www.tandavnews.com
Fact ~ In search of truth

फोटो, फोटोग्राफर र फोटोग्राफी

पोखरा
माधब भुसाल / ताण्डव न्यूज ।

फ्रान्सका वैज्ञानिक लुइस जेकस र मेंडे डाग्यूरोले १९३९ मा फोटोको तत्व नखोजिदिएको भए । फ्रान्सकै अर्गोले रिपोर्ट तयार नगरिदिएको भए । १८२६ मा नाइसफरले हेलियोग्राफीको माध्यमबाट ज्ञात स्थायी फोटो कैद नगरेको भए ।

१८३४ मा देल बटले लाइट सेंसेटिव पेपरको आविष्कार नगरेको भए । १८३९ मा वैज्ञानिक जन अफ डब्लु हश्रेल ले पहिलो पटक फोटोग्राफी शब्द प्रयोगमा नल्याइदिएको भए । जर्ज इस्टमेनले कोडाकबारे नसोचिदिएको भए । क्यामेरा, फोटो, फोटो ग्राफी र फोटोग्राफर शब्दहरु यति छिट्टै फेमिलियर हुदैन्थ्यो होला ।

Batas

फोटोग्राफीले आजको दिनसम्म आफूलाई करिब २०० वर्षको इतिहास बनाएको छ । जसको परिस्कृत यात्राले आजको विश्वलाई हरेकको भित्ता, मोबाइल, हार्ड डिस्क, मेमोरी चिप्स लगायतका मेमेरी डिभाइसहरुमा कैद गरेको छ ।

दूरदृष्टि भएका व्यक्तिहरुको अध्ययन, आविष्कार स्वरुप आज विश्वका मानिसहरुले आफ्ना वर्तमान पलहरु भविष्यमा नियाल्नका लागि सजाउन पाएका छन् ।

फोटोग्राफर डेस्टिन स्पार्कसले भनेजस्तै ‘फोटोग्राफी एउटा कथा हो, जसलाई शब्दमा उतार्न मुस्किल पर्छ ।’ रचनात्मकता र कल्पनाशीलताले यसलाई अझ सशक्त बनाइरहेको छ ।

प्रोफेसनल फोटोग्राफी र यसको क्रेज

क्यामेरा विकासको यात्रा टिएलआर, एसएलआर हुँदै डिएसएलआरसम्म आइपुग्दा यसको प्रयोगकर्ताहरु पनि उल्लेख्य रुपमा बढेको पाइन्छ । शताब्दीको अङ्क गणित २१ मा दौडिरहँदा क्यामेरा प्रयोगकर्ताको अङ्क गणितले पनि रकेट लेभलमा उचाइ बनाइरहेको छ । सँगै यसको व्यवसायिकता पनि बढ्दो छ । फोटोग्राफी प्रोफेसनल बन्दै गइरहेको छ ।
……
क्यान्डिड फोटोग्राफीका मास्टर भनेर चिनिने फ्रान्सका हेनरी कार्टीअरले आफूले खिचेका पहिलो १० हजार फोटोहरु राम्रा हुँदैनन् भन्ने मान्नुपर्छ भनिरहँदा फोटोग्राफर सञ्जय शाक्यलाई पनि अझै आफूलाई पर्फेक्ट फोटोग्राफर होइन भन्ने लाग्छ ।

फोटोग्राफर सञ्जय शाक्य

२०५९ सालमा ‘निकोन एफएम टू’ एनालग क्यामेराबाट सुरु भएको शाक्यको फोटोग्राफी यात्रा वन डिएस मार्क २ र ड्रोनसम्म आइपुगेको छ । प्रविधिको विकाससँगै फोटोग्राफरहरुलाई च्यालेन्ज पनि थपिएको उनको अनुभव छ । ‘एनालग क्यामेराबाट सुरु गर्दा गाह्रो हुन्थ्यो । फोटो कस्तो आयो कस्तो थाहै नहुने’ उनले भने ‘डिजिटल क्यामेरा आएपछि फोटोग्राफरहरु पनि बढ्न थाले । च्यालेन्ज पनि बढ्यो ।’

डिएसएलआरको बजार विस्तारसँगै यसका प्रयोगकर्ताहरु पनि बढिरहेका छन् । हातमा क्यामेरा बोकेर फोटोग्राफर हुँ भन्नेहरुको जमात पनि उत्तिकै छ । सञ्जय भन्छन् ‘हातमा क्यामेरा बोकेर हिँड्ने । कहिलेकाहीँ फोटो खिचेजस्तो गरेर आफैंले आफैंलाई प्रोफेसनल फोटोग्राफरको ट्याग दिनेको पनि कमी छैन । ’

पछिल्लो समय विवाह ब्रतबन्ध लगायतका कार्यक्रममा पनि प्रोफेसनल फोटोग्राफरको माग विस्तारै बढ्दो छ । यसले पनि फोटोग्राफरहरुको व्यवसायिकतामा टेवा पु¥याएको उनको विश्वास छ ।

पोखरामा फेसन फोटोग्राफीको अवस्थाप्रति सन्तुष्ट छैनन् शाक्य । फोटो सुट गराउन रुची राख्नेहरुले पनि काठमाडौंबाट फोटोग्राफर बोलाउने गरेको उनको भनाई छ । भन्छन् ‘हामीलाई विश्वासै नग¥या हो कि के हो ? अचम्म पर्छु । काठमाडौंबाट फोटोग्राफर बोलाउँछन् । काठमाडौंबाट आउनेहरुले हाम्रै सामान प्रयोग गर्छन् । क्यामेरा, लेन्स, लाइट सबै । क्वालिटि पनि उस्तै हो । क्यामेरा मेन चाहिँ बाहिरकै चाहिने ।’

सञ्जयको बुझाइमा फोटोग्राफरहरु विभिन्न तवरले बिजी हुन थालेका छन् । फोटो राम्रो खिच्नुपर्छ है भन्ने भावना सबैमा जागृत हुन थालेको छ । फोटोग्राफी अधिकांशको सौख बन्न थालेको छ ।

सौखले मात्रै नभएर , फोटोग्राफीमा ध्यान, मिहेनत, कला पनि महत्वपूर्ण हो । मिहेनत गरे फोटोग्राफरको भविष्य उज्ज्वल रहेको उनले सुनाए ।

रेस्टुरेन्ट भर्सेस फोटोग्राफि

रेस्टुरेन्ट र फोटोग्राफि यी दुई शब्द विल्कुलै फरक हुन् । तर पछिल्लो समय यी दुई परिपूरक जस्तै भएको छ । खानाको स्वाद मात्र नभएर आफ्नो फोटो कस्तो आयो भन्नेर ग्राहकहरुमा बढी चासो हुने गर्छ । खाना अनि त्यो पल दुवै कैद गर्न खोज्छन् उनीहरु ।

फोटोग्राफर राकेश गुरुङ

 विदेशबाट भित्रिएको यो कल्चर अहिले नेपाल हँुदै पोखरामा मज्जाले भित्रिएको छ । पोखराका अधिकाशं रेस्टुरेन्टमा फोटोग्राफर राखेका हुन्छन् । ती मध्येका एक हुन् राकेश गुरुङ ।

फोटोग्राफर गुरुङले क्यामेरासँग साइनो गाँसेको ६ वर्ष बढी भयो । हरेक साँझ, क्यामेरा बोकेर लेकसाइड पुग्छन् । एक रेस्टुरेन्टमा फोटो खिच्नका लागि उनलाई ‘हायर’ गरिएको छ । रातको करिब १० बजेसम्म उनले रम्न आएका ग्राहकहरुलाई क्याप्चर गर्छन् ।

‘पछिल्लो समय रेस्टुरेन्टहरुमा फोटोग्राफर अपरिहार्य भएको छ । विदेशी, स्वदेशी लगायत स्थानीय पर्यटकहरु आफ्ना रमाइलो क्षणहरु कैद गर्न चाहन्छन् । सबैले क्यामेरा बोकेर आएका हुँदैनन्’ राकेश भन्छन् ‘ आफू रमेको फोटो प्राप्त गर्दा खुसी हुन्छन्, ग्राहक । यहाँ त फोटोग्राफर पनि छ है भन्ने हुन्छ । ग्राहकलाई पुनः रेस्टुरेन्ट आउने वातावरण सिर्जना गरिदिएका छन् फोटोग्राफरले ।’

यसले रेस्टुरेन्ट, बार, डान्सबार लगायतका व्यवसायीहरुको व्यवसायमा पनि उल्लेख्य मद्दत पुगेको उनको ठम्याइ छ । ‘यसले फोटोग्राफीलाई प्रोफेसन बनाउन चाहानेहरुलाई पनि मद्दत गरेको छ । हरेक दिन फोटो खिच्न जानुपर्ने भएपछि केही न केही नयाँ क्रियशन आउँछ । क्यामेरासँग बढी भन्दा बढी फेमिलियर भइन्छ’ उनले भने ।

यसबाहेक, विवाह, ब्रतवन्ध लगायत महत्वपूर्ण क्षणहरुमा फोटोग्राफरको माग बढेको बताउँछन् राकेश ।

फोटोपत्रकारिता ज्ञान र कलाको संयोजन हो

युनिश गुरुङ (फोटो पत्रकार)

फोटोग्राफी शब्दको उत्पत्ति ग्रीक भाषाका शब्दहरु ’फोटोज’ र ’ग्राफे’ मिलेर बनेको हो ।

फोटोजको अर्थ प्रकाश हो र ग्राफेको अर्थ लाइन कोर्नु अथवा चित्र कोर्नु भन्ने बुझिन्छ । जसको अर्थ प्रकाशलाई विद्युतिय माध्यम वा रासायनियक प्रतिकृयाबाट कोर्ने अथवा आकृति भर्ने भन्ने बुझिन्छ ।

एघारौं शताब्दीमा अँध्यारो कोठामा सानो छिद्रबाटमात्र प्रकाशलाई भित्र छिर्न दिइयो भने त्यो प्रकाश परेको अर्को भित्तामा बाहिरको हल्का दृश्य देखिन्छ भन्ने कुरा थाहा पाएपछि क्यामेरा ‘अब्सक्युरा’ को निर्माण भयो । जसलाई पहिलो क्यामेरा मानिन्छ । समय बित्दै जाँदा विभिन्न कालखण्डमा बैज्ञानिकको अनुसन्धान, प्रबिधिको बिकासले आज हामी क्यामेराको डिजिटल युगमा छौँ ।

सन् १८६३ मा नेपाल आएका बेलायती नागरिक क्यारेन्स कोमेन टेलरले काठमाडौंमा राणा परिवारको फोटो खिचेका थिए । यसरी तत्कालिन राणा प्रधानमन्त्री जङ्गबहादुर राणाको फोटोनै नेपालीको पहिलो फोटो मानिन्छ ।

नेपालमा सन् १८६३ बाट फोटोग्राफी शुरुआत भएपनि सन् १९०८ मा दीर्घमान चित्रकारले पहिलो क्यामेरा भित्राए । राणा परिवारमै सिमित फोटोग्राफि सन् १९०९ पछि सर्वसाधारणको पहुुँचमा पनि पुग्न थाले । त्यसपछि बिस्तारै सबैजसो स्थानमा फोटो स्टुडियो खुल्न थाले ।

अहिलेको अवस्थालाई हेर्ने हो भने सबैको हात हातमा क्यामेरा जडित उपकरणहरु छन् । केही समय अगाडि नेपालमा स्टुडियो गएर फोटो खिचाउने प्रचलन थियो तर बिज्ञान र प्रबिधिको बिकाससंगै सबैको हात हातमा क्यामेरा जडित मोबाइल, ट्याब, आइप्याड हुँदा जुन सुकै समयमा जुन सुकै ठाँउमा खिच्न सकिन्छ ।

फोटो पत्रकारीता

फोटोग्राफीका धेरै बिधा मध्य फोटो पत्रकारीता निकै जटिल बिधा हो । सबै फोटोपत्रकार, फोटोग्राफर हुन् तर सबै फोटोग्राफर, फोटोपत्रकार हुन सक्दैनन् ।

तस्बिरको माध्यमबाट सूचना तथा समाचार सम्प्रेसण गरिने काम नै फोटो पत्रकारिता हो । फोटो पत्रकारीता क्यामेराको प्राबिधिक ज्ञान भएर मात्र गर्न सकिँदैन , संचार क्षेत्र आम नागरिकसंग सिधै जोडिने भएको हुँदा संयमित भएर गर्नु पर्ने हुन्छ ।

सन् १९९३ मा सुडानमा चर्चित फोटोपत्रकार केभिन कार्टरले भोकमरीले मर्न लागेको बच्चा र उसको मृत्यु पछि खानलाई कुरेको गिद्दाको तस्बिर न्यु योर्क टाइम्समा छापे । उक्त तस्बिर छापे पछि सारा बिश्वको ध्यान केन्द्रित भयो ।

उक्त फोटोले पुरस्कर पनि जिते तर आलोचना पनि खेप्नु पर्यो । उक्त फोटो कै कारण कार्टरले आत्माहत्या गरेका थिए । सबैले मानवता नभएको फोटोपत्रकार भनी गाली गरेका थिए तर उनले एउटा बच्चालाई बचाउनु भन्दा उक्त फोटो विश्वलाई देखाएर हजारौं बच्चालाई बचाउनु थियो ।

फोटोपत्रकारीतामा जोखिम पनि मोल्नु पर्ने हुन्छ । हुलदङ्गा, लडाइँ, झडप, प्राकृतिक बिपत्ति जता जता छ त्यतै दौडिने गर्नु पर्दा जोखिम छ । मेरो अनुभवमा कास्कीको बिजयपुरमा बम बिस्फोट हुँदा र लुम्लेमा पहिरोले गाउँ बगाउँदाको तस्विर लिन जाँदा मुस्किलले ज्यान बचाएको छु । मैले धेरै भएको छैन फोटो पत्रकारिता सुरु गरेको धेरै सिक्नु पर्ने छ । फोटोपत्रकारिता ज्ञान र कलाको संयोजन हो । यो सिक्ने यात्रमा म छु ।

पोखरामा फोटोग्राफी

केही बर्ष अघिसम्म पोखरामा फोटोग्राफर औंलामा गन्न सकिने अवस्था थियो । अहिले हरेक रेस्टुरेन्टमा प्रोफेसनल फोटोग्राफर भेटिन्छन् ।

कुनै बिबाह समारोह जाँदा त्यहाँ महँगा क्यामेरा तेर्सिदा , लाग्छ पोखरामा पनि फोटोग्राफीको राम्रो बिकास भएको छ ।

तर अर्को साइडबाट हेर्दा जति फोटोग्राफरको संख्या बढेको छ त्यति पोखराको फोटोग्राफी उभो लाग्न सकेको छैन । फोटोग्राफरसंग क्यामेरा त छन् तर धेरैसङ्ग सिर्जनात्मक फोटो छैनन् ।

हामी रेस्टुरेन्ट, बिबाह बाहेक अरु ठाउँमा खिच्न सकिरहेको छैन जस्तो लाग्छ । कुनै बिदेशी फेवाताल, माछापुच्छ्रेको मनमोहक तस्विर खिचेर फर्किन्छ्न् तर हामी बस्छौं यहिको तस्विर सहि तरिकाले लिन सकिरहेका छैनौं ।

हुन त सबै फोटोग्राफरले एउटै बिधा रोजेका छैनन् । तर आफुले रोजेको बिधामा त राम्रो गर्नु पर्ने हो, त्यो पनि छैन ।

गत हप्ता एकजना ब्यक्तिसंग चिनजान भयो । मैले फोटोग्राफर हुँ भनेर चिनाएँ । उनले कुन रेस्टुरेन्टको फोटोग्राफर हो भनी सोधे । मैले हाँसेर टारेँ । पछि यसो बिचार गर्दा लाग्यो , बर्तमान समयमा जे भइरहेको छ, त्यसैले गर्दा पोखरामा फोटोग्राफरको गलत अर्थ लागेको जस्तो भयो ।

ट्राइ टु वि स्टोरी टेलर , नट अन्ली क्यामेराम्यान

मलाई फोटोग्राफीको भुतले कैले छोयो थाहा भएन । तर ०५६ तिर माओवादी द्वन्दको फोटोहरु हिमाल पत्रीकामा छापिन्थे, त्यति बेला हिमाल मासिक रुपमा निस्कथ्यो । मैले निकै रुचि लिएर हेर्थेँ ।

रोल्पा रुकमको जनजिवन झल्किने तस्विर, भाव बोक्ने पोट्रेट देख्दा मलाई छुन्थ्यो । त्यही बेलाबाट फोटोग्राफीमा रुची भएको जस्तो लाग्छ । ०५८ साल तिर बुबाले एउटा क्यामेरा किन्दिनु भएको थियो । त्यही क्यामेराले फोटो खिच्ने रहर मेटेँ ।

पछि पढाई सकेपछि ०६७ ०६८ तिर सौख पूरा गर्न फेरि क्यामेरा भिर्न थाले र अहिले पेशा नै यो भएपछि बध्याताले भिरेको छु । यो अवधीमा थुप्रै अन्तर्रा्ष्ट्रिय र रास्ट्रिय फोटोग्राफरसंग सिक्ने अवसर पाएँ र अझै सिक्दै छु । केही बिधामा पनि हात हाले ।

फोटो भनेको प्रकाश हो, यसलाई कृत्रिम या सनलाइटलाई आफ्नो कला प्रयोग गरेर सहि आकृतिको निर्माण गर्नु हो ।

हुन त फरक फरक बिधामा फरक फरक कुरा लागू हुन्छ तर मेरो बिचारमा फोटो भनेको फोटो जस्तो हुनु पर्छ , पोस्टर जस्तो हैन ।

कुनै एउटा ब्यक्तिलाई मात्र खुशी बनाउन खिचेको पोर्ट्रेट मलाई त्यति सिर्जनात्मक लाग्दैन । चिटिक्क पारेर खिचेको त्यस्तो फोटो बिशेष लाग्दैन ।

पोखरेली फोटोग्राफरले अब रेस्टुरेन्ट र बिबाह फोटोग्राफीबाट बाहिर निस्केर डेली लाइफ , ल्यान्ड्स्केप , पोर्ट्रेट , कला संस्कृती झल्कने तस्वीर लिन सकोस् । ट्राइ टु वि स्टोरी टेलर , नट अन्ली क्यामेराम्यान ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.