www.tandavnews.com
Fact ~ In search of truth

झाडीमा निमोठीएका फूलहरू

गत बुधवार जिल्ला प्रहरी कार्यालय कास्की, पुग्दा श्रीयाकी सानीआमा गंगालाई भेट्यौँ ।

उनी चिच्याउँदै थिइन् । यत्रो बर्ष फूल जसरी हुर्काएको, ठुलो बनाएको आज यो दिन देख्नलाई हो ? अपराधीले मारोस भनेर हामीले छोरी जन्माएका हौँ ? ठुला बडा नेताका छोरी यसैगरी मरेको भए चुप लागेर बस्थे ? जसरी हाम्री छोरीलाई मारिएको छ हामीले पनि त्यसै गर्न पाउनुपर्छ भनेर उनी बर्बराईरहँदा सबै मौन थिए ।

गण्डकी प्रदेशमा हालै भएका घटनालाई हेर्ने हो भने मात्रै पनि भदौ २१ गते म्याग्दीको बेनी नपा–२ बगरफाँटमा रहेको सरस्वती आधारभूत विद्यालयका विद्यार्थीलाई शिक्षकले यौन दुव्र्यवहार गरेको घटना सार्वजनिक भयो ।

Batas

दुखद कुरा त यौन दुव्र्यवहार जस्तो गम्भीर घटनालाई ढाकछोप गर्दै असोज ४ गते विद्यालय प्रशासनले सर्वपक्षीय भेला राखी आरोपितलाई सरूवाको सहमति दिने निर्णय गरिएको छ । आधारभूत तहमा अध्ययनरत सातजना छात्रामाथि भएको यौन दुव्र्यवहार घटनामा दोषी शिक्षकको सरूवा तथा गल्ती ठाकछोप गरेका कारण प्रधानाध्यापकको बदली गर्नेमात्रै निर्णय भयो । त्यो पनि माईन्युटै गरेर ।

श्रीया सुनारमाथी भएको बर्बर घटना त पोखराले भुल्नै सक्दैन । विद्यालयकै पोशाकमा झाडीमा हराएको एउटा प्राण । १० वर्ष हुर्काएकी छोरीले तीन मिनेटमा प्राण त्याग्दा उनको परिवारले भोग्नुपरेको यो समयलाई समवेदनाहरूले मल्हम लाउन सक्दैनन् ।

असोजको पहिलो साता पर्वत जिल्लामा सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १० वर्षीय बालकलाई गिरफ्तार ग¥यो । पर्वतमै १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कुश्मा नपा–२ खुर्कोटका २० वर्षीय विनोद नेपालीलाई असोज ९ गते गिरफ्तार ग¥यो । पीडित बालिकालाई आरोपितले भदौ २७ गते बलात्कार गरेको भन्दै पीडित बालिकाका अभिभावकले असोज ८ गते प्रहरीमा उजुरी दिएका थिए ।

१६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले गोरखाका ४९ वर्षीय बावुलाई असोज १० गते गिरफ्तार गर्यो । पीडित बालिकालाई आरोपितले भदौ २७ गते बलात्कार गरेको घटनाको धेरैपछि गाउँकै एकजना साथीलाई भनेपछि मात्रै घटना सार्वजनिक भएको जिल्ला प्रहरी कार्यालय, गोरखाको भनाई छ ।

स्याङ्जामा भदौ १५ गते, भदौ २० गते र भदौ २२ गते लगातार तीनओटा बलात्कारका घटना भए । १३ देखि २५ बर्ष उमेर समूहका पीडित भएका ति घटना अनुसन्धानकै क्रममा रहेका छन् । पछिल्लो समय हाडनाताभित्रका व्यक्तिबाट भएका बलात्कारका घटनापनि बढिरहेका छन् ।

बावु, दाई, काका सौतेलो बुवा जस्ता परिवारका सदस्यबाट भएका घटना ढिलोमात्रै प्रहरीमा आउने गर्दछन् । भरसक उजुरी नआउने, प्रहरीमा उजुरी आएपछि पीडितको घरमा बास हराउने गर्दछ हाडनाताभित्र भएका बलात्कारका घटनामा । एउटा हिंसा छँदैछ सँगै घरनिकाला हुनुपर्ने त्रासमा कमै मात्र यस्ता घटना प्रहरीमा पुग्छन् ।

पछिल्लो समय बलात्कारका घटना बढ्नु र प्रकाशमा आउने क्रम दुवै बढ्दो छ । दश वर्षीय बालकदेखि ७५ बर्ष नाघेका व्यक्तिसम्म बलात्कारका घटनामा दोषी छन् । केही दिन अघिमात्रै पोखरामा ७० वर्षीया महिला बलात्कृत भएको घटना सार्वजानिक भएको थियो ।

यस्ता घटनाहरूमा पीडित हुने अधिकांश गरिब परिवारका, पारिवारिक बिचलन भएका परिवारका बालबालिका तथा दलित परिवारका बढी छन् । आर्थिक तथा राजनैतिक पहुँच कम भएका व्यक्ति पीडित हुने क्रम बढ्दो छ । पीडकहरू भने बेरोजगार तथा मादक पदार्थ सेवनकर्ता बढी रहेको तथ्यांकले देखाउँछ ।

दिनहुँजसो भईरहेका बलात्कार तथा यौनजन्य हिंसाले पीडितलाई दिने पीडा त छँदैछ समाजमा रहेका पुरुषहरूलाई समेत लज्जित बनाएको छ । अचेल आमाहरू छोरीहरूलाई पुरुष अभिभावकको साथमा छोड्दा सन्त्रास सहित छोड्छन् । मन ढुक्क रहँदैनन् ।

बुवाहरूमा पनि उस्तै प्रकारको भय हुन्छ अझ यि घटनाहरूले हिनता थपिरहेको हुन्छ । केही अघि युग पाठकले लेखेको लज्जित पुरुषको बकपत्रले यस्तै सार दिन्थ्यो । पुरुषबाट भएका हिंसा तथा बलात्कारका घटनाले पुरुषवर्गलाई लज्जित बनाएकोबारे सो लेखमा लेखिएको थियो ।

दैनिक यस प्रकारका समाचार पढ्दा अनि सुन्दा कहिलेकाहीँ यस्तो पनि लाग्छ श्रीया र निर्मलाहरू त एकै झमटमा मारिए । एकैछिन् पीडा भएपनि उनीहरूले दिनै पिच्छे समाजका ‘बिचरा’को सम्बोधनले दिनहुँ मर्नुपर्दैन ।

बलात्कारी जेलबाट छुटेर आएपछि उसलाई देखेपिच्छे मर्नुपर्दैन । नत घटनाको बयान दिँदा अरू पीडितझैँ पटक पटक मर्नुपर्छ । बस् एउटा अँध्यारो झाडीले उनीहरूको प्राण र छोरी भएर जन्मिँदाको मुल्य चुकाईदिन्छ ।

लेखकबाट थप

सत्य आमा कि बुवा ?

भिरजस्ता पिरहरु…

कुरा करको

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.