नेपाली जनशक्ति सबै ह्वात्तै देश बाहिर जाने लहर चलिरहेको बेला पोखरा–३३ निवासी महेश अर्याल भने स्वदेशमै लगानी गरि सफल व्यवसायीको परिचय बनाउन लागि परिरहेका छन् ।
पोखराको अत्यधिक पर्यटकीय चाप रहने क्षेत्र लेकसाइडमा होटल फेवा वीच र ढाका टोपी रेष्ट्रो एण्ड लाउञ्ज बार सञ्चालनमा ल्याइ पर्यटन व्यवसायलाई अघि बढाउने कसरतमा जुटिरहेका छन् ।
उमेरले तीन दशक पार गर्न लागेका अर्याल मुलुकमै पर्यटन मार्फत जीविका चलाउन सकिने तर्क गर्छन् । पर्यटन व्यवसायको रुपमा छलाङ मार्दै गरेका अर्यालसँग ताण्डवकर्मी ईश्वर देवकोटाले गरेको कुराकानीको सार :

आजभोलि के गर्दै हुनुहुन्छ ?
होटल फेवा वीचको पुर्ननिर्माणमा लागेको छु । पोखरा विशेषगरी पर्यटकको रोजाईंको क्षेत्र लेकसाइड नै हुनाले पनि होटललाई समय समयमा रिपेरिङ सेटिङ गराई नयाँ नै बनाइराख्न चाहन्छु ।
पाहुना आउँदा होटलमा कुनैपनि कुराको अभाव महसुस नहोस् भनेर नै आजभोलीका दिनहरु करिब १ करोडको थप लगानीमा होटलको भौतिक व्यवस्थापनको काममा जुटिरहेको छु ।
पर्यटन व्यवसायमा उदाउँदै हुनुहुन्छ, खास यो व्यवसायमा आउनुको कारण ?
मैले अध्ययन पूरा गरेसकेपछि निर्माण व्यवसायतिर लागे । अहिले पनि निर्माण व्यवसायीको रुपमा काम निरन्तर गरिरहेको छु । मलाई केही नयाँ खाले व्यवसाय गर्न मन थियो ।
केही पुराना पर्यटन व्यवसायीको सल्लाहबाट हस्पिट्यालिटी सेक्टरमा समेत हात हाल्न हौसिएको हुँ । खासगरी त स्वदेशमै लगानी नगरी विकल्प नै छैन । मेरो लागि नयाँ भएपनि सम्पूर्ण उर्जा अहिले यही क्षेत्रमा खर्चिएको छु ।
होटलको कति क्षमता छ ? कसरी व्यवस्थापन गर्नुभएको छ ?
होटलमा हाललाई १२ वटा बेडरुम, झण्डैं ८० जना क्षमता सहितको डाइनिङ हल, रुफटपमा २५ देखि ३० जना अट्न सक्ने क्षमताको छ । व्यवस्थापनको काम मैले नै प्रत्यक्ष हेर्दै आएको छु ।
सीपअनुसारको अन्य १२ जना स्टाफहरुले होटलको व्यवस्थापनमा सहयोग गरिरहनु भएको छ ।
लेकसाइडको पर्यटन व्यवसायलाई कसरी नियाली रहनुभएको छ ?
पोखरा भन्ने वित्तिकै फेवाताल धेरैले बुझ्नु हुन्छ । लिभिङको लागि पोखरा आउनुहुने पनि लेकसाइडकै होटल रोजाईमा पर्ने भएकोले पनि लेकसाइडको व्यवसाय अन्य ठाउँको तुलनामा केही सन्तोषजनक नै रहन्छ ।
सिजन अनुसार आउने पर्व तथा महोत्सवले गर्दा पनि व्यवसायलाई प्रत्यक्ष सहयोग गरिरहेका छन् । असार, साउनलाई लेकसाइडको व्यवसायमा केही मन्दीको रुपमा चित्रण गरे पनि आन्तरिक पर्यटकका कारण पनि धत्तेरी भन्नुपर्ने अवस्था छैन् ।
लेकसाइडमा विजनेस स्टाब्लिस गर्छु भनेर लहैलहैमा पैसाको खोलो बगाउनेहरु पनि यदाकता सुनिन्छन् । वास्तवमा के लेकसाइडमा विजनेस स्थापित गर्नको लागि चुनौती नै छ र ?
चुनौती नै नभएको कुनै पनि पेसा सायदै छैन होला । एउटा दूध बेच्ने किसानले पनि विभिन्न चुनौतीको सामना गर्नुपर्छ । पेसागत जटिलताहरु त आईनै रहन्छन् तर पनि आफूले कसरी व्यवस्थापन गरेको छु भन्ने कुरा महत्वपूर्ण हुन जान्छ ।
कानुनले वर्जित गर्ने गतिविधिमा पनि संलग्न हुने विवादमा आइरहने व्यवसायीले त कसरी राम्रो गर्न सक्ला र तपाई आफैं भन्नुस न ? लेकसाईडमा विशेषत महत्वाकांक्षी भावनाले आएर मात्र हुँदैन यहाँको मार्केट ब्राण्ड कन्सियस छ ।
स्तर मेन्टेन गर्न सक्नुपर्दछ जुनैपनि व्यवसायले । झन् हाम्रो त सेवासँग जोडिएको हुनाले पनि संवेदशिल पेसा हो । अन्य कुरा व्यवस्थापनले नै महत्व राख्छ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.