www.tandavnews.com
Fact ~ In search of truth

कुश्माका नगरप्रमुख जोशीद्वारा तलबभक्ता बापतको रकम विद्यार्थीलाई सहयोग

पर्वत ।

कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले आफ्नो तलब भत्ताबाट विपन्न परिवारलाई सहयोग गरेका छन् ।

नगर प्रमुख भएबापत राज्यले दिने सेवा सुविधा सामाजिक सेवामा लगाउने घोषणा गरेका जोशीले तलब भत्ताको रकमले सहयोग प्रदान गरेका हुन्

नगरप्रमुख जोशीले “राजनीति जनताका लागि गर्ने हो पैसा कमाउनका लागि होइन” भन्ने उदाहरण देखाउँदै आफ्नो सबै तलब भत्ता जनतालाई बाँड्न थालेको बताए। उनले कुश्मा नगरपालिकास्थित जगदम्बा प्राविका २६ जना विद्यार्थीलाई विद्यालय पोशाक प्रदान गरेर आफ्नो सामाजिक कार्यको शुरुवात गरे । जोशीले आइतबार पनि कुश्मा नगरपालिका–४ मा रहेको नारायण माविका एक छात्रलाई वार्षिकरुपमा चाहिने शैक्षिक सामग्री र पोशाक वितरण गरे।

आर्थिक अवस्था विपन्न भएका परिवारलाई सहयोग गर्ने उद्देश्य आफूले लिएको बताउँदै जोशीले आफ्नो तलब रकम सबै जनताकै करको रकम भएकाले जनतालाई नै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

गत आर्थिक वर्षमा नगरपालिकाबाट प्राप्त भएको सबै रकम उहाँले विभिन्न क्षेत्रमा सबै सहयोग गर्ने यसअघि नै घोषणा गरेका थिए।

करका दायरा बढ्दै जाँदा यतिबेला करको विरोध भइरहेको छ । प्रदेश सरकारले स्थानीय तहले उठाएको करबाट नै स्थानीय जनप्रतिनिधिको पारिश्रमिकको व्यवस्थापन गर्ने निर्णय यसअघि नै गरिसकेको छ । नगरपालिकाका प्रमुखको मासिक रु ३५ हजार तलब प्रदेश सरकारले तोकेसँंगै करका दायरामा समेत स्थानीय तहले वृद्धि गरिरहेको अवस्थामा कुश्मा नगरपालिकाले कर नबढाउने जनाएको छ ।-रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.