
पोखरा
ताण्डव न्यूज ।
गण्डकी प्रदेश र चीनको हाइनान प्रान्तबीच शुक्रबार (भोली) मितेरी साइनो गाँसीने भएको छ । गत असोज ९ गते गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले चीन भ्रमण गर्दै चीनिया टोलीलाई पोखरामा आउन निम्तो दिएका थिए । बिहीबार बसेको गण्डकी प्रदेशको २९ औँ मन्त्रीपरिषदको बैठकले भगिनीसम्बन्ध गाँस्दा गरिने हस्ताक्षर पत्र समेत स्वीकृत गरेको भौतिक पूर्वाधार मन्त्री तथा प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।
‘आज मन्त्रीपरिषदको २९ औँ बैठकमा तीन वटा एजेण्डामा छलफल भयो,’ मन्त्रीपरिषदको बैठक पछि निर्णय सार्वजनिक गर्दै बस्नेतले भने, ‘गण्डकी प्रदेश र मित्रराष्ट चिनको हाइनान प्रान्तबीच भगिनी सम्बन्ध राख्न संलग्न एमओयू स्वीकृत गरी उक्त एमओयूमा प्रदेश सरकारको तर्फबाट हस्ताक्षर गर्ने अधिकारी तोक्ने निर्णय भयो ।’ एमओयू पत्रमा गण्डकी सरकारको तर्फबाट सामाजिक विकास मन्त्री नरदेवी पुन र हाइनान प्रान्तको तर्फबाट उक्त प्रदेशका दोस्रो ब्यक्ति छु जुनले हस्ताक्षर गर्नेछन् । छु जुनकै नेतृत्वमा १५ सदस्यीय चाइनीजहरुको टोली भोली पोखरा आँइपुग्नेछ । दिउँदो ४ बजे मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा खुल्ला कार्यक्रम नै गरेर हस्ताक्षर गरिने बस्नेतले जानकारी दिए । एमओयू पत्र नेपाली, अंग्रेजी र चाइनीज भाषामा तयार पारिएको छ ।

‘एमओयू पत्रमा प्राविधिक शिक्षा, उर्जा, पर्यटन, ब्यापार र वाणिज्य र सांस्कृतिक क्षेत्रमा सहयोग गर्ने विषय उल्लेख गरिएको छ,’ मुख्यमन्त्री तथा मन्त्री परिषदका कार्यालयका सचिब लालमणि ओझाले भने, ‘मुख्यमन्त्रीको चीन भ्रमण पछि यसखाले सम्बन्ध कायम हुन लागेको हो । त्यस्तै भोली नै त्यस्तै पोखरा महानगरपालिका र हाइनान सिटी बीच पनि औपचारिक रुपमा भगिनी सम्बन्ध कायम हुनेछ ।’
हाइनान प्रान्तबाट आउने १५ सदस्यीय टोली मध्ये केही शुक्रबार नै मुस्ताङ जाने कार्यक्रम छ । ‘उनीहरुको विभिन्न शिर्षकमा आफ्नो आफ्नो काम लिएर आएका छन ति मध्ये उर्जाको टोली भोली नै मुस्ताङ जाने कार्यक्रम छ,’ बस्नेतले भने, ‘उनीहरुले त्यहाँ सौर्य उर्जाको विषयमा प्रारम्भीक अध्ययन गर्नेछन् ।’
बिहीबारको बैठले नोभेम्बर २० देखि २९ गते सम्म भारतको नयाँ दिल्लीमा मुख्य न्यायधीवक्ताहरुको भ्रमणका लागि महान्यायधिकबक्ताको कार्यालयले गण्डकी प्रदेशको मुख्य न्यायधिवत्ता छनोट गरेकोले भ्रमण स्वीकृत गरेको छ । त्यस्तै नोभेम्बर २१ देखि २३ सम्म श्रृलंकाको कोलम्बोमा हुने दक्षिण एशियाको जलवायु परिवर्तन सम्बन्धी एकिकृत कानुनको विकास कार्यशाला गोष्ठीमा भाग लिन भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिब शरदचन्द्र श्रेष्ठलाई पठाउने निर्णय गरेको छ । बिहीबारको क्याबिनेट चीनको हाइनान प्रान्तसँगको भगिनीसम्बन्ध विशेष भएको बस्नेतको भनाइ छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।