् जीवनकहानीहरुलाई कलात्मक रङ भर्दै निबन्धकारले जुनसुकै परिस्थितिमा पनि जीवनको अस्तित्त्व रहन्छ भन्ने तथ्य उजागर गरेकी छन् ।

सेती दिदी, चरीमाया तामाङ वा कान्छी तामाङका कथानक बुनोटमा होस् या बेलायतका पब, सडक, रेल वा रेष्टुरेण्टमा भेटिएका मित्र जस्ता पात्रहरुको वैचारिक संसर्गमा होस्, अथवा अनेकौं लेखकका कृतिभित्रका पात्रहरुमा आफूलाई समाहित गर्दा होस् या त रुम पार्टनरका रुपमा भेटिएका आफ्नै दिदीबहिनीजस्ता तर अनौठा पात्रहरुका चरित्र चित्रण गर्दा नै किन नहोस्, लामाले तिनका अस्तित्त्व खोज्ने काममा आफूलाई निरन्तर लगाइरहेकी छन् ।

विसङ्गतिवादी-अस्तित्त्ववादी चेतनाकी प्रवक्ता कुमारी लामा जीवनको निस्सारतालाई पनि प्रष्ट्याउन खप्पिस देखिएकी छन् । आत्मपरक निबन्धमा रमाउने स्वभावकी लामा सानो विषयलाई ठुलो बनाउन सक्ने खुबी राख्छिन् ।

समाजमा नयाँ काम गर्नेलाई पागल भनिनु कुनै नौलो विषय रहेन । विश्वका महान् वैज्ञानिकहरु पागल कहलिएकै हुन्, ठुलाठुला दार्शनिकहरु पागल भनिएकै हुन् र भनिएकै हुन् हाम्रै प्रतिभासागर महाकवि लक्ष्मीप्रसाद देवकोटा पनि पागल ।

त्यसैले कवि तीर्थ श्रेष्ठ आफ्नो मुक्तकमा भन्छन्, ‘मलाई देश बनाउने पागलहरु देखाइदेऊ ।’ मूल कुरो पागल भनिनुको वा हुनुको कारण खोतल्नु हो । निबन्धकार लामा पनि समाज सुधार्ने पागलपनकै पक्षमा वकालत गरेकी छन् ‘म पनि पागल हुने छु’ निबन्धमा । जलकुम्भी आदेशहरुमा केवल दिनका लागि दिइने आदेशहरुको विरोध गर्दै उनले आत्मनिर्णयको अधिकारको पक्षमा देखिएकी छन् भने ‘अनि हामी कठपुतली हैनौं त ?’ मा आफ्ना मित्र ओमरको कारुणिक जीवनयात्राप्रति सहानुभूति राख्दै समग्र मानव समुदायलाई नै कुनै शक्तिले खेलाउने कठपुतलीका रुपमा चित्रण गरिएको छ ।

स्मृतिका अनेक रङहरु कृतिभित्र पाइन्छन् । कतै रङ्गीन स्मृतिहरु, कतै श्यामश्वेत स्मृतिका बिम्बहरु, कतै फुस्रो स्मृतिका सिरेटो पनि । प्रायः बिम्बहरुमा समानान्तर पिडाका शृङ्खलाहीन शृङ्खला ।

यात्राका क्रममा भेटिएका मध्ये पिडा नै पिडाका कथा हुन् यी निबन्धहरु— देशभित्र भेटिएका भए पनि, देशबाहिर भेटिएका भए पनि । यसो भनौं, पिडाको शृङ्खलाबद्ध आक्रमणका विरुद्ध आक्रोश हुन् यी शाब्दिक छर्राहरु ।

Lama collectio News Middle

बेलायत यात्राकै यात्राविवरण हुन् भन्दा पनि फरक नपर्ला यो कृतिलाई । न्युनतम देशभित्रका र अधिकतम बेलायतकै, अझ लण्डन र त्यसवरपरका परिवेश कृतिभित्र हावी भएका छन् ।

अझै लेखक वा किताबका प्रसङ्ग अधिकांश निबन्धमा आउनु लेखिकाको वैचारिकता वा साहित्यप्रेमको प्रमाण हो । महान् नाटककार सेक्सपियरको गाउँ स्ट्रयाटफोर्डको प्रसङ्ग साह्रै रोचक लाग्दो छ ।

सेक्सपियरका बाल्यकालमा प्रयोग गरिएका सामानहरुदेखि अन्तिम घडीसम्मका सामग्री सङ्ग्रहालयमा राखिनु अनि हाम्रा महाकवि देवकोटा वा अन्य कुनै लेखकको एउटा सङ्ग्रहालय पनि बन्न नसकेको बिडम्बनाले कम्तिमा लेखनमा वा अध्ययनमा लागेकाहरुलाई बिझाउँछ भित्र कतै ।

जसलाई बिझाउनुपर्ने हो उसलाई पनि बिझाइदिए कति जाती हुन्थ्यो होला यस्ता प्रसङ्गले । कतिपय निबन्धमा कविताका पङ्क्तिहरु, कतिपयमा पुस्तकका केही हरफहरु उद्धरण गर्नुले पाठकलाई निबन्धकार लामाको निबन्ध पढ्दा ‘अन्य’ लेखकको स्वाद पनि प्राप्त गर्ने अवसर प्रदान गर्दछ । पाठकका लागि यो ‘बोनस’ नै हो ।

झिनो तर यथार्थ विषयलाई पनि चामत्कारिक शैलीमा प्रस्तुत गर्न सिपालु निबन्धकार लामा प्रा.डा. अभि सुवेदीले भनेझैं विषयले उठाएका बिम्बविधानभित्र छिरेर विषयलाई काव्यिक तरलतातिर लैजाने चेष्टा गर्छिन् ।

कतै आत्मवृत्तान्तजस्तो, कतै कथाजस्तो, कतै कविता जस्तो पनि, कतै एकोहोरो वर्णनजस्तो । सबैभन्दा बढी उपन्यासजस्तो लाग्छ कृति पढिरहँदा । घटनाहरुको गँसोटले पाठकले औपन्यासिक स्वाद पाउँछन् निबन्धहरुमा । खासगरी, बेलायत यात्राकै प्रसङ्गहरु क्रमशः आएका, तिनमा कुनै न कुनै पात्र भेटिएका र ती पात्रहरुले ‘म’ पात्रसँग संवाद पनि गरेका छन् ।

अन्तिम क्रमका दुई निबन्धहरु भुईँ कुहिरो र कान्छी तामाङको सपना १ र २ त नारीवादी कथा नै हुन् । यसरी हेर्दा कृति आख्यान गुणले युक्त निबन्धसङग्रह बनेको छ । यही गुणले निबन्धप्रति पाठकको आकर्षण बढाउन मद्दत पनि गर्दछ ।

निबन्धकारको कल्पना शक्ति चाहिँ प्रचुर देखिन्छ । देखेभोगेकै यथार्थलाई कल्पनाको लेप लगाएर उत्कृष्ट सिर्जना बनाउनमा सफल देखिएको छ । यसले निबन्धकार लामालाई काव्य वा आख्यानका क्षेत्रमा समेत सफल हुन सक्ने गुणको प्रदर्शन गर्दछ ।

र अन्तमा,

आकर्षक तर सरल भाषामा नवीन शैलीको प्रयोग, लेखन यात्राको छोटो समयमा उत्कृष्ट लेख्न सक्नु उनको खुबी हो ।

कृतिभित्र निबन्धकारले उल्लेख गरेको राष्ट्रिय र अन्तर्राष्ट्रिय लेखक र तिनका पुस्तकहरुको सान्दर्भिक प्रसङ्गले निबन्धकारको अध्ययनशीलतालाई पुष्टि गर्दछन् । कृतिको अर्को शक्ति भनेको निबन्धमा पाइने काव्य गुण हो । कविताले जस्तो झङ्कार दिने सामथ्र्य राख्छन् केही निबन्धहरुले ।

निबन्धमा वस्तुताको खोजी गर्नेहरुलाई भने यसले निकै अल्मल्याउन सक्छ । लेखिकाको वैचारिक अस्पष्टताले पाठकलाई समेत अल्मल्याउने सम्भावना पनि उत्तिकै छ । कर्ता र क्रियापदको सङ्गति नमिल्दा सामान्य पाठक पढ्दापढ्दै हराउन सक्छन् ।

पढिसकेपछि के पाएँ भनेर खोज्ने आजका सचेत पाठकहरु कुमारी लामासँग वा उनका निबन्धहरुसँग उत्ति सारो खुसी हुन सक्दैनन् ।

यद्यपि, ए, लण्डनमा यस्तो पनि रहेछ वा नेपालमा पनि यस्तो पनि हुँदो रहेछ भनेर जानकारी भने किताबले दिन्छ नै । मौनताभित्रको अभिव्यक्तिगत अस्पष्टताले उनका निबन्धप्रति पाठकले दिक्क मान्न सक्छन् ।

नागार्जुनको मौनतामा होस् वा हिमानुभूतिमा । पत्रात्मक शैली, मनोवादात्मक शैली र वर्णनात्मक शैलीले पाठकलाई अड्याउन मद्दत गर्दछन् किताबभित्र ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...