www.tandavnews.com
Fact ~ In search of truth

माई पोखरीः धार्मिक र सिमसार क्षेत्र

सुरज हजारे दाहाल

प्रदेश नं १ मा अवस्थित पहाडी जिल्ला इलामको सुलुबुङ गाउँपालिकामा अवस्थित माईपोखरी एक सुन्दर जल क्षेत्र हो ।

नेपालमा रहेका विभिन्न सिमसार क्षेत्रहरु मध्ये माईपोखरीलाई सन् २००८ मा अन्तर्राष्ट्रिय मान्यता रामसार सूचीमा समावेश भएको थियो । समुद्री सतहदेखि १२०० मिटरमा रहेको माईपोखरीको कुल जलाशय क्षेत्र २ हेक्टर रहेको छ । कुनै बेला निलो पानी देखिने माईपोखरी आजभोलि भने हरियो देखिन्छ ।

Batas

यद्यपी घाम लागेको बेला आकाश र बादलको छायाँ पोखरीमा छर्लङ्ग देख्न सकिन्छ । पोखरी वरिपरि सुन्दर सल्लाको वन रहेको छ । तर केहि वनस्पतिविद्हरुले भने सल्लाको रुखले नै पोखरीको पानी सुकाएको भन्दै आएको छन् । यद्यपी सल्ला नै कारण हो भनेर पुष्टि भने भएको छैन ।

अधिकतम तापक्रम १८ डिग्री र वार्षिक ३००० मिलिमिटर भन्दा बढी वर्षा हुने माईपोखरी क्षेत्रमा स्तनधारी जनावर १४ प्रकारका, १२ प्रकारका सर्प, २०० प्रजातीका फूल फुल्ने बिरुवा, ४ थरिका गुँरास, १६ थरिका सुनाखरी फूल, ३ प्रजातीका चाँप, जडिबुटी ६२ प्रकारका, माछा ३ जातिका र ३०० जातका पंक्षीहरु पाइन्छन् ।

माईपोखरी छेउछाउका रुखमा प्रजनन् गरिरहेका टोड्के भ्यागुतो पनि पाइन्छन् । पानी गोहोरो, रेड पाण्डा, लोखर्के, मृग, खस्रो पाहा, ट्यागट्याग पाहा, रुख पाहा पनि यस क्षेत्रमा पाइन्छ ।

साइबेरियादेखि श्रीलंकाको बाटो हुँदै बसाईसर्ने साइबेरियन चरा पनि यहाँ बच्चा कोरल्न कालो भुँडीफोर, काकाकुल, हिमाली गिद्ध जस्ता पंक्षी तथा हरियो छेपारो र चंखे सर्प पनि यस क्षेत्रको रैथाने प्राणीहरु हुन् । हिड्ँदा हिडँदै पानी सर्प खुट्टा अगाडिबाट सलल बगेर हिँड्ने भएकोले जुत्ता अनिवार्य लगाउनुपर्छ ।

सानो गेटबाट भित्र पसेर दक्षिण कुना आएपछि भने डरलाग्दो एकान्त कुना आउँछ । झन् त्यहाँको राखिएको सूचना पाटी दिग्भ्रमित पार्ने खालको छ । यहाँ प्रवेश निषेध लेखिएको छ तर त्यसैको छेउबाट हिडँ्ने गोरेटो छ । हरिया बनस्पति तथा चराहरुको चिरबिर आवाज सुन्दै माईपोखरीको फन्को लगाउँदा असिम आनन्द आउछ ।

नौकुने यस पोखरीमा पूजा गर्ने व्यक्ति कता छन् भनेर ठम्याउन सकिदैन । लगातार मन्त्र गरेको उच्चारण सुनिए पनि आवाज जहिँतहि सुनिन्छ । माई मन्दिर पनि रहेको माइपोखरी हिन्दू, बौद्ध र मुन्धुम गरि तिन धर्मावलम्बीहरुको त्रिपक्षीय संगम स्थल पनि हो । पछिल्ला केहि वर्षदेखि माईपोखरीमा पानीको सतह घट्दै गएकोमा असोज यता पानीको मात्र केहि बढेको छ ।

मूल र वर्षा मात्र माई पोखरीको पानीको श्रोत हो । यस बाहेक खोला वा नदीबाट माई पोखरीमा पानी आउदैन् । पानी घट्दै जानुमा स्थानीयवासीले सल्लाको रुखलाई दोष दिए पनि भूगोलविद् भने मान्न तैयार छैनन् ।

पूर्वि क्षेत्रमा केहि समय अगाडि आएको भूकम्पका कारण धराताल चिरिएर पानीको निकाश भने भएको हुनसक्ने उनीहको दाबी छ । यस्तै दर्शनार्थीहरुले छोडेको आयतित गोल्ड फिशका कारण स्थानीय माछाहरुको नाश भएको टिप्पणी पनि स्थानीयले सुनाउने गर्छन् ।

कोणधारी जापानी सल्लाले घेरेको माईपोखरी क्षेत्रमा विसं १९५४ मा सोमेश्वरानन्दले निर्माण गराएको शिव मन्दिर पनि रहेको छ । विशेष गरि हरिबोधिनी र हरिशयनी एकादशीमा यहाँ भव्य मेला लाग्ने गर्दछ । स्कन्ध पुराणमा शिव र पार्वती जलक्रिडा गर्ने गरेको भनेर उल्लेखित ठाउँ माईपोखरी नै हो भन्ने भनाई पनि रहि आएको छ । नवरात्रको दिन नौकुने यस पोखरीमा दुर्गाको नौस्वरुपका रुपमा पूजा गरिन्छ ।

पोखरीमा छाल आए अनिष्ट हुने विश्वासका साथ छाल आएको बेला मन्दिरमा पूजा गरि पोखरीमा दूध चढाउने परम्परा रहदै आएको छ । भक्तजनहरुले टाँगेका तोरणहरु यत्रतत्र देख्न सकिन्छ ।

पोखरीको वरिपरि आराम गर्ने चौतारी, पुष्पवाटिका तथा रुखहरुमा तिनका नामहरु लेखिएको छ । केहि समय अगाडि पेमु होटल सञ्चालन गर्दै आएका व्यवसायी ङिमा दोर्जी शेर्पाले पोखरीमा जलक्रिडा आरम्भ गरेता पनि पछि स्थानीयवासीले धर्मसँग जोडेपछि डुंगा शयर बन्द गर्न बाध्य भएका थिए ।

यसरी पुग्ने

पोखराबाट झापाको लागि हरेक दिन बेलुकी ५ बजे बस छुट्छ । भोलिपल्ट बिहान झापाको चारआलीमा ओर्लिएर स्थानीय जीपमा ३ घण्टा भित्र इलाम बजार पुगिन्छ ।

माईपोखरी इलाम बजारबाट १५ किलोमिटर उत्तरमा रहेको छ । इलाम बजारबाट बिप्ल्याँटे १५ मिनेट जीप यात्रामा पुगेपछि त्यहाँबाट अर्को जीपमा २ घण्टाको यात्रा पछि माइपोखरी आइपुग्छ ।

सडकमार्ग भने वर्ष याममा ठप्प हुने गर्दछ । पैदल यात्रामा भने माइपोखरी पुग्न इलाम बजारबाट ५ घण्टा लाग्छ ।

सामान्य होटलको सेवा रहेको माइपोखरी जान उपयुक्त महिना असोज, कार्तिक, चैत र बैशाख हो । सम्पूर्ण खर्च सहित माइपोखरी तथा इलामको अन्य पर्यटकीय क्षेत्र घुम्न १८ हजार रुपैयाँ लाग्छ ।

लेखकबाट थप

चिया बगानदेखि प्यालासम्म …

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.