www.tandavnews.com
Fact ~ In search of truth
Mulberry

सुन्तला खेतीबाट झण्डै ३ लाख आम्दानी

hima aus

 

 

वासुदेव पौडेल

पोखरा ।

Batas

विदेश बसाईको झण्डै २३ वर्षको अनुभव र त्यहाँका भोगाइ सँगालेका स्याङ्जा भिरकोट नगरपालिका–५ स्वरेकका शोभाकान्त पाण्डेले सुन्तलाबाट वार्षिक लगभग दुई लाख ५० हजार रुपैयाँ आम्दानी गर्दै आएका छन् ।

युवावस्थाको १८ वर्ष भारत र पाँच वर्ष साउदीमा रोजगारीमा बिताएका ५३ वर्षीय उनले पछिल्लो १८ वर्षयता भने सुन्तला खेतीसहित अन्य तरकारी फलफूलको उत्पादन एवं गरी बिक्री गर्दै आएका छन् ।

पोखरा सहितको बजारमा अत्यधिक माग हुने गरेको स्वरेकका सुन्तला बिक्रीका लागि विगतमा डोकोमा बोकेर लैजानुपर्ने भए पनि अहिले भने घरघरबाटै बिक्री हुने गरेको उनले बताए । “मेरो बगैँचामा अहिले २ सय ५० बिरुवा छन्, यी सबै फल्यो भने पाँच लाख भन्दा बढी आम्दानी गर्न सक्छु,” उनले भने, “स्वरेक असपासका क्षेत्रमा सुन्तला खेतीको धेरै सम्भावना भए पनि अझै सर्वसाधारण यसतर्फ आकर्षित बनेका छैनन् ।”

प्याराग्लाइडिङको विश्वकपसमेत सम्पन्न भइसकेको स्वरेकलाई नेपाल सरकारले स्थापित तथा प्रर्वद्धन गरिनुपर्ने पर्यटकीय गन्तव्यका सूचीकृत गरेसँगै यसले यहाँका स्थानीयवासीमा ठूलै आशा जगाएको छ ।

classic tech

बढ्दो पर्यटकको आगमनसँगै सुन्तलासहित यहाँ उत्पादित फलफूल तथा तरकारीले यही नै बजार पाउने सम्भावना रहेको उनले बताए । एक छोरा, दुई छोरीका अभिभावक पाण्डेले व्यावसायिक कृषिकै माध्यमबाट परिवारको पालनपोषणका साथै शिक्षादीक्षा गराइसकेका छन । रोजगारीको खोजीमा विदेशिएका युवालाई व्यावसायिक सुन्तला खेतीका साथै अन्य कृषिजन्य उत्पादनले खुशी र सुखी जीवनयापन गर्न सकिने दरिलो प्रेरणाको स्रोत पाण्डे बनेका छन ।

“यहाँ सुन्तला खेतीका साथै कोदो, मकै, भटमास आदिको राम्रो उत्पादन हुन्छ”, उनले थपे, “बाटोको सुविधा समेत भएका कारण उत्पादित वस्तुले बजार पाउँदैन कि भन्ने चिन्ता कति लिनुपर्दैन ।”पाण्डेलाई व्यावसायिक कृषिका लागि श्रीमती नेत्रकुमारी पाण्डेले दैनिक सघाउँदै आएकि छिन्। श्रीमतीको प्रेरणा एवं सहयोगले आफूलाई अझै क्रियाशील बनाउने गरेको अनुभव उनले सुनाए।

उत्पादित सुन्तालाको बजार मूल्य राम्रो भए पनि कृषकले पाउने मूल्य भने निकै कम रहेको कृषकको गुनासो छ । “बजारमा उपभोक्ताले प्रतिकिलो १ सय सम्म तिर्नुपरेको वास्तविकतामा हामीले यहाँबाट प्रतिकिलो २५ देखि ३० रुपैँया मा बेच्नुपरेको छ”, दुःखेसो व्यक्त गर्दै उनले भने, “कृषकले मूल्य पाएका छैनन् नै उपभोक्ता पनि नराम्रोसँग ठगिएका छन् ।” कृषक र उपभोक्ताले सही मूल्य पाउने गरी बजारको व्यवस्थापनमा सरकारको चासो जानु आवश्यक छ ।

स्याङ्जामा सुन्तलाको व्यावसायिक खेतीको विस्तारका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोनसमेत सञ्चालनमा आएको छ । उक्त कार्यालयका अनुसार यसै वर्षको असोज २१ गते परेको असिनाका कारण यस वर्ष स्याङ्जा जिल्लामा लगभग दुई करोडको सुन्तला नष्ट भएको छ ।

प्राकृतिक प्रकोपका कारण कृषकले भोग्नुपर्ने नोक्सानीलाई दृष्टिगत गरी राज्यले उचित राहत दिनुपर्ने कृषक बताउँछन् । स्याङ्जाको स्वरेक पर्यटकीयस्थल मात्र नभई कृषिजन्य उत्पादनका दृष्टिले उर्बर भूमि भएको नमूना स्वरेक सहयोगी समाज स्याङ्जाका अध्यक्ष घनश्याम पाण्डेले बताए

पर्यटकीयस्थल स्वरेकमा सुन्तलालगायतका फलफूल र तरकारी खेतीको पर्याप्त सम्भावना हुने भएकाले यहाँका युवा रोजगारीको खोजीमा विदेशिनु नपर्ने उनले बताए । “युवालाई यहीँ आकर्षित गर्ने सरकारले पनि कार्यक्रम ल्याउनु आवश्यक छ”, उनले भने, “स्वरेकका सुन्तलामा सुनौलो भविष्य छन्, यसको भरपुर उपयोगको वातावरण तयार गरिनुपर्छ ।” रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.