सप्तकोशी उपत्यकाको माथिल्लो भेगमा रहेको चर्चित ठाउँ हो भेडेटार ।
भेडेंटारको मौसम फेदीमा रहेको धरान बजार भन्दा फरक छ । यि दुई ठाँउको दूरी जम्मा १६ किमी भएपनि धरानमा घाम लागिरहन्छ भने भेडेटारमा भने छिनछिनमा कुहिरो लागिरहन्छ । यस ठाउँ परापूर्वकालमा भेडा पालिने गरिएको हुनाले यस ठाउँको नाम भेडेटार हुन गएको हो । कुहिरोले दृश्यावलोकनमा असर गर्ने भएकोले १० बजे अगावै भेडेटार आइपुग्न आवश्यक छ ।
समुन्द्री सतहबाट १४३० मिटरमा अवस्थित भेडेटार आन्तरिक पर्यटक बाहेक भारतीय पर्यटकले खचाखच हुने ठाउँ हो । दशंैै तिहारको मौसम भदौदेखि मध्य कार्तिक र चैतदेखि मध्य जेठको महिना उपयुक्त हुन्छ ।
![Batas](https://www.tandavnews.com/wp-content/uploads/2022/04/Batas.jpg)
भेडेटार सुनसरी र धनकुटा जिल्लाको संगम स्थल पनि हो । भेडेटारको भ्यू टावरबाट मौसम खुला हुँदा उत्तर तिर मकालु, मनास्लु, ल्होत्से, कुम्भकर्ण हिमश्रृंखलाको सेताम्मे दृश्य अनि दक्षिण तिर धरान बजार देखिन्छ । कामको व्यस्तताको विचमा मानिसहरु सप्ताहन्तमा पिकनिक तथा दृश्यालोकन गर्न आउँछन् ।
भेडेटारको नागबेली बाटोमा मुन्तिरबाट यात्रु तथा सामान लिएर माथि आइरहेको बस तथा ट्रक देख्दा मन प्रफुलित हुन्छ नै सररर गर्दै आँखा अगाडि उडेका कुहिरो र हुस्सुको लुकामारी हेर्दा दिप श्रेष्ठको “बितेका कुराको धेरै याद आँउछ, तिमी टाढा हुँदा धेरै याद आउँछ” भन्ने गीतको याद आउँछ । घाम र कुहिरोको लुकामारी विच राजमार्गको तस्विर लिनु अर्को रोमाञ्चकता हो भेडेटारको ।
तराईको सतहबाट मात्र १६ किमी माथि उच्च हिमाली मौसमको हावापानी पाइने थाहा पाएर इंग्ल्याण्डका राजकुमार चाल्र्स विसं २०४० सालमा यहाँ आएका थिए अनि उनी चढेकै चुचुरोमा टावर बनाएर चाल्र्स पोइन्ट नाम दिइएको थियो ।
यस लेखक भेडेटार पुग्दाको समय छुट्टीको दिन व्यापारी तथा नवप्रेमीहरु आफ्नो प्रेमलाई रोमाञ्चकता दिन धरानबाट मोटरसाइकल र स्कुटि चढेर सडकको आसपास तस्विर खिचिरहेका देखिन्थे ।
यस्तै धरानबाट पहेंला टेम्पो पनि उकालो लाग्दै गरेका देखिन्छन् । काँकडभिट्टा, जनकपुरबाट पनि हनिमुन मनाउन नवविवाहिता तथा युगल जोडी आउने हुँदा पछिल्लो पटक भेडेटारको छद्म नाम रियल लभर स्टेशन पनि दिइएको रहेछ ।
भेडेटार मात्रै होइन नजिकै रहेको पाथीभर देवी मन्दिर तथा नमस्ते झर्ना अर्को आकषर््ाण केन्द्र हो । एक रात बस्न उपयुक्त हुने भेडेटारमा प्रशस्त होटल रहेका छन् ।
जहाँ स्थानीय तोङ्बा तथा राँगाको सुकुटी र गुन्द्रुक सिन्कीको मजा लिन सकिन्छ । धनकुटा जिल्लाको अर्को पर्यटकीय गन्तव्य हो राजारानी ताल । राजारानी ताल राजारानी गाउँपालिकामा रहेको छ ।
भेडेटार पछि २ घण्टाको उबडखाबाड बस यात्रा पछि राजारानी आउँछ । किवदन्तीका अनुसार १६०६ सालसम्म यहाँ ताल थियो र बस्ती बसाल्न ताल काटेर पानी बगाइएको थियो तर त्यसको ४५७ वर्ष पछि २०६३ साल मंसिर ३ गते स्थानीय समुदायले पानी जम्मा गरि पुनः रमणिय ताल बनाएका हुन् । त्यति ठूलो नभएपनि तालको वरिपरि हिड्न सकिन्छ भने नौका बिहार गर्न प्याडल बोटको पनि व्यवस्था गरिएको छ ।
राजारानीमा भने अलि जाडो छ तर गर्मी मौसममा भने एक दिन बिना न्यानो लुगा पहाडी जाडोको अनुभव गरेकै राम्रो । बस्नको लागि दुईवटा होटल छन् तर पनि स्थानीय पुण्य उच्च माविको अतिथि होटलमा बस्दा उपयुक्त हुन्छ ।
ग्रामिण भेगको उक्त विद्यालयले होटल म्यानेजमेन्ट विषयको प्रयोगात्मक पाठको लागि होटल बनाएको छ र रेष्टुरेन्टमा सुलभ रुपमा खानबस्न सकिन्छ । जे होस् ४५७ वर्ष पछि हराएको ताललाई पुनः जिवित गरिएको खबर सबै नेपालीका लागि खुशीको सन्देश नै हो
यसरी पुग्ने
हरेका दिन पोखराबाट धरानको लागि हरेका साँझ साढे ४ बजे डिलक्स बस छुट्छ । पोखराबाट १७ घण्टाको रात्री बसमा ५६७ किमीको यात्रा गरेपछि धरान सहर आइपुग्छ ।
त्यहि धरानबाट १६ किमीको नागबेलीको उकाली बाटो लागेपछि आउँछ भेडेटार अनि त्यहाँबाट २ घण्टाको बस यात्रा पछि आँउछ अर्को पर्यटकीय गन्तव्य धनकुटाको जिल्लाको राजारानी ताल ।
एक हप्ताको धरान, भेडेटार र राजारानी तालको भ्रमणको सम्पूर्ण खर्च १६ हजार रुपैयाँ लाग्छ ।
लेखकबाट थप
सन्दकपुर : घामको पहिलो झुल्को
प्रेम, पिआर र इत्यादी
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.