www.tandavnews.com
Fact ~ In search of truth

मुक्तिनाथ गुरुयोजना कार्यान्वयनमा ल्याइने

मुस्ताङ । 

प्रसिद्ध धार्मिक पर्यटकीयस्थल मुक्तिनाथको विकासका लागि तयार पारिएको गुरुयोजना कार्यान्वयन हुने भएको छ । बाह्गुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा ५३७ रोपनी क्षेत्रफलमा फैलिएको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको विकासका लागि उक्त गुरुयोजना तयार पारिएको थियो ।

यसअघि मुक्तिनाथ क्षेत्र विकास समिति र पुरातत्व विभागले विसं ०७० मा तयार पारेको गुरुयोजना कार्यान्वयन हुन नसकेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ गुरुयोजना तयार पारिएकोे सांसद प्रेमप्रसाद तुलाचनले जानकारी दिए।

लामो समयको प्रतिक्षापछि तयार भएको सोे गुरुयोजना कार्यान्वयनका लागि सरकारी पदाधिकारी तथा सरोकारवालासँग छलफल गरिने उक्त समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिए।

गुरुयोजनामा मन्दिरलाई व्यवस्थित गर्न र आसपासका क्षेत्रमा आश्रमस्थल, फूलको बगैँचा, भोजनालयलगायत नयाँ संरचना निर्माण गर्न प्रस्ताव गरिएको छ । पर्यटक तथा दर्शनार्थीको भीडभाडका कारण जम्मा हुने फोहरलाई विद्युतीय यन्त्रबाट व्यवस्थित गरिने गुरुयोजनामा उल्लेख छ ।

मुक्तिनाथ नजिकै रहेको रानीपौवा बजारमा पिसीसी ढलान, तल्लो प्रवेशद्वारदेखि माथिल्लो प्रवेशद्वारसम्म लिफ्ट, मूल मन्दिर यथावत राखी वरपर रहेका साना मन्दिर जीर्णोद्धार गर्न प्रस्ताव गरिएकाले प्राकृतिक, ऐतिहासिक, भौगोलिक, सांस्कृतिक र धार्मिक सम्पदालाई असर नपुग्ने गरी संरचना बनाइने प्रजिअ पौडेलले बताए ।

समुन्द्री सतहदेखि तीन हजार ७१० मिटरको उचाइमा अवस्थित मुक्तिनाथ मन्दिरलाई हिन्दूले मुक्तिक्षेत्र तथा बौद्धमार्गीले तिब्बती भाषामा छुमिङ ग्यात्सा (सय पानी वा यथेष्ट पानी) भन्दछन् । मुक्तिनाथ हिन्दू र बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल हो ।

पहिले तयार भएको गुरुयोजना कार्यान्वयन हुन नसकेपछि अहिले मन्त्रालयमा ताकेता गरेर नयाँ गुरुयोजना बनाइएको जानकारी दिँदै सांसद तुलाचनले सबैजनालाई सहजरूपमा आवतजावत गर्न सक्ने वातावरण सिर्जना गर्न लागिएको र यसका लागि समितिको कोषमा रहेको बजेट परिचालन गरिने बताए। समितिको कोषमा हाल करिव रु पाँच करोड छ । योजना अभावमा कोषको बजेट परिचालन हुनसकेको छैन ।

कागबेनीदेखि मुक्तिनाथको रानीपौवासम्म जोड्ने सडक एक वर्षअघि नै कालोपत्रे भएकामा अहिले म्याग्दीको बेनीदेखि जोमसोमसम्मको ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक कालोपत्रेको तयारी भएको छ । गत वैशाखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको भ्रमण गरेपछि भारतीय तीर्थयात्रीको आगमन अझै बढेको छ ।

मुक्तिनाथ धार्मिक, ऐतिहासिक एवं पर्यटकीय सबै दृष्टिकोणबाट महत्वपूर्ण गन्तव्य भएका कारण यसको समग्र विकासका लागि प्रस्तावित गुरुयोजनाले धेरै सहयोग पु¥याउने विश्वास गरिएको छ ।-रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.