
पर्वत ।
जिल्लाको सदरमुकाम कुश्माबजारमा निर्माणाधीन धौलागिरिकै पहिलो महिला बन्दीगृह आर्थिक अभावमा अलपत्र बनेको छ ।
निर्माण शुरु भएको झण्डै १० वर्ष पुगिसक्दा पनि सरकारबाट पर्याप्त रकम निकासा नहुँदा निर्माण कार्य रोकिएको हो । कूल २५ जना क्षमताको उक्त बन्दीगृहका लागि रु ७२ लाख छुट्टयाइएकोमध्ये तत्कालीन समयमा रु १४ लाखमात्र निकासा भएको थियो ।
पटकपटक सम्बन्धित निकायमा रकम माग गर्दा पनि निकासा नभएपछि पर्वत कारागारमा निर्माणाधीन अवस्थाको बन्दीगृह निर्माण प्रभावित बनेको हो । कारागार कार्यालयका प्रमुख मोहनप्रसाद उपाध्यायले भने, “अलपत्र अवस्थाको बन्दीगृह सम्पन्न गर्न वर्षेनी बजेट माग गरेको भए पनि कुनै सुनुवाइ भएको छैन, आर्थिक अभावले पूर्णता दिन सकिएको छैन ।”
निकासा भएको रु १४ लाखले पर्खाल निर्माणको आधा काम सकियो । अहिले निर्माणाधीन सो बन्दीगृहमा झारपात हुर्किएको छ । पर्खालसमेत जीर्ण बनेको छ ।
विसं २०६६ माघबाट निर्माण शुरु गरिएको बन्दीगृहको १० प्रतिशत पनि काम सकिएको छैन । एक वर्षभित्रै निर्माण सक्ने लक्ष्यसाथ निर्माण थालिए पनि समयमै बजेट निकासा नहुँदा अलपत्र बनेको कार्यालय प्रमुख उपाध्यायले बताए। महिलाका लागि छुट्टै बन्दीगृह निर्माण गरिएको धौलागिरि क्षेत्रकै यो पहिलो हो । उक्त गृहमा बागलुङ, म्याग्दी र मुस्ताङका महिला बन्दीलाई राख्न मिल्ने गरी निर्माण गरिएको थियो ।
पच्चीस कैदीबन्दी क्षमताको पर्वत कारागारमा अहिले पाँच महिलासहित ७८ कैदीबन्दी छन् जसमध्ये ७२ लाई कैद समय तोकिएको छ । छ थुनुवा छन् । महिला बन्दीगृह निर्माणपछि कारागारभित्रै विभाजन गरेर दुई भागमा महिला पुरुषलाई राखिएको छ । क्षमताभन्दा तेब्बरको सङ्ख्यामा कैदीबन्दी राख्नुपर्दा निकै समस्या परेको कार्यालयले जनाएको छ ।
सङ्ख्या अत्यधिक भएकैले दुई वर्षअघि कारागारमा कैदीबन्दीबीच झगडा भएको थियो । साँघुरो भवनमा ठूलो सङ्ख्या व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ । तीनै तहका सरकार बनिसकेपछि अलपत्र बन्दीगृह निर्माणका लागि कसैले चासो नदिएको कार्यालयको गुनासो छ ।-रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।