www.tandavnews.com
Fact ~ In search of truth

महाशीलामा एक घर एक टनेल: स्थानीय भन्छन्,बाँदरले गरिखान दिँदैन

पर्वत ।

विपन्न घरपरिवारलाई आत्मनिर्भर बनाउने उद्देश्यले पर्वतको महाशीला गाउँपालिकाले ‘एक घर एक टनेल’ कार्यक्रम शुरु गरेको छ ।

सो गाउँपालिका वडा नं ५ लुङ्खुका ४० सक्रिय किसानलाई टनेल वितरण गरेर घरघरै तरकारी उत्पादन गर्ने कार्यक्रम थालिएको हो । चालु आर्थिक वर्षमा रु ३३ लाख बजेट विनियोजन गरेर महाशीलाका ६ वडाका आधा घरधुरीमा घरघरै टनेलमा तरकारी लगाउन गाउँसभाले निर्णय गरेको हो ।

निर्णय बमोजिम प्लास्टिक टनेल खरिद गरेको महाशीलाले तरकारी लगाउने मौसम छोप्न समयमै टनेल वितरण गरिएको जनाएको छ । “अब रायो, मुला, काउली, धनियाको मौसम शुरु भइसक्यो”, महाशिलाका प्रवक्ता एवं वडा नं ५ का वडाध्यक्ष जीवनविक्रम उचै ठकुरीले भने, “व्यावसायिक किसानलाई समयमै काम शुरु गर्ने गरी टनेल बाँडिएको हो ।” पहिलो चरणमा टनेल लगेका सबै किसानले टनेल बनाएर तरकारी लगाउन शुरु गरेपछि अरू किसानलाई वितरण गरिने उनले बताए।

टनेल लगेका किसानले मौसमअनुसारका तरकारी लगाएर नयाँ किसानलाई प्रशिक्षण दिन गाउँपालिकाले निर्देशन दिएको छ । “हामीले टनेलमा तरकारी लगाएपछि छिमेकीलाई तरिका सिकाउनुपर्छ,” व्यावसायिक किसान चिन्तामणि पौडेलले भने, “टनेलभित्र तरकारी लगाउन बाहिरभन्दा अलि कठिन हुन्छ । ।” यसअघि टनेलमा व्यावसायिक तरकारी लगाउँदै आएका उनले एउटा टनेलबाट वर्षमा रु दुई लाखसम्म आम्दानी हुने बताए ।

गाउँपालिकाले एक महिनाभित्र सबै वडामा टनेल वितरण गर्ने लक्ष्य राखेको छ । गाउँसभाको निर्णय बमोजिम खरिद गरिएका टनेल हिउँदे तरकारी लगाउने मौसमसम्म वितरण गरिसक्ने लक्ष्य रहेको अध्यक्ष राजु पौडेलले बताए। “यही हिउँदे सिजनमा सबै किसानले तरकारी फलाउन् भन्ने उद्देश्य हो, त्यसका लागि व्यावसायिक तालीममा जुटेका छौँ,” उनले भने।

किसानलाई सैद्धान्तिक, कृषि, प्राविधिक र प्रयोगात्मक प्रशिक्षण अनुभवी किसानबाटै दिने योजना छ । किसानलाई चक्रीय प्रणालीमा खेती लगाउने गरी यसअघि नै गाउँपालिकाले १०/१० जनाको समूह बनाएर तरकारी लगाउने तयारी गरेको छ । त्यसको लािग तरकारीको जातअनुसारको पकेट क्षेत्र निर्धारण गरिने प्रवक्ता ठकुरीले बताए । हरेक समूहले छुट्टाछुट्टै तरकारी लगाउनुपर्ने नियम बनाइएको छ । ‘एउटै तरकारी हुँदा बिक्रीमा समस्या हुन्छ भनेर यस्तो व्यवस्था गरिएको हो, यसले तरकारी बिक्री सहज हुन्छ,” उनले भने ।

बाँदरले गरिखान दिँदैन

गाउँपालिकाका किसान बाँदरबाट हैरान परेका बेला टनेल योजना सफल हुनेमा स्थानीय शङ्का व्यक्त गर्छन् । “जस्तोसुकै योजना ल्याए पनि बाँदरले गरिखान दिँदैन”, भोक्सिङका नरजङ्ग गुरुङले भने, “पहिला बाँदर नियन्त्रण गरेर मात्रै अरू काम गर्दा राम्रो होला ।” गाउँपालिकाले भने चालु वर्ष नै बाँदर नियन्त्रण हुने दाबी गरेको छ ।

“हामीले बाँदर नियन्त्रणको योजना ल्याइसकेका छौँ, अध्यक्ष पौडेलले भने । गाउँपालिकाका सबै बाँदर छोपेर बर्दिया र चितवन राष्ट्रिय निकुञ्ज पठाइने उनले बताए।-रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.