www.tandavnews.com
Fact ~ In search of truth

‘कास्कीबाट एउटा खेलाडी पनि छैनन्’

अर्जुन गिरी
पाेखरा, ताण्डव न्यूज ।

गण्डकी प्रदेशको मात्र नभएर खेलकुदको राजधानी भनेर चिनिने पोखरा । काठमाडौपछि धेरै खेलकुदको गतिविति हुने थलो पनि पोखरा ।

अझ भनाै फुटबल र फुटबल प्रेमीको कुनै कमी छैन पोखरामा । यहाँबाट राष्ट्रियस्तरका फुटबल खेलाडी उत्पादन पनि नभएका होइन । तर अहिले यू–१९ महिला च्याम्पियनसिप छनोटका लागि थाइल्याण्ड पुगेको नेपाली टिममा एउटा पनि कास्कीको खेलाडी छैनन् ।

Batas

गण्डकी प्रदेशबाट एक मात्र खेलाडी तनहुँकी विमला विक मात्र छनोट भएकी हुन् । यी टोली त्यही हुन, जसले गत साता भुटानमा भएको साफ यू–१८ महिला च्याम्पियनसिपमा उपविजेता बनेको थियो ।

तनहुँकी विमला विक

फुटबलको उर्वर भूमि भनेर चिनिने कास्कीबाट महिला फुटबल खेलाडी नपर्नु लज्जास्पद विषय रहेको विरौटा निवासी फुटबल प्रेमी चन्दन शर्मा बताउँछन् । ‘पोखराबाट झन धेरै हुनुपर्ने हो, एउटा खेलाडी पनि छैन्,’ उनले भने, ‘अखिल नेपाल फुटबल संघ र फुटबलसँग सम्बन्धित संस्थाहरुले यस विषयमा ध्यान दिनु पर्ने हो । भुटानमा यू–१८ महिला टिम उपविजेता हुनु पनि राष्ट्रको लागि धेरै ठूलो उपलब्धी हो ।’

अब यस विषयमा गम्भिर भएर अखिल नेपाल फुटबल संघ कास्कीले योजना बनाउनु पर्ने उनको भनाई थियो । ‘महिला खेलाडी उत्पादनमा पनि ध्यान दिनु पर्छ,’ उनले भने, ‘एन्फाको काम फुटबल खेलको विकास गर्नु हो । उत्कृष्ट खेलाडी उत्पादनमा मुख्य भूमिका खेल्नुपर्छ ।’

महिला खेलाडी कास्कीमा कमी नरहेको पृथ्वीचोक निवासी शुशिला कार्की बताउँछिन् । ‘खेलाडी नभएका होइन्, तर उनीहरुलाई जानकारी हुनुपर्छ,’ उनले भनिन्, ‘त्यति मात्र होइन उनीहरुको अभिभावकलाई पनि कन्भिन्स गराउनु पर्ने बाध्यता छ । यसको लागि अखिल नेपाल फुटबल संघ कास्कीले पहल गर्नुपर्छ । त्यस्ता खेलाडीलाई स्वास्थ्य, शिक्षा र अवसर पनि सिर्जना गर्न सक्नुपर्छ ।’

राज्यले पनि पुरुष र महिला खेलाडीमा भेदभाव गरेको हुनाले महिला खेलाडी उत्पादन कम हुने गरेको कार्कीको विश्लेषण छ । ‘भुटानमा सम्पन्न साफ च्याम्पियनपिसमा उवविजेता भनेको टिमका खेलाडीले केही पाएन्,’ उनले भनिन, ‘त्यही ठाउँमा पुरुष खेलाडीले जितेको भए राज्य र अखिल नेपाल फुटबल संघकाबाट विशेष रकम दिइन्थ्यो । अहिले ती खेलाडीहरुलाई जनही ५० हजार रुपैयाँ मात्र दिने निर्णय गरेको छ एनफाले । पुरुष फुटबल खेलाडीलाई जस्तो सेवा सुविधा महिला खेलाडीलाई दिन सक्ने हो भने महिला खेलाडीहरुको राम्रो सहभागिता हुनेछ ।’

महिला खेलाडी उत्पादन गर्न नसकेको अखिल नेपाल फुटबल संघ कास्की अध्यक्ष मिलन गुरुङ स्वीर्काछन् । ‘केही महिना अघि साफ यू–१८ महिला च्याम्पियनसिपको लागि छनोट गर्दा हामीले ४ जना मात्र खेलाडी बुटवल पठाएका थियौ,’ उनले भने, ‘उनीहरु छनोटमा परेनन् । खेलाडीको मात्र होइन हाम्रो पनि कमी कमजोरी रह्यो । तर आगमी दिनमा कास्कीबाट पनि फुटबलको लागि राम्रो महिला खेलाडी तयार गर्नेछौ । अहिले हामीले तल्लो तहबाटै महिला फुटबल खेलाडी तयार गर्दैछौ ।’

यू–१८ महिला फुटबल टिमको छनोट गर्दा पोखराबाट सोचे जस्तो खेलाडी नआएको मुख्य प्रशिक्षक हरिओम श्रेष्ठ ताण्डव न्यूजसँग बताए । ‘एक जना मात्र गोल किपर आएको थिए तर सोचे जस्तो खेलेनन,’ उनले भने, ‘फुटबल खेल धेरै हुने पोखराबाट हामीले अपेक्षा गरे अनुसारको खेलाडी पाएका छैनौ ।’

राम्रो खेलाडी उत्पादन गर्न सबै कुराबाट मिल्नुपर्ने श्रेष्ठको भनाई थियो । ‘खेलाडीले मात्र चाहेर हुँदैन प्रशिक्षण पनि उत्तिकै राम्रो दिनुपर्छ र खेलाडीपनि सोही अनुसार लिनुपर्छ,’ उनले भने, ‘अब राज्यले पनि पुरुष खेलाडी सहर महिला खेलाडीमा पनि बराबरी लगानी गर्नुपर्छ ।’

कुन–कुन खेलाडी कुन जिल्लाबाट ?

सरु लिम्बुको कप्तानी (मोरङ)
अञ्जनाराना मगर (रौतहट)
रेविका राई (रौतहट)
उषा नाथ (कैलाली)
निशा थोकर (रौतहट)
सुस्मा महर्जन (काठमाडौं)
रोजिना श्रेष्ठ (रौतहट)
समिक्षा घिमिरे (रौतहट)
बिमला विक (तनहुँ)
पुनम फरसवान (कञ्चनपुर)
कोपिला धिमाल (मोरङ)
पूजा रानामगर (बाँके)
मञ्जलीकुमारी योञ्जन (रौतहट)
सुभद्रा खड्का (काठमाडौं)
अस्मिता वैद्य (रौतहट)
मनिषा राउत (रौतहट)
सुवानी कुसुवार (रौतहट)
सिर्जना सिंह ठकुरी (सुर्खेत)
सम्झना लावती (झापा)
रश्मिकुमारी घिसिङ्ग (रौतहट)
उलिसा जिम्वा (रौतहट)
रेखा पौडेल (इटहरी)
सम्झना शर्मा (सुर्खेत)

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.