www.tandavnews.com
Fact ~ In search of truth

अध्यात्मको विकास हुनुपर्छ : मुख्यमन्त्री गुरुङ

लमजुङ
ताण्डव न्यूज ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अत्यात्मको विकास हुनुपर्ने बताएका छन् ।

लमजुङको करापुटार स्थित ईशानेश्वर महादेव मन्दिरमा साउनको अन्तिम सोमबारको अवसरमा विशेष पुजा आजापछि आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले उक्त कुरा बताएका हुन् ।  “भौतिक विकासले मात्र समाज समृद्ध हुँदैन, उनले भने, आध्यात्मिक भावनाको विकास गर्न सके मात्र वास्तविक रुपमा समृद्धी हाासिल हुन्छ ।”

Batas

सरकारले सामाजिक विकासका योजना अघि सारेको बताउँदै मुख्यमन्त्री गुरुङले अध्यात्मको विकासले सामाजिक सेवा र एकताको भावना जागृत हुने विशवास व्यक्त गरे ।

प्रदेशमा रहेका धार्मिक क्षेत्रको विकास गरी पर्यटन प्रवद्र्धन गर्ने प्रदेश सरकारको निति रहेको उनको भनाई छ । ईशानेश्वर क्षेत्रको विकास र प्रवद्र्धनमा प्रदेश सरकारले सहयोग गर्ने भन्दै उनले योजना लिएर आउन आग्रह समेत गरे । ईशानेश्वर महादेवको महिमाको प्रर्वद्धन हुन नसकेको भन्दै उनले ठोस योजना बनाएर अघि बढ्न सरकार तयार रहेको बताए ।

धार्मिक पर्यटनको विकास मार्फत स्थानीयबासीको आयआर्जन हुनुपर्ने भन्दै मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशमा अध्यात्म पर्यटनको विकास गर्ने योजना रहेको बताए । कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका प्रमुख सचिव नारायण प्रसाद विडारीले ईशानेश्वर महादेवको महिमा अन्यत्र नरहेको भन्दै यसको व्यवस्थापन गर्नुपर्ने बताए ।

यस्तै, मध्यनेपाल नगरपालिकाका मेयर रमेश पाण्डेले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले देखेको समृद्धीको सपना सबै प्रदेशबासीको सपना रहेको बताए । प्रदेश सरकारसँग हातेमालो गर्दै अघि बढ्न नगरपालिका तयार रहेको भन्दै उनले अब समृद्ध नगरपालिका र प्रदेश बनाउने गरी अघि बढ्नुपर्ने धारणा राखे ।

कार्यक्रममा ईशानेश्वर क्षेत्र विकास समितिका अध्यक्ष रामचन्द्र घिमिरे शास्त्रीले ईशानेश्वर महादेव मन्दिरको महिमाका बारेमा जानकारी गराएका थिए । सो अवसरमा मध्यनेपाल नगरपालिकाका उपमेयर राजकुमार श्रेष्ठ, क्होंलासोँथर गाउँपालिकाका उपप्रमुख कुमारीमुनि गुरुङ लगायत स्थानीय जनप्रतिनिधी र भक्तजनहरुको उपस्थिति रहेको थियो ।

“यो बर्ष आस गर्नु, अर्को बर्ष भर पर्नु”

मुख्यमन्त्री गुरुङले आफ्नो निर्वाचन क्षेत्र समेत रहेको करापुटार क्षेत्रका विभिन्न आयोजनाको अनुगमन समेत गरे । मुख्यमन्त्री गुरुङले इशानेश्वर स्थित चिसँकु स्वास्थ्य चौकीका समस्याका बारेमा जानकारी लिएका थिए ।

सो अवसरमा स्वास्थ्यचौकीका प्रमुख विश्वराज घिमिरेले दरबन्दी अनुसारको कर्मचारी नभएको, फर्निचर लगायत पुर्वाधारको अभाव, स्वास्थ्यचौकीको स्तरोन्नती गर्नुपर्ने लगायतका समस्या जनाएका थिए ।

उनका अनुसार स्वास्थ्यचौकीमा अहिले दैनिक ३५ जनादेखि ७० जनासम्म विरामी आउने गरेका छन् ।

सो अवसरमा बोल्दै मुख्यमन्त्री गुरुङले स्वास्थ्यचौकीको समस्या समाधान हुने गरी योजना ल्याउन निर्देशन दिएका छन् । मुख्यमन्त्री गुरुङलाई सोमबार नै रामबजार खानेपानी तथा सरसफाई उपभोक्ता समितिले सम्मानका साथै आफ्ना समस्याका बारेमा जानकारी गराएको थियो । सो अवसरमा खानेपानी आयोजना निर्माणमा सहयोग गर्न उपभोक्ता समितिले आग्रह गरेको थियो ।

मुख्यमन्त्री गुरुङले दुई बर्षभित्र प्रदेशभित्र आधारभुत खानेपानीको सुविधा पु¥याउने योजना रहेको दोहोर्याए । “यसबर्ष हामी सर्भे गर्छौ, उनले भने, अर्को बर्ष योजना सम्पन्न गर्ने गरी बजेट विनियोजन गर्छौ ।”

सो अवसरमा मुख्यमन्त्री गुरुङलाई पञ्चबुद्ध तमु समाज सेवा, तामाङ महिला समुह र विशवकर्मा महिला समुहले पनि छुट्टा छुट्टै सम्मान गरेका थिए ।

सो अवसरमा उनीहरुले आ–आफ्ना सामुदायिक भवनलाई सहयोग गर्न आग्रह गरेका थिए । सो अवसरमा मुख्यमन्त्री गुरुङले यस बर्ष प्रदेश सरकारले रोजगारी सृजना, उत्पादन वृद्धी र गरिवी निवारण हुने खालका योजनामा मात्र बजेट विनियोजन गरेको बताए ।

प्रदेश सरकारले निति, कार्यक्रम र बजेट ल्याइसकेको भन्दै सामुदायिक भवनलाई सहयोग गर्ने गरी बजेट विनियोजन नभएको बताए । यसबर्ष कुनै योजना कारणबश पुरा हुन पाएन भने रकामान्तर गरेर केही सहयोग गर्न सकिने बताए । उनले आगामी बर्षको बजेटमा समुदायलाई फाइदा हुने गरी बजेटको व्यवस्था गर्ने प्रतिवद्धता जनाउँदै थपे, “यस बर्ष आश गर्नु, अर्को बर्ष भर पर्नु ।”

यस बर्षको बजेटमा पुर्वाधार विकास र आर्थिक उपार्जनका योजनामा धेरै बजेट विनियोजन गरिएको मुख्यमन्त्री गुरुङले जानकारी दिएका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.