www.tandavnews.com
Fact ~ In search of truth

सिक्लेस पुगेर गिरिजाबाबुलाई प्रचण्डले यसरी सम्झिए

ताण्डव न्यूज, पाेखरा ः   विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पुरा भएको छ । यहि सम्झौताका लागि कास्कीको मादि गाउँपालिका स्थित सिक्लेसले महत्वपूर्ण इतिहास कोरेको छ । जहाँबाट द्धन्द्धको नेतृत्व गरेका प्रचण्ड र सरकारका तत्कालीन गृहमन्त्री कृष्ण प्रसाद सिटौलाको पहिलो औपचारिक भेट गरायो । सोमबार त्यहि सिक्लेस गाउँमा पुगेर प्रचण्ड र सिटौलाले त्यो बेलाको घटना स्मरण गरेका छन् । प्रचण्ड र सिटौला बन्दै गरेको शान्ति स्तम्भको अनावरण गर्न सिक्लेस पुगेका हुन् ।
सिक्लेसबासीलाइ सम्बोधन गर्नेक्रममा प्रचण्डले सबै भन्दा धेरै तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति गिरिजा प्रसाद कोइरालाई सम्झे । शान्ति प्रक्रियाको सबै बेलिविस्तार समेत सुनाए ।
‘पहिलो पटक सिक्लेसमा ठुलो कार्यक्रम गर्नु भन्दा पहिले देशमा बडो सन्त्रासको स्थिती थियो,’ उनले विगत सम्झँदै भने, ‘दिनदिनै कहाँ कतिबेला को–को मारिने हो टुंगो थिएन जतासुकै आतंक थियो । हिँड्न डुल्न सहज थिएन । शहर बजार, गाउँघर आउजाउ गर्न निकै कठिन थियो ।’ देशमा द्धन्द्धको मौकामा फाइदा उठाउनेहरु पनि थुप्रै रहेको उनले सम्झना गरे ।
‘देशमा द्धन्द्धबाट फाइदा उठाएर निरंकुशताको जाँतोमा जनतालाई अझ पिसेर लैजाने दुस्प्रयास भएको थियो,’ उनले भने, ‘अझ त्यतिबेलाका निरंकुशतावालाहरुले राष्ट्रसंघमा गएर नेपालमा आतंकवाद टाउको उठाइरहेको छ । यो आतंकवाद मैले मात्र नियन्त्रण गर्न सक्दछु संसदिय राजनितिक दलहरु असफल भइसके उनीहरुले केही पनि गर्न सक्दैनन् । आतंककारीहरुलाइ ठिक गर्ने मैले हो भनेर त्यति बेलाका कांग्रेस एमाले लगायत सात राजनितिक दलका नेताहरुले भनेका थिए ।’

उनले द्धन्द्धको समय सम्झँदै कोही भूमिगत कोही नगरबन्दमा र कोही गिरफ्तारीमा परेको स्थिती रहेको बताए । ‘म बाहिर थिएँ विद्रोहको नेतृत्व गरिराखेकै थिएँ । म आज के सम्झन चाहन्छु भने शान्ति वार्ता अब आवश्यक भयो भनेर मैले पनि महसुस गरेँ र मैले नेतृत्व गरेको पार्टीले गरेको थियो । तर वातावरण थिएन । सकरात्मक वातावरण बनाउने उदेश्यले मैले एक पक्षिय रुपमा तीन महिना युद्धविराम घोषणा गरेको थिएँ । त्यो कुरा मलाइ अहिले मनमा सम्झना आइरहेको छ ।’
उनले एक पक्षिय रुपमा तीन महिना युद्धविराम गर्नुको कारण पनि सिक्लेस पुगेर खुलासा गरे । ‘त्यो उदेश्य थियो निरंकुश शासकहरुलाई राष्टसंघमा जान रोक्नु, राजनितिक दलहरुलाइ माओवादीसँग वार्ता गर्न सहज वातावरण बनाइदिनु किनकी त्यति बेला आतंककारीसँग वार्ता गर्न सजिलो कुरा थिएन । यो रणनिति अपनाइसकेपछि र वार्ता प्रक्रिया सुरु गर्नु थियो ।’
नेपालको राजनितिमा सधैँ चर्चामा रहने नाम हो गिरिजा प्रसाद । ‘त्यति बेला पुरै संसारलाइ विश्वासमा लिएर छिमेकीले पत्याएको नेताको पनि नेता हुनु थियो’ उनले भने । गिरिजा भन्दा पनि माथीको नेताहुन प्रचण्डलाइ सहज थिएन ।
प्रचण्ड गिरिजाको सक्रियाता देखेर दंग खाएका रहेछन् । ‘केपी, माधव लगायत अरुसँग त कुराकानी भइरहन्थ्यो चासो र चर्चा भइरहन्थ्यो,’ उनले भने, ‘तर गिरिजा ८० वर्षको बुढा सबैले चिनेको, संसारले पत्याएको उहाँसँग भेट गरी शान्ति प्रक्रियामा जानु थियो । गिरिजाबाबुसँग जतिबेला दोस्रो भेट भयो उहाँले मलाइ तपाइँ शान्तिको पक्षमा आउनेकी नआउने भनेर सोध्नु भयो मैले पनि तपाइँ गणतन्त्रको पक्षमा आउनेकी नआउने भनेर सोधेँ उहाँले आउने हो क्या अहिले बाहिर हल्ला गर्न हुन्न भनेपछि हाम्रो कुरा त्यहीँ मिलेको थियो ।’ शान्ति प्रक्रिया सफल हुनुमा गिरिजाको सक्रियता नै प्रमुख रहेको उनले बताए । तत्कालीन समयमा पनि केही नेताहरु शान्तिको प्रक्रियामा नरहेको उनको आरोप छ । ‘केही शान्ति प्रक्रिया पक्षमा थिएनन् । गिरीजाको नेतृत्वको केपी माधवको सक्रियताले अघि बढ्यो । यसमा सिटौला जिले मलजल गर्नु भएको हो ।’

सरकार र माओवादीको पक्षमा शान्ति प्रक्रियाको लागि पहिलो पटक सिक्लेसमा वार्ता भएको थियो । वार्ताको लागि सरकारको पक्षबाट तत्कालीन गृहमन्त्री कृष्ण प्रसाद सिटौला सिक्लेस पुगेका थिए । उनको साथमा कांग्रेसका नेता शेखर कोइराला मात्र थिए । ‘सिक्लेसमा गृहमन्त्रीको पदमात्र दाउमा राखेर हैन ज्यान पनि जान सक्थ्यो,’ प्रचण्डले सिटौलासँग भएको भेटबारे स्मरण गर्दै भने, ‘हामी सिक्लेसमा जनमुत्ति सेनाको विशाल घेरा भित्र थियौँ । हामीसँग अत्याधुनिक हतियार थियो । थोरै गढबढ हुनेविवत्तिकै उहाँ मारिन पनि सक्नु हुन्थ्यो । तर उहाँ जोखिम मोलेरै सेना पुलिस केही नबोकी शेखर कोइराला बोकेर एक्लै आउनु भयो । उहाँको त्यो साहस गिरीजाको भरोसा र आफ्नै बुझाइले पनि त्यो सम्भव भएको थियो ।’
प्रचण्डले गिरिजाको सक्रियता र शाहसको खुलेरै प्रशंसा गरे । ‘हामी अझै ढुक्क भएर बस्न सक्दैनौँ । किन भने गिरिजाबाबु हामीसँग हुनुहुन्न । त्यस्तो टावरिङ प्रशान्ती हामीसँग छैन,’ उनले भने, ‘अहिले हामी छौँ, दुइ तिहाइ बहुमत छ सरकार छ । प्रदेश सरकार, स्थानीय सरकार पनि छ । औपचारिक ढंगले हामीसँग सबै छ ।’ उनले तराइमा विखण्डनकारी र संविधान कार्यान्वयनमा वाधा पु¥याउने शक्तिहरु अहिले सल्बलाइरहेको समेत बताए । उनले भने, ‘अहिले पनि तराइँमा एक थरी विखण्डनकारीले जनतालाई भड्काउने अनि पहाडमा अतिवाद फैलाउन सकिन्छ कि भनेर हिजो दरबारबाट निस्केकाहरु मलजल गरिरहेको देखेका छौँ ।’
त्यहि शान्ति सम्झौतालाई इतिहासम्म चिनाइराख्न अहिले सिक्लेसबासीले शान्ति स्तम्भ निर्माणको काम सुरु गरेका छन् । नेपालमा शान्ति स्थापनामा महत्वपूर्ण भूमिका खेलेका मध्ये दुई प्रचण्ड र सिटौलाले सोमबार स्तम्भको अनावरण पनि गरे ।
‘सिक्लेसबासी सबैलाइ धन्यावाद दिन्छु । यो विर्षन सक्दिन । १२ वर्ष वित्यो सिक्लेसमा हामी आएर शान्ति प्रक्रियाको एउटा महत्व पूर्ण पक्षको थालनी गरेको,’ उने भने, ‘सायद तपाइँहरुले यसको परिघटनाई अविस्मरणिय बनाउन पनि धेरै नै महत्व दिनु भएको रहेछ । शान्तिको प्रतिकको रुपमा सिक्लेसलाई स्थापना गर्नु भएको रहेछ । सिक्लेस इतिहास, सांस्कृतिक, पर्यटिकय महत्वले, शान्ति प्रक्रियाले विशिष्ट बनेको छ ।’ उनले जनआन्दोलन, शान्ति सम्झौता, सेना समायोजन, हतियार ब्यवस्थापन र सिक्लेस सारा विश्वले अध्ययन गर्न थालेको बताए ।
आजसम्म पनि पोखरा देखि सिक्लेस जोड्ने मोटरबाटो पक्की नभएको देखेर प्रचण्ड दंग परे । ‘पोखराबाट गाडीमा आयौँ । मोटरबाटो कच्ची रहेछ यहाँ आउन हामीलाई साँढे तीन घण्टा लाग्यो,’ बाटोको स्थिती देखेपछि उनले भने, ‘बाटोको डिपीआर भएको रहेछ । म पार्टीको अध्ययक्षको हैसियतले नेपाल सरकारको पनि एक जिम्मेवारी ब्यक्ति भएको हैसियतले बजेट हाल्ने विश्वास तपाइँहरु माझ गराउँछु । अर्काे पटक सिक्लेस ४० मिनेट ५० मिनेटमा आउने बाटो हुनेछ ।’

Batas

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.