विनिता सुनार
पोखरा, ताण्डव न्यूज ।
उमेरले दुई बिस काटिन् । तर पनि उनको जोस र परिश्रम भर्खरकै जस्तो देखिन्छ । एलिनाले निरन्तर १६ वर्षदेखि कम्प्युटर शिक्षा दिएर धेरै विद्यार्थीलाई दक्ष र आत्मनिर्भर बनाएकी छन् । एलिना बराल बसौला पोखरा सभागृहमा रहेको बिट कम्प्युटर एजुकेसनको सञ्चालिका हुन् ।
इन्डियन लाहुरेकी छोरी एलिनाको बाल्यकाल पनि उतै बित्यो । त्यहाँ रहँदा नै उनले कम्प्युटर सम्बन्धी कोर्स गरेकी थिइन् । उनले जानेको र सिकेको भनेको त्यही कम्प्युटर ज्ञान थियो ।

जब उनी ठाकुरप्रसाद बरालसँग विवाह गरी पोखरा मासबार आइन उनलाई घरको काम पनि गर्नुपर्ने भयो तर उनमा त्यो सम्बन्धी उति साह्रो ज्ञान थिएन । कम्प्युटरको किबोर्ड र माउस समाएकी एलिनालाई घरको चुलो र कुचो उति सहज लागेन ।
परिश्रम र मेहनतमा विश्वास गर्ने एलिनाले घरको काम पनि बिस्तारै सिक्दै गइन् । ‘जति नै गाह्रो भएपनि काम त गर्नै पर्यो,’ उनी भन्छिन्, ‘छोरी मान्छेलाई विवाह गरेर गएपछि माइतीमा जस्तो दुःख सुविधा कहाँ मिल्छ र ?’
एलिनाले घरको काम सकाएपछि बाँकी रहेको कम्प्युटर कोर्षलाई निरन्तरता दिन थालिन् । बिट कम्युटर एजुकेसनमा कम्प्युटर सिक्ने र खाली रहेको समयमा त्यहीँ सिकाउने पनि गर्थिन् । उनले कम्प्युटर सिकाए बापत मासिक १५ सय पाउँथिन् ।
एक दिनको कुरा हो, सञ्चालकले उक्त एजुकेसन बेच्ने निर्णय गरे । उनलाई आफैले लिन पाए भन्ने लाग्यो । उनको साथमा एजुकेसन किन्न सक्ने पैसा थिएन् । तैपनि ४ लाख रुपैयाँ पर्ने उक्त कम्प्युटर एजुकेसन सेन्टर आपैmले चलाउने अठोट गरिन् । स्वयम् सञ्चालकले केही समय पछि पैसा दिए नि हुन्छ भनेपछि उनलाई अझ सजिलो भयो ।
२०५९ सालबाट बिट कम्युटर एजुकेसन सेन्टरलाई एलिनाले सञ्चालन गरिन् । ‘कार्यालय चलाउन सोचेको जस्तो सजिलो कहाँ हुँदो रहेछ र’ उनले अतीत सम्झँदै भनिन्, ‘सञ्चालन गरेका सुरुआति दिनहरु निकै गाह्रो भएको थियो तिन महिना सम्म त भाडा तिर्ने पैसा पनि उठेन ।’
काठ फर्निचरमा काम गर्ने श्रीमान्को सानो कमाइले मात्र घर चलाउन हम्मेहम्मे हुन्थ्यो त्यसैले हिम्मत गरेर नै त्यो काममा हात हाले उनी भन्छिन्, ‘मेहनत गर्नुपर्छ फल त अवश्य पाइन्छ । त्यही परिश्रमले अहिले यहाँसम्म आएकी छु ।’
पछिका केही दिनहरुबाट कम्प्युटर सिक्न आउने विद्यार्थीको सङ्ख्या बढेपछि उनको व्यस्तता बढ्न थाल्यो । विस्तारै उनले श्रीमानलाई पनि कम्प्युटर सिकाउन थालिन् । जसले गर्दा उनी छोरी जन्माएर घरमै आराम गर्नु पर्ने बेलामा पनि बिजनेसले आराम गर्न परेन । ‘त्यो समय घरमा बस्दा विद्यार्थीहरुको याद आउँथ्योे,’ उनले हाँस्दै भनिन्, ‘बुढालाई अफिसमा राख्दा पनि मनले शान्ति भने पाएको थिएन् ।’
श्रीमानले विस्तारै कम्प्युटर सम्बन्धी ज्ञान बटुल्दै गएपछि उनी अफिस तिर जानै छोडिन् । पछि त उनी घर धन्दामै पो व्यस्त हुन थालिन् । छोराछेरीलाई स्कुलका लागि रेडि गर्न पर्ने घरको यता–उता यस्तैमा उनको दिनचर्या जान थाल्यो । उनले घरमा रहेको बाँकी समयलाई सदुपयोग गर्नको लागि गल्स होस्टल चलाउने निर्णय गरिन् ।
फेसबुकमा पेज बनाएर उनले होस्टलको वरपरका फोटोहरु पोस्ट गरिन् । केही समय पछि उनलाई लमजुङबाट फोन आएछ । होस्टलको लागि भनेर फोन आएपछि उनलाई खासै विश्वास भने लागेको थिएन रे । कसैले जिस्काउनको लागि होला भनेर उनले त्यो मान्छेलाई कल ब्याक गरिनन् । आफूले ब्याक कल नगरेपछि उनलाई उताबाटै फोन आयो ।
‘मलाई त्यो दिन त विश्वास नै लागेको थिएन्,’ उनले भन्छिन्, ‘अहिले ५ जना होस्टलर्स हुनुहुन्छ ।’ आफ्नो दुई तले घरको माथिल्लो तलामा रहेको होस्टेलमा सम्पूर्ण सेवा सुविधा दिनमा आफूले कुनै कम्पर्माइज नगरेको उनी बताउँछिन् । ‘एकदम फेम्ली इन्भारमेन्ट छ,’ उनी भन्छिन्, ‘कुनै कुरामा पनि उनीहरुबाट नकारात्मक गुनासो आएको छैन ।’
आफ्नै बारीमा सधै सिजन अनुसारको तरकारीको खेती गर्छिन् । घरमा दूध पनि चाहिने भएपछि उनले सुरुमा चार वटा भैसी समेत पालेकी थिइन् । भैसीको पनि सङ्ख्या बढाएर अहिले ६ वटा भैसी र एउटा गाई पालेकी छिन् । उनले बारीको घाँसले गाईभैसीलाई खान पु¥याउँछिन् । उनले मेहनत गरे अनुसारको भैसी र गाईबाट बिहान बेलुका गरी ६५ लिटर दूध उत्पादन गर्छिन् । दूध, तरकारी बेचेर पनि उनले आम्दानीको स्रोत बढाएकी छिन् ।
१५ दिन हस्तकला सम्बन्धी तालिम लिएकी उनले घरमा सजाउने विभिन्न किमिमका गुडियाहरु समेत बनाउँछिन् । आफ्नो काममा अल्छी नमान्ने एलिना काम पाछिको सफलताले जीवनमा ऊर्जा मिलेको बताउँछिन् ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.