www.tandavnews.com
Fact ~ In search of truth

विद्यार्थी कुर्दै शिक्षक, शिक्षक कुर्दै विद्यार्थी

सञ्जय रेग्मी
पर्वत, ताण्डव न्यूज ।

कुश्मा नगरपालिकाभित्रै कतिपय यस्ता विद्यालय पनि छन् जहाँ एक जना शिक्षकको भागमा ४२ जना सम्म विद्यार्थी पर्छन । सदरमुकाम कुश्मामा रहेको नारायण माध्यमिक विद्यालयमा कक्षा १ देखि १० सम्म कुल विद्यार्थी संख्या कक्षा १ हजार ५९ रहेकोमा शिक्षकहरुको संख्या २५ जना रहेको छ । यस्तै, सदरमुकामकै शिवालय माविमा विद्यार्थी संख्या ६ सय १० जना रहेकोमा शिक्षकहरुको संख्या २५ छ । उल्लेखित विद्यालयहरु सबैभन्दा धेरै र सबैभन्दा थोरै शिक्षक विद्यार्थी अनुपात रहेका उदाहरण विद्यालय हुन् ।

यी विद्यालयबीचको तुलना गरेर हेर्ने हो भने यस्तो देखिन्छ, कतिपय विद्यालयमा कुनै कुनै कक्षामा त विद्यार्थी नै छैनन भने कतिपय विद्यालयमा कोक्षाकोठामा विद्यार्थी नै अटाउन सकेका छैनन् । विद्यार्थीबिहीन बनेका विद्यालयमा शिक्षकहरु विद्यार्थी आउलान र पढाउन पाईएला की ? भनेर पर्खिनुपरेको छ भने कतिपय विद्यालयमा कक्षाको अन्तिम बेञ्चमा बस्ने विद्यार्थीले शिक्षकको अनुहार प्रस्टसंग देख्न पनि सक्दैन ।

Batas

यो समस्या कुश्मा नगरपालिकाको मात्रै होइन की जिल्लाभरको समग्र अवस्था नै यस्तै छ । विद्यार्थी र शिक्षकको अनुपात मिलाउने गरी दरबन्दी मिलानको काम हुन नसक्दा सामुदायिक विद्यालयको अवस्था यसरी नै गुज्रिँदै आइरहेको छ । विसं २०७२ सालमा राजेन्द्रबहादुर क्षेत्री निमित्त जिल्ला शिक्षा अधिकारीको रुपमा रहेको बेलामा केही दरबन्दीहरुलाई मिलान गरिएको भएपनि त्यस भन्दा अगाडि र त्यसभन्दा पछाडि कुनै पनि जिल्ला शिक्षा अधिकारीहरुले यस बिषयमा हात हाल्न नसक्दा यो समस्या बर्षौँदेखि यही अवस्थामा छ ।

दरबन्दी मिलानका क्रममा विद्यार्थीसंख्या कम भएका विद्यालयका शिक्षकहरु स्वतः विद्यार्थी संख्या धेरै भएको विद्यालयमा जानुपर्ने हुन्छ । जसका कारण कतिपय ठाउँका विद्यालय मर्ज भएर बन्द समेत हुन सक्ने अवस्थामा पुग्ने कारण पनि स्थानीय नागरिक र दलहरुले विद्यालयलाई पेवाको रुपमा राख्दै यो विद्यालय मर्ज र दरबन्दी मिलानको काम गर्न नदिने गरेका हुन् । शिक्षक विद्यार्थी अनुपातको आधारमा शिक्षकहरुको व्यवस्थापन हुन नसकेकै कारण राज्यले शिक्षा क्षेत्रमा गरेको करोडौँको लगानी बालुवाको पानी बन्दै गइरहेको छ ।

शिक्षक विद्यार्थी अनुपात मिलाउनको लागि नगरपालिका भित्रका विद्यालयका प्रधानाध्यापकहरु, नगर कार्यपालिकाका सदस्यहरु सहित अन्य जिम्मेवार निकायका प्रतिनिधिहरुको पनि सहभागितामा बृहत छलफल समेत भएको थियो । यद्यपी यो कामले पूर्णता पाउन नसक्दा विद्यालय विद्यालय बीच आनुपातिक अन्तर बढ्दै गैरहेको छ । नगर शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्री भन्छन, ‘नगरपालिका भित्रका ६७ वटै विद्यालयमा समस्या देखिएका छन् । हामीले सबै तयारी पूरा गरेका छौँ ।

अब छिट्टै नै निकास निकालेर दरबन्दी मिलान र विद्यालय मर्जको काम सुरु हुनेछ ।’ आपूmहरुले तयार पारेको तथ्यांक अहिले नगर शिक्षा समितिमा पेश गरिएको पनि नगर शिक्षा अधिकृत क्षेत्रीले बताए । अहिलेको अवस्थामा शिक्षक विद्यार्थी अनुपात मिलाउनको लागि १ जना शिक्षक बराबर ८ जना विद्यार्थी पर्ने गरी समायोजन गर्नुपर्ने बाध्यता देखिएको पनि क्षेत्रीको भनाई थियो ।

कुश्मा नगरपालिका अन्तर्गत सामाजिक विकास समितिका संयोजक तथा वडा नं ११ पकुवाका वडाध्यक्ष शिवप्रसाद पौडेलले दशैँभित्रमा नै वर्तमान समस्याको समाधान गरिने दावी गरे । दरबन्दी मिलान र विद्यालय मर्जका लागि अहिले नगर शिक्षा शाखाले तथ्यांकको बिश्लेषण गरिरहेको यसका लागि पनि तयारी थालेको उनको भनाई छ । नगरपालिकाका कार्यकारी अधिकृत सुवास कुमार लामिछानेले भने यो समस्या अन्त्य गर्नका लागि भर्खरै कुनै उल्लेखनीय काम नभएको बताउँछन् ।

शिक्षा ऐन तयार भएको भएपनि राजपत्रमा प्रकाशन नभएसम्म प्रक्रिया अगाडि बढाउन नमिल्ने भएका कारण शिक्षक दरबन्दी मिलानमा काम हुन नसकेको उनको भनाई छ । सामाजिक विकास समितिका संयोजक शिवप्रसाद पौडेलले एउटा कक्षामा कम्तीमा पनि ८ जना विद्यार्थी नभएमा त्यस्ता विद्यालयको कक्षा नरहने प्रस्टाए ।

सबैभन्दा कम शिक्षक विद्यार्थी अनुपात :

बसन्त प्रावि मा १२ जना विद्यार्थी र ४ जना शिक्षक
गायत्री प्राविमा १५ जना विद्यार्थी र ५ जना शिक्षक
यूवाबर्ष प्रावि मा २४ जना विद्यार्थी र ७ जना शिक्षक
शहीद शुक्र प्राविमा ११ जना विद्यार्थी र ४ जना शिक्षक
कामधेनु प्रावि मा ८ जना विद्यार्थी र ३ जना शिक्षक

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.