माधब भुसाल
पोखरा, ताण्डव न्यूज ।
नरेन्द्र भण्डारीको न्युरोडमा फेन्सी पसल छ । ८ वर्ष भयो उनले व्यवसायी अँगालेको । सधै जसो भण्डारी पसल आउँदा अगाडि पट्टि आफ्नो कार पार्किङ गर्थे । विगत २ वर्ष यता उनले पार्किङमा हैरानी व्यहोर्नु परेको छ ।
‘पहिला–पहिला पार्किङको लागि उति सारो टाढा धाउनु पर्दैनथ्योे,’ उनी भन्छन्, ‘अहिले उस्तै परे महानगरपालिका अगाडि पुग्दा पनि सवारी पार्किङ गर्न पाइदैन ।’
७ महिना अघिको नियमले पनि पार्किङमा समस्या आएको उनले सुनाए ।
‘पहिला तेस्रो कार राख्दा धेरै अट्थे तर सडक साँघुरो हुन्थ्यो,’ उनले भने, ‘अहिले सिधा राख्दा थोरै अट्छन् तर सडक फराकिलो भएको छ ।’ महानगरपालिकाले यस विषयमा सोच्नु पर्ने भण्डारी बताउँछन् । ‘कुनै ठाँउ खोजेर पार्किङको व्यवस्था गर्नुपर्छ,’ उनले भने, ‘यस्तै हो भने अबको दुई वर्षमा चिप्लेढुङ्गा आउने मान्छे सभागृह कि पृथ्वीचोक पार्किङ गर्नुपर्ने अवस्था हुन्छ ।’
भण्डारी जस्तै रमेश श्रेष्ठले पनि पार्किङको गुनासो पोखे ।
‘यहाँ बाइक पार्किङ गर्ने ठाँउ पाएको छैन अब कारलाई त झन हैरानै हुन्छ,’ उनले भने, ‘महेन्द्रपुलमा भएको पसल अगाडि पहिले नै अरुले पार्किङ गर्छन् । आफू ढिलो आइन्छ पार्किङ गर्न ५ सय मिटर भन्दा तल पुग्नुपर्छ ।’
पार्किङ व्यवस्थित गर्न महानगरपालिकाले अब बन्ने घरमा अन्डर ग्राउण्ड पार्किङ राख्न भन्नु पर्ने उनले सुनाए ।
‘ठूलो ठूलो भवन बनाउने सटर भाडामा दिने तर पार्किङ गर्ने ठाउँ छैन,’ उनले भने, ‘केही भवनमा पार्किङ गर्न अन्डर ग्राउण्ड बनाए पनि अर्कै काममा प्रयोग गरेको पाइन्छ ।’
पस्र्याङ बस्ने नरेन्द्र भुसाल पृथ्वी चोक पुगिरहन्छन् । चोकमा पुगेपछि सधैं जसो उनलाई एउटै कुराले तनाव दिन्छ, पार्किङ कहाँ गर्ने ? पृथ्वी चोकमा पनि पार्किङ गर्ने ठाउँ नै छैन ।
त्यस्तै झमेला खेप्नुपर्छ सभागृहदेखि सिर्जना चोकसम्म पनि । ‘काम परेर पृथ्वीचोक गयो । पार्किङ गर्ने ठाउँ नै हुँदैन । जहाँ पायो त्यही राख्नु पनि भएन । तनाव नै हुन्छ नि’उनले दुखेसो पोखे ‘पार्किङ गर्ने ठाउँ खोज्दा खोज्दै नयाँबजार पुग्नुपर्छ । उता सभागृह तिर पनि उस्तै । के काम परेर गा’को हुन्छ मान्छे । पार्किङले मुड अफ गर्दिन्छ ।’
उता पर्यटकीय क्षेत्रको उपमा पाएको लेकसाइडमा पनि पार्किङले नै तनाब दिन्छ । केही स्थान छन् पार्किङका लागि । तर सीमित सवारी मात्रै पार्क गर्न सकिन्छ । आन्तरिक तथा बाह्य पर्यटकको राम्रै चहलपहल हुने क्षेत्रमा न त महानगरले नै पार्किङ स्थल बनाउन सकेको छ, न त व्यवसायीहरु नै यस विषयमा चिन्तित छन् ।
पार्किङ गर्न कि त होटल, लजमै बसेको हुनुप¥यो । नभए चिया पिउन मात्रै भएपनि रेष्टुरेष्ट छिर्नुप¥यो । प्रशान्त चापागार्इँ भन्छन् ‘लेकसाइडमा पार्किङ कहाँ गर्ने ? होटलहरुले गेस्टका लागि त पार्किङ उपलब्ध गराउँछन्, तर पर्यटकका लागि खै ? रेस्टुरेन्ट पस्न प¥यो भने पनि पार्किङ गर्ने ठाउँ नै पाइँदैन ।’
पार्किङकै कारण कति कारवाहीमा परे ?
०७४ साउनदेखि ०७४ जेठ ३१ सम्म ४६ हजार २ सय ५१ सवारी कारवाहीमा परे । कारवाहीबाट ३ करोड ३० लाख १३ हजार ५ सय रुपैंया राजस्व उठेको तथ्याङ्कमा उल्लेख छ ।
जसमध्ये गलत स्थानमा पार्किङ गरेकै कारण ७६६ सावरीलाई कारवाही र ७३१ सवारीमा सिक्री नै लगाइएको ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । उक्त कारवाहीबाट ७ लाख ६६ हजार र सिक्री लगाइएका सवारीबाट ७ लाख ३१ हजार राजस्व उठेको छ ।
यस वर्षको जेठ महिना २८२ सवारीलाई गलत ठाउँमा पार्किङ गरेकै कारण ट्राफिक प्रहरीले सिक्री लगायो । फुटपाथमा सवारी राख्ने ९ जनालाई कारवाहीको दायरामा ल्याइएको छ । जसबाट २ लाख ८९ हजार ५ सय राजस्व उठेको छ ।
यस्तै असारको १२ गतेसम्मको तथ्याङ्क नियाल्दा १०९ सवारी पार्किङकै कारण कारवाहीमा परे । उनीहरुबाट १ लाख ९ हजार राजस्व उठ्यो । यस महिना सबै भन्दा धेरै २८ जना एकैदिन कारवाहीमा परेका छन् ।
करिब १ लाख ९० हजार सवारी दैनिक पोखराका सडकमा गुड्छन् । यो सङ्ख्या दैनिक रुपमा बढिरहेको छ । सवारीको चाप बढेसँगै पार्किङको समस्या बढ्ने नै भयो ।
महेन्द्रपुल कुनै काम परेर सवारी रोक्नुप¥यो भने सभागृह चोकसम्म पार्किङ खोज्दै आउनुपर्ने बाध्यता छ ।
यसका लागि सम्बन्धित निकायले के गरिरहेको छ त ? जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख ऐनबहादुर मल्ल भन्छन्, ‘महानगरले पार्किङ स्थल बनाउन व्यक्तिगत जग्गा खोजिरहेको छ । २६ ठाउँमा जग्गा पनि हेरियो । एक चरणमा कुरा पनि भैसकेको छ ।’ केही जग्गामा पार्किङ स्थल निर्माणका लागि विज्ञापन गरिए पनि कोही सम्पर्कमा नआएको उनले बताए ।
छिट्टै नै जग्गा खोजेर पार्किङ स्थलको व्यवस्था नगरे पोखरामा सवारीको चाप थेग्नै मुस्किल हुने उनले सुनाए । ‘पोखराको सडकले दोहोरो पार्किङ थेग्न सक्ने अवस्था छैन । बढ्दो सवारी चापसँगै दोहोरो पार्किङले सडक साँघुरिएको छ’ उनले भने ।
मल्लका अनुसार पालिखे चोक, गैह्रापाटन, महेन्द्रपुल, चिप्लेढुङ्गा, न्युरोड, पृथ्वीचोकमा पार्किङको समस्या छ । अहिले पोखराका सडकमा स्ट्रेट पार्किङको व्यवस्था गरिएको छ । स्ट्रेट पार्किङ भन्नाले सवारी पार्किङ गर्दा सिधा राख्नुपर्ने, छड्के गरेर पार्किङ गर्न पाइदैंन । यसले पनि दुर्घटना न्यूनीकरणमा मद्दत पु¥याएको मल्लको अनुभव छ । एसपी अशोक सिंहको कार्यकालमा स्ट्रेट पार्किङ सुरु गरिएको थियो ।
पृथ्वीचोक स्थित चाइना पुलकै कारण पनि ट्राफिक समस्या बढिरहेको छ । पोखरा भित्रने र बाहिरीने सवारीको सङ्ख्या अत्याधिक हुन्छ । तर त्यही सानो पुलबाट यात्रु पनि हिंड्नुपर्ने बाध्यता छ । यसका लागि महानगरलाई पुलको छेउमा यात्रुका लागि हिंड्न सहज हुनेगरि अर्को पुल निर्माण गर्न ट्राफिक कार्यालयले सुझाएको छ ।
चाइना पुलको दुई छेउमा आहोर दोहोर गर्ने पुल राखियो भने, यात्रुहरु त्यहीबाट आहोर दोहोर गर्नेछन् । सवारी आवतजावत गर्न सहज हुने मल्ल बताउँछन् ।
पार्किङ स्थल खोज्दै महानगर
पोखरा महानगरले पार्किङलाई व्यवस्थित बनाउन जग्गाको खोजीमा छ । कोही व्यक्तिले सशुल्क पार्किङ स्थल निर्माण गर्न चाहे , सञ्चालन गर्न दिने योजना बनाएको छ ।
बगर, महेन्द्रपुल, न्युरोड, नयाँबजार, सिर्जनाचोक लगायतका प्राइम लोकेसनमा जग्गा खोजेपनि अहिलेसम्म नभेटिएको बताउँछन् मेयरका स्वकीय सचिव लक्ष्मण तिमिल्सिना ।
‘अहिलेसम्म कोही सम्पर्कमा आउनुभएको छैन । हामीले जग्गा धनी वा अरु कोहीलाई पार्किङ स्थल निर्माण र सञ्चालन गर्नका लागि आह्वान गरिरहेका छौं’ उनले सुनाए ।
असोजसम्म पुरानै व्यवस्था अनुसार हुने र जग्गा भेटिए प्रक्रिया तत्काल सुरु गर्ने उनको भनाई थियो ।
कसरी व्यवस्थित गर्न सकिन्छ ?
जनघनत्व बढिरहेको छ पोखरामा । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइरहँदा यहाँको चहलपहल बढ्नेमा दुई मत रहेन । त्यसका लागि पनि सम्बन्धित निकायले सोच्नुपर्ने बेला आएको छ । यहाँ केही पार्किङको व्यवस्था बारे उल्लेख गरिएको छ ः
१. पार्किङ लट
पार्किङ लट भन्नाले सवारी पार्किङ गर्नका लागि निश्चित क्षेत्र तोकिएको भन्ने बुझिन्छ । । पहेंलो अथवा सेतो रङले भुइँमा मार्क गरेर एउटा गाडीका लागि एउटा एरिया छुट्याइएको हुन्छ । जहाँ सहज रुपमा गाडी लैजान र निकाल्न सकिन्छ । यस प्रकारको पार्किङ विशेषतः रेस्टुरेन्ट, बार, पसल बढी भएको स्थानमा उपयुक्त हुन्छ । अथवा कार्यक्रमहरु भइरहने स्थानमा यसको महत्व बढी हुन्छ ।
२.पार्किङ ग्यारेज
पोखराको लागि पार्किङ ग्यारेजको निर्माण पनि उपयुक्त हुन्छ । कुनै भवनको ग्राउण्ड फ्लोरलाई पार्किङ स्थल बनाउन सकिन्छ । अथवा ३ तला सम्मको पार्किङ हाउस नै निर्माण गर्न सकिन्छ । बैंक, कार्यालय अथवा सपिङ सेन्टरहरुमा यसले महत्व राख्छ । दिनभरी अफिस मै काम हुने व्यक्तिहरुले टपमा पार्किङ गर्न सक्छन् । जसले पार्किङबाट गाडी निकाल्न र लैजान पनि सहज बनाउँछ । अथवा एउटा फ्लोरमा कार, अन्य फ्लोरमा मोटरसाइकल पार्किङ गर्न सकिन्छ ।
३. अटोमेटेड पार्किङ सिस्टम
अटोमेटेड पार्किङ सिस्टम मेकानिकल सिस्टम हो । विशेषतः कार पार्किङका लागि यो सिस्टम उपयुक्त हुन्छ । थोरै क्षेत्रफलमा धेरै कार पार्क गर्न सकिन्छ । यो प्रविधिलाई पार्किङको दुनियाँमा उच्च प्रविधिको रुपमा लिइन्छ । कार लगेर एउटा स्पेसमा छाडिदिएपछि लिफ्टको माध्यमबाट पार्किङ गरिन्छ । लिफ्टमै विभिन्न तलाहरु निर्माण गरिएको यस प्रविधि अहिले विश्व बजारमा विस्तारै फैलिंदो छ ।
४. सेमि अटोमेटेड पार्किङ सिस्टम
सेमि अटोमेटेड पार्किङमा सवारीको साइज अनुसार पार्किङ गर्ने व्यवस्था हुन्छ । पार्किङ स्थल छिर्ने गेटमा राखिएको सेन्सरको माध्यमबाट सवारीको साइज थाहा हुन्छ । कुन स्थानमा उक्त सावरीको साइज अनुसारको खाली ठाउँ हुन्छ, त्यहाँ आफै अथवा खटाइएका कर्मचारीले लगेर पार्क गर्न सकिन्छ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.