बागलुङ(रासस)
मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा आज भएको टिपर दुर्घटनामा परी मृत्यु हुने मजदूर १९ पुगेका छन् ।
दुर्घटनामा १३ मजदूर घाइते भएको प्रहरीले जनाएको छ । बेनी–कोरला सडकखण्डमा काम गर्ने मजदूर चढेको टिपर आज अपराह्न दुर्घटनामा परेको हो ।

गम्भीर घाइतेलाई एयर डाइनेस्टीको हेलिकप्टरमार्फत पोखरा पठाइएको घटनास्थलबाट घनी प्रहरीचौकीका प्रहरी हवल्दार कृष्णगोपाल परियारले जानकारी दिए।
घाइतेमध्ये पाँच जनालाई मुस्ताङ सदरमुकाम जोमसोममा उपचारका लागि ल्याइएको छ ।
अन्य घाइतेलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले बताए। “घटनास्थलमा उद्धार चलिरहेको छ, सबै विवरण आउन बाँकी छ”, प्रजिअ पौडेलले भन्नुभयो ।
घटनास्थल जोमसोमदेखि ५० किमीको दूरीमा रहेको जनाइएको छ । प्रजिअ पौडेलका अनुसार उद्धारका लागि घनीबाट गएको प्रहरी टोली र स्थानीयवासी खटिएका छन् । जोमसोमबाट थप प्रहरी घटनास्थलतर्फ गएको प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले बताए।
दुर्घटना भएको क्षेत्रमा सडक निर्माणको जिम्मा विरुवा कन्सट्रक्सनले लिएको बेनी–कोरला सडक खण्डका इञ्जिनीयर जगत प्रजापतिले बताए । सोही निर्माण कम्पनीको टिपर दुर्घटनामा परेको हुन सक्ने बताइएको छ । घाइतेको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.