www.tandavnews.com
Fact ~ In search of truth

खोइ बधशाला ?


 

 

 


सन्तोष सुवेदी

पाेखरा,ताण्डव न्यूज । 

मासुको अत्याधिक खपत हुने जिल्लामा पर्छ कास्की । खशी, बोका, कुखुरा, राँगा मात्रै दैनिक हजारौं केजी बिक्री हुने गरेको मासु व्यवसायीहरु बताउँछन् ।

Batas

कास्कीमा अझ कुखुराको माग धेरै नै छ । चाडपर्व बाहेक अन्य बेला प्रतिदिन ३ हजार केजी कुखुराको मासु बिक्री हुन्छ । तर व्यवस्थित बधशाला नै निर्माण नहुँदा उपभोक्ताहरुले स्वस्थकर मासु खान पाएका छैनन् ।

बधशाला निर्माणको लागि सरकारले वर्षेनी बजेट छुट्याउने गर्छ । तर, हरेक वर्षजसो बजेट फ्रिज भएर जाने गरेको छ । यसको कार्यान्वयन कसले गर्ने भन्ने कुरामै अलमल हुँदा व्यवस्थित बन्न नसकेको मासु व्यवसायीहरु सुनाउँछन् । बधशालामा मात्र काटेर मासु बिक्री वितरण गर्ने भनेर महानगरले नियम बनाएर कडाइ गरिदियो भने कार्यान्वयन हुन सक्ने व्यवसायीहरु बताउँछन् ।

मासु कार्यान्वयन ऐन २०५५ पनि कागजमा मात्र सीमित रहेको अर्थात् कार्यान्वयन नभएको देखिन्छ । ०६८ मा तत्कालीन पोखरा-लेखनाथ नगरपालिकाले मासु बजार सुधार्ने निर्देशिका पनि जारी गरेको थियो तर त्यो कतै पनि सुधार नआएको र पालना नभएको प्रष्टै देखिन्छ ।

अझै पनि टेबुलमा मासु काट्ने, एकछेउमा तरकारी पसल र अर्को छेउमा मासु बेच्ने गरेको बजारमा जताततै भेटिन्छन् । यसले गर्दा उपभोक्ताले गुणस्तरयुक्त मासु खान पाइरहेका छैनन् ।

पोखरा मासु व्यवसायी समितिमा ६ सय हाराहारीमा मासु पसल दर्ता छन् । यसमा २ सय खसी-बोका दुइटै बेच्ने छन् भने अरु कुखुरा मात्र बेच्नेहरु छन् ।

कास्कीमा सङ्ख्यात्मक रुपमा मासु पसल धेरै हुनु र व्यवस्थित बधशाला नहुनु विडम्बना रहेको समितिका अध्यक्ष भोलानाथ ओझा बताउँछन् । ‘बधशालाको हकमा बजेट फ्रिज भइरहेको छ ।

पिपिसी मोडलबाट स्थानीय निकाय, महानगरले चासो दिएर त्यही किसिमको कानुन बनाउने र बधशाला सञ्चालन गरेपछि अन्त काट्न नदिई त्यही काटेको मासु बेच्ने नियम बनाउने हो भने व्यवसायी सचेत हुन्थे’ उनी भन्छन्, ‘व्यवसायीले निजी रुपमा सञ्चालन गर्नको लागि लगानी धेरै हुन्छ । स्थानीय निकाय र सरकाले नियम बनाउनुपर्छ । अनि मात्र बधशाला सम्भव छ ।’

बधशाला नि बनाउने र बाहिर पनि काट्न दिने हो भने व्यवस्थित नहुने उनको भनाई छ । व्यवसायीहरु पुरानै तरिकाले मासु पसल सञ्चालन गर्न चाहने हुँदा उपभोक्ताले पनि व्यवस्थित पसल खोजी गर्नुपर्ने उनी सुझाउँछन् ।

‘घर नजिकै टेबुलमा काटेको होस् या कतै काटेको होस् उपभोक्ता किन्न कस्सिन्छन् । उपभोक्ता पनि सचेत छैनन्,’ उनले भने, ‘उपभोक्तालाई सचेत गराउँदै नियम पनि कडा बनाउनुपर्छ साथै लागु पनि गर्नुपर्छ ।’

व्यवसायीले नै अव्यवस्थित मासु पसललाई कारबाही गर्न प¥यो भनी प्रशासनलाई घचघच्याउनु परेको अवस्था रहेको उनको भनाइ छ । ०६९ सालमा नेपाल सरकार अन्तर्गत कृषि मन्त्रालयले पोखरा मासु व्यवसायी समितिलाई उत्कृष्ट मासु बजार भनेर पुरस्कृत पनि गरेको थियो ।

‘हाम्रो उद्देश्य पोखरालाई राम्रो बनाउने हो । यो कारणले गर्दा हामीले महानगरपालिका र जिल्ला पशु कार्यालयलाई घचघच्याउनु परेको अवस्था छ,’ ओझाले भने, ‘टेबुलमा, तरकारी पसलमा मासु, किनारा पसलमा मासु बेच्न नदिनुहोस् । लगानी धेरै गर्न पर्ने व्यवसाय होइन कमसेकम ३ लाख रुपैयाँ जति भयो भने राम्रो मासु पसल बन्छ त्यसलाई कडाइ गर्दिनु प¥यो भनेर पशु सेवा कार्यालयमा जाने गरेका छौं ।’

मासु पसलमा सिजनेवल अनुगमन भन्दा पनि अघिपछि पनि गर्नुपर्ने ओझा बताउँछन् । पोखरामा भएका मासु पसलमा एक पटक अनुगमन टोली पूरै पसलमा पुगेर सुझाव वा कारवाही गर्दिए पोखराको मासु बजार एकदमै छिटो परिवर्तन हुने उनको ठम्याई छ । भन्छन्, ‘यत्तिमात्र अनुगमन टोलीले एक पटक गर्दिए यहाँको मासु बजार व्यवस्थित पनि हुन्छ । यसमा प्रशासन नै तात्नुपर्छ ।’

बधशाला मासुको लागि अति आवश्यक भएपनि यहाँ यसको निर्माण हुन सकेको छैन । विदेशमा मासु पसल भनेर स्पेसल्ली उतिखेरै काटेर दिने व्यवस्था हुँदैन सुपरमार्केटबाट बिक्री भइराखेको हुन्छ । नेपालगञ्जमा केही समय सञ्चालन भएको बधशाला बन्द भयो ।

हेटौंडा, बुटबल लगायतका केही ठाउँमा बधशाला खोलिए पनि हाल बन्द छन् । बाहिर जथाभावी काट्ने काम रोकियो भने मात्र बधशाला चल्छ नत्र चल्दैन व्यवसायीहरु बताउँछन् ।

कुखुराको हकमा भने बधशाला उति आवश्यक नपर्ने मासु व्यवसायी बताउँछन् । उनीहरुको भनाई अनुसार कुखुरा सप्लायर्सलाई एउटा निश्चित मापदण्ड बनाएर स्ट्रिक गर्दिए मासु बजार व्यवस्थित हुन्छ । केही वर्ष पहिले पोखरा र आसपासको ठाउँमा कुखुरालाई मोटरसाइकलमा कोचेर बेच्ने गरेको पाइन्थ्यो तर अहिले सल्लायर्सहरुबाट केही सुधार भएको छ ।

सप्लायर्सहरुमा पनि केही अटोमेटिक प्लान्ट पनि छन् । ५-६ वटा अटोमेटिक नभएपनि व्यवस्थित छन् । केही अव्यवस्थित सप्लायर्स पनि छन् । कुखुरामा छुट्टै बधशाला सम्भव नभएपनि खसी र भैसीको हकमा बधशाला चाहिने व्यवसायीहरु बताउँछन् ।

भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु चिकित्सक खगेन्द्रप्रसाद अर्यालले राज्य पक्षले उचित जग्गा देखाउन नसक्दा बधशाला बन्न नसकेको बताउँछन् ।

‘सम्बन्धित व्यवसायीले पनि जग्गा नखोज्ने र सरकारी जग्गा नहुँदा यसको व्यवस्थापन हुन नसकेको हो,’ उनले भने, ‘खसी बोका पनि फ्रेस हाउसमा बध गरेको पाइन्छ खासमा यो राम्रो होइन ।’ उनले एउटा प्रदेशमा एउटा बधशाला निर्माण गर्न राज्यले पहल ग¥यो भने व्यवस्थित हुने बताउँछन् ।

नागरिक समाजका अध्यक्ष रामबहादुर पौडेलले सफा र स्वच्छ पोखरा बनाउनको लागि मासुजन्य पदार्थमा पनि उत्तिकै ध्यान दिनुपर्ने बताउँछन् । उनले नागरिकको हितको लागि पोखरामा बधशाला जसै चाहिने बताए ।‘प्रशासनसँग पनि पटक पटक खबर गरेकै छौं, तर अहिलेसम्म पहल भएको देखिँदैन, ’ उनले भने ।

उपभोक्ता मञ्च कास्की अध्यक्ष कपिलनाथ कोइरालाले पशु बधशालामै बध गर्नुपर्ने नियम भएपनि यहाँ त्यसो नभएको सुनाए । पशु बधशाला तथा मासु जाँच ऐन २०५५ र नियमवाली २०५७ अनुसार पशु बधशालामै काट्नुपर्ने नियम रहेको उनले जनाए । नियमअनुसार एउटा पशु काट्दा अर्कोले देख्न हुँदैन, पशुचिकित्सकले चेकजाँच गरेर ठिक छ भनेमात्र काट्नुपर्छ, पानीको व्यवस्था उचित मात्रामा भएको ठाउँमा काट्नुपर्छ । बधशाला निर्माणमा पनि पशु बध र मासु जाँच प्राविधिक निर्देशिका ०६४ अनुसार बधशाला स्थापनाका लागि स्थान छनोट नै मापदण्ड विपरीत गरिएको छ । बधशाला निर्दशिकाको ३ को (ग) मा जङ्गल तथा मानिसको बसोबास वा घना बस्तीसँग नजोडिएको हुनुपर्ने उल्लेख छ ।

के भन्छ महानगर ?

नागरिक र उपभोक्ताले पटक–पटक महानगरलाई पोखरामा बधशालाको आवश्यक छ भनेर त्यसको निर्माणको लागि झक्झकाए पनि त्यसप्रति कुनै कदम चालेको देखिँदैन । महानगरले हुन्छ भन्दै आश मात्र देखाएको आम स्थानीयहरु गुनासो गर्छन् ।

यसविषयमा पोखरा महानगरका उपमेयर मञ्जुदेवी गुरुङसँग बुझ्दा अब निर्माण हुने जानकारी दिइन् । उनले बधशाला निर्माणको लागि बजेट छुट्याइए पनि कहाँ बनाउने भन्ने बारे जग्गा खोजी हुन नसकेको सुनाइन् । ‘महानगर र प्रदेश मिलेर बधशाला बनाउने तयारीमा छौं,’ उनले भनिन् ।

मासुमा ठगि

सरकारले मासु पसल सञ्चालनको लागि निश्चित मापदण्ड बनाएको छ । सफा सुग्गर, पारदर्शी, मासु काट्ने मान्छेले हात, अनुहारमा माक्स र ग्लोब्सको प्रयोग गर्ने लगायतका मापदण्डमा उल्लेख छ तर यहाँका केही पसलको हालत नाजुक छ । मासु पसलमा माखा भन्कने, हातमा फोहोर, कपडा उस्तै फोहोर । उपभोक्ता त्यस्तै मासु धमाधम खाइरहेका हुन्छन् ।

अर्कोतर्फ दशैं र तिहारको बेला हिमालको जडीबुटी खाएर हुर्किएको च्याङग्रा नै खानुपर्छ भन्ने आम मानिसको सोच हुन्छ । यसमा कतिपय उपभोक्ता च्याङग्रा किन्ने क्रममा ठगिने गरेको पनि पाइन्छ । परम्परागत रुपमा चलेको उचालेर किन्ने शैलीबाट उपभोक्ता ठगिएका हुन् । यसलाई जोखेर पाउनुपर्ने व्यवस्था गर्नुपर्ने माग यतिखेर मासु व्यवसायीले प्रशासनसँग गरेका छन् ।

जिउँदो च्याङग्रा उपभोक्ताले जोखेर पाउनुपर्ने, एउटा आधारबिन्दु छुट्टिनुपर्ने माग राखिएको छ । यसले गर्दा उपभोक्ता कम ठगिने अनुमान गरिएको पोखरा मासु व्यवसायी समितिका अध्यक्ष भोलानाथ ओझा बताउँछन् । ‘व्यवसायलाई त कति मासु पर्छ थाहा हुन्छ तर आम उपभोक्तालाई थाहा हुँदैन । उचाल्दा ठूलो देखिन्छ, पेट ठूलो हुँदा मासु कम पर्छ, कतिपय प्राविधिक कुरा थाहा हुँदैन अनि महङ्गो पैसा हाल्ने गरेको पाइन्छ,’ उनले भने, ‘ एक बथानमा कम्तिमा पनि जोख्ने तराजुको व्यवस्था गरिनुपर्दछ अनि मात्र पारदर्शी हुन्छ ।’

उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले खसी च्याङ्ग्रा तौलिएर बेच्ने व्यवस्थालाई कार्यान्वयन भएको खण्डमा उपभोक्ता ठगिनु नपर्ने बताए । उनले यो व्यवस्था कार्यान्वयन भयो भने अहिलेसम्मकै ठूलो उपलब्धी हुने बताए । योसँगै पोखरामा कतिपय मासु पसलमा स्त्री लिंगी चौपाय काटेर खसी बोकाको मूल्यमा बेच्ने गरेको हुँदा त्यसमा पनि कारबाही र अनुगमनको थालनी गरिने उनले प्रस्टाए । ‘चाडपर्व लागेपछि दुई नम्बरी गर्नेहरु झन् बढेको पाइन्छ,’ उनले भने, ‘हामीले अनुमगन समिति बनाएर टोली खटाइ आवश्यक अनुसारको कारबाही गर्नेछौं ।’

दशैंमा मासुको कारोबार 

पोखरा खसी बोका व्यवसायी समितिका अध्यक्ष ज्ञानबहादुर श्रेष्ठ यो पटक मासुको खपत बढ्ने बताउँछन् । हिउँदको समयमा दशैं परेकोले पनि मासुको खपत बढ्ने उनको अनुमान छ । यो पटकको दशैंमा पोखरामा ७ हजार खसी बोका आउने आँकलन छ ।

मासु व्यवसायी समितिका अध्यक्ष भोलानाथ ओझाले दशंैमा कुखुराको मासु २५ प्रतिशतले बिक्री कम हुने बताउँछन् ।

‘सोह्रश्राद्ध अघिबाटै मासुको विक्री वितरण घट्छ । नवदुर्गा सुरु भएपछि बल्ल बढ्ने हो,’ उनले भने, ‘अन्य बेला खसीको मासु बढी बिक्री हुने गर्छ ।’ उनका अनुसार कास्कीमा दैनिक ३ हजार केजी कुखुरा र ५ हजार केजी खसीको मासु बिक्री हुने गर्छ । यसरी हेर्दा कुखुराबाट दैनिक साढे ९ लाख रुपैयाँ र खसीबाट ४८ लाख रुपैयाँ कारोबार हुने देखिन्छ ।

दशैंमा यसको माग बढेर प्रतिदिन २० केजीसम्म खसीको मासु बिक्री हुने गरेको छ । ‘आफै घरमा लगेर खाने उपभोक्ताको हिसाब भएन । फ्रेस हाउसबाट लगेर खाने प्रतिदिन सङ्ख्या बढ्छ नै,’ उनले भने । भेडाको नगन्य मात्रामा बिक्री हुने गरेको उनले बताए । ‘दसैंको ४÷५ दिन अघि अत्याधिक मात्रामा मासु बिक्री हुने गर्छ । च्याङ्ग्राको अवस्था हेरेर बिक्री हुन्छ । च्याङ्ग्राको मासु बढेर आयो भने खसीको मासु बिक्री हुन्छ,’ उनले भने, ‘सहरी एरियाभन्दा पनि ग्रामीण क्षेत्रमा बढी खसी खाने गरेको पाइन्छ ।’ उनका अनुसार चाडपर्वमा प्रतिव्यक्ति २ हजार रुपैयाँ मासुको लागि खर्च हुने अनुमान छ ।

नयाँ जेनेरेसनले खसी र च्याङ्गाको मासु कम खाने गरेको उनको भनाइ छ । ‘युवाहरुले बढी कुखुरा नै खाने गरेको पाइन्छ,’ उनले भने, ‘खसी, च्याङ्ग्रा बढी ४०÷४५ वर्षकाले खाने गरेको देखिन्छ ।’

के भन्छ पशु कार्यालय ?

मासुको लागि भेंडा, च्याङ्ग्राको स्वास्थ्य अवस्था हेरेर मात्र मासु खानको लागि स्वास्थ्य चिकित्सकहरु बताउँछन् । पशु स्वास्थ्य कार्यालयका प्राविधिक सुरेसकुमार श्रेष्ठले खसी, बोका, च्याङ्ग्रा रोज्ने क्रममा आँखा चम्किलो, रौं ठाडा भएको खरिद गर्न सुझाव दिन्छन् । उनले नाकमा फोहोर, मुखमा ¥याल बगेको, पातलो, झोर्किएको अवस्था देखिएमा रोगी हुने बताए ।

स्वास्थ्य परीक्षण गरी रोगी भेटिएमा विभिन्न सङ्केत दिने रङ्ग लगाएर छुट्याइने उनले बताए । ‘हेर्दा खेरि बिरामी जस्तो देखियो भने हटाउनको लागि अनुरोध गरेका छौं,’ उनले भने, ‘उपभोक्ताले पनि सस्तोमा पाइयो भन्दैमा जस्तो पायो त्यस्तै खरिद नगरे राम्रो हुन्छ ।’ त्यस्ता पशुहरु खरिद गरे पनि बध गर्ने क्रममा पनि पशु अधिकारको कुरा भएको हुँदा थाहा नपाउने गरी, पछारेर मार्न नपाइने व्यवस्था भएको उनले प्रस्टाए ।

श्रेष्ठले भने, ‘सकेसम्म बेहोस गरेर मार्ने भन्नेछ तर त्यस्तो सिस्टम हाम्रोमा आइसकेको छैन ।’ उनले खसी बोका काट्दा पूरा रगत बगाएर मात्र खाएको मासु स्वच्छ हुने सुझाए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.