www.tandavnews.com
Fact ~ In search of truth

निरन्तर कला साधनामा कायस्थ

पाेखरा,

वासुदेव पौडेल  (रासस)

“उति बेलाको पोखरा ढुंगा नै ढुंगाले छापिएको थियो, बाल्यकालमा तिनै ढुंगाका छपनीमा विभिन्न चित्र कोर्ने मेरो अनौठो सोख थियो,”, उमेरले साढे सात दशकको नेटो काटेर पनि युवाको जस्तै जोश देखिने कलाकार क्षेत्रलाल कायस्थ सुनाउँछन्।

Batas

आफ्नो जीवनको लामो समय कलाका क्षेत्रमा खर्चेका कायस्थ यतिखेर पनि कला साधनामा निकै क्रियाशील छन् । पिता जुद्धलाल र माता धाँतीमायाबाट सन् १९४६ नोभेम्बर १७ मा जन्मेका कायस्थले नेपालसहित भारत, बंगलादेश र अष्ट्रेलियामा पनि चित्रकला प्रदर्शनी गरिसकेका छन् ।

कायस्थले एक हजारभन्दा बढी कला सिर्जना गरिसके । उनका हालसम्म १२ औँ एकल चित्रकला प्रदर्शनी भइसकेको छ । अनौपचारिक रुपमा चित्र कोर्ने र लेख्ने शृंखला बाल्यकालदेखि नै चले पनि कायस्थको २०२० सालमा पहिलो पटक जलरङमा तयार गरेको गौरीघाट पोखराको परिवेशमा गाग्री बोकेर आएकी महिलाको तस्वीर नै औपचारिक कलायात्राको पहिलो प्रस्तुति हो ।

उनी विसं २०३०÷३२ तिर दुर्गा बराल, बुद्धि गुरुङ, गोपाल श्रेष्ठ, आलोक गुरुङलगायतको संगतमा आएका हुन । कायस्थले २०४० सालमा आलोक, बुद्धि, महेन्द्रराज भण्डारीलगायतसँग सामूहिक रुपमा घान्द्रुकमा पुगेर जीवन्त कला सिर्जना गरेका थियो ।

त्यसयता सामूहिक रुपमा सम्बन्धित स्थानमा नै पुगी कला सिर्जना गर्ने शृंखलाअन्तर्गत ठाउँठाउँमा पुग्ने क्रमसँगै उनले पछिल्लो समयमा कास्कीको पर्यटकीयस्थल छोम्रोङमा हिमालमुनि गाउँका कलाका जीवन्त सिर्जना गरे । उनले छोम्रोङमा सिर्जना गरेका कला यतिखेर अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवको तेस्रो चरणको कार्यक्रमका अवसरमा प्रदर्शन भइरहेको छ ।

विसं २०२८ देखि निरन्तर ३५ वर्ष पृथ्वीनारायण क्याम्पसमा प्रशासनतर्फ सेवा गरेका कायस्थ सन् १९९८(विसं २०५५तिर) ललितकला सान्त्वना पुरस्कार, सन् २०००(विसं २०५७ तिर) राष्ट्रिय प्रतिभा पुरस्कार, २००१(विसं २०५८तिर) ललित कला पुरस्कारका साथै सन् २०१३(विसं २०७०तिर) रोटरी क्लब अफ पोखरा फिष्टेलबाट भोकेशनल अवार्डलगायतबाट सम्मानित भइसकेका छन् ।

कलासाधनामा निरन्तर कायस्थ नयाँ पुस्ताका लागि अनुकरणीय व्यक्तित्व भएको वरिष्ठ कलाकार वात्सायन बताउछन् । “उहाँको चित्रकलाप्रतिको लगाव, त्यसतर्फको रुचि एवं एकाग्रता सबैका लागि अनुकरणीय छ”, उनले भन्नुभयो, “आफ्ना कलालाई कसैले प्रशंसा गरोस् वा तिरस्कार गरोस्, कला बिक्री होस् नहोस् त्यसको कुनै पर्वाह नगरी उहाँ निरन्तर कला साधनमा क्रियाशील हुनुहुन्छ ।”

कायस्थको निरन्तरको कला साधना देखेर उनका छोराहरू नीरज, सुरज र सरोजसहित परिवारजनको विशेष सक्रियतामा प्रतिष्ठान पनि गठन गरिएको छ । कला क्षेत्रको विकासका लागि काम गर्ने ध्येयका साथ स्थापित कलाकार क्षेत्रलाल कायस्थ प्रतिष्ठानले आफ्ना काम थालिसकेको प्रतिष्ठानका अध्यक्ष लोकप्रसाद गुरुङले बताए ।

“प्रतिष्ठानले कला क्षेत्रको विकासलाई लक्ष्य गरी प्रत्येक दुई वर्षका बीचमा रु ५० हजारको पुरस्कारसहित कला साधकलाई सम्मान गर्ने लक्ष्य राखेको छ,” उनले भने, “प्रतिष्ठानले पोखराका छ वटा सामुदायिक विद्यालयका कक्षा ६, ७ र ८ का द्यिार्थीलाई कला सिकाउनका लागि कला शिक्षकको व्यवस्था पनि गरेको छ ।”

प्रतिष्ठानले कला क्षेत्रमा साधकलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ विभिन्न किसिमका कला प्रतियोगिता गर्ने योजना पनि राखेको छ । कायस्थको ‘द एडभेन्चर अफ मोडल आर्ट २००७’ प्रकाशन भइसकेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.