www.tandavnews.com
Fact ~ In search of truth

बिचल्ली बालकको व्यथा

सञ्जय रेग्मी
पर्वत, ताण्डव न्यूज ।  

‘यो भगवान् सगवान् भन्ने केही छ जस्तो नै लाग्दैन सर आजभोलि । छ भने म मर्ने बेला हुन लागेकी यो बुढीलाई यतिभाँती किन रुवाउनु पर्ने थियो ? म यसै दरिद्रीलाई झनै दरिद्र नबनाएको भए हुने नि ।’

पर्वतको कुश्मा नगरपालिका– ९ कटुवाचौपारीस्थित छेउखन्नकी गौमती परियारको भनाई हो यो । उनले यति बोल्दै आँखाभरि आँसु टिलपिल भइसकेका थिए । एकै छिनमा रोक्न सकिनन्, डाँको छोडेर रोइन्, कपालमा ढाकेको च्यातिएको पछ्यौरी निकालिन् र मुख ढाक्दै झनै चर्कोसँग रोइन् ।

उनको परिवारको पीडा देख्दा भगवान्ले पनि अन्याय गरेकै जस्तो लाग्छ जो कोहीलाई । परिवारमा ३ नातिहरु, श्रीमान् र श्रीमती गरेर अहिले ५ जना सदस्य छन् । यो ५ जनाको परिवार उमेरले ७० वर्ष पुगेका गौमतीका श्रीमान् केदारको पाखुरीको भरमा जसोतसो भोक मारेर जिन्दगी कटिरहेको छ । केदार काम खोजीमा बिहानै सातै बजे घरबाट निस्कन्छन् । बुढेसकालको शरीर बलियो काम के गर्न सक्थ्यो ? जति सक्यो त्यतिको केही पैसा आउँछ, त्यसले नै घरखर्ची चलेको छ ।

तर, गौमती रुनुको कारण भने श्रीमान्ले गरेको दुःख देखेर होइन । बाबाआमा बिहीन बनेर बिचल्लीमा परेका ३ जना नातिहरुलाई देखेर हो । उनको साथमा १५ वर्षीय विशाल परियार, १४ वर्षीय विवेक परियार र १२ वर्षीय विश्वास परियार छन् ।

गौमतीकी जेठी बुहारी अर्थात् विशाल र विश्वासकी आमा सावित्राले ४ वर्ष अगाडि अर्कैसँग भागेर विवाह गरिन् । त्यसको २ वर्षपछि कान्छी बुहारी विवेककी आमा देवीले पनि २ वर्षअघि उनीहरुलाई छोडेर अरुसँगै घरबार बसाइन् ।

गत वर्ष यी तिनै जनाका बुवा अर्थात् गौमतीका छोरा धनबहादुरको पनि निधन भयो । धनबहादुर दुई वटा विवाह गरे, सौताका बीचमा झगडा सुरु भयो यही कारण जेठी श्रीमती अरुसँगै लागिन् । कान्छी श्रीमतीले पनि छोरा र श्रीमानको माया मारेर अरुसँगै कुलेलाम ठोकिन् ।

गौमती उमेरले ५७ वर्ष पुगेकी छन् । उनलाई अल्सरले निकै कमजोर पारेको छ । उनका श्रीमान केदार पनि दमका रोगी छन्, तर यही चिसोमा काम खोज्दै हिँड्छन् । केदार दिनभर सक्दो काममा हुन्छन् भने गौमती हरेक दिनजसो सरकारी कार्यालयदेखि संघ संस्थाको दैलोमा सहयोगको भिक्षा माग्दै रुँदै गर्छिन् ।

माग्दै जाँदा उनलाई कुश्मा नगरपालिकाको कार्यालयले केही समय पहिले १० हजार रुपैयाँ सहयोग गरेको थियो । तर धनबहादुरको निधनपछिको ऋण तिर्न ठिक्क भएपछि त्यो पैसा उनले नातिहरुका लागि खर्च गर्न पाइनन् ।

धनबहादुर बाँसले बनाएको छाप्रोमा बस्दै आएका थिए । अहिले त्यही छाप्रो पनि भत्किसकेको छ । बुबा र आमा दुवै जना नहुँदा बिचल्लीमा परेका तिनै जना दाजुभाइ अहिले हजुरआमा गौमतीकोमा बसिरहेका छन् । तर हजुरआमाको कथा पनि उस्तै छ । धनसम्पत्ति केही छैन, बिहान बेलुकाको गर्जो टार्न सकिने अवस्थासमेत छैन । घर जग्गाबिहीन उनीहरुको साथमा न त कमाएर खाने जग्गा छ, न त काम गरेर कमाउने उमेर नै छ ।

जाडोमा ओड्ने र ओछ्याउनका लागि एकसरो कपडा बाहेक केही छैन । गर्मी होस् वा जाडो, घर होस् वा पर, जहाँ भए पनि उनीहरुले लगाउने कपडा च्यातिएका र प्रायः एकैथरी छन् । खानका लागि नुन किन्ने पैसासम्म नभएको बेलामा न्यानो र नयाँ कपडा त उनीहरुका लागि कल्पना मात्र हो ।

‘राति जाडो हुन्छ, सिरक छैनन् । पुराना कपडा छेउलोमा राखेर बाहिरैबाट सिलाएको छ, त्यत्ति हो,’ गौमतीका नाति विशाल भन्छन्, ‘स्कुल जाँदा लगाउने कपडा पनि छैन, घर बस्दा र स्कुल जाँदा नी यही एउटै पाइन्ट लगाउँछु । यही पनि च्यातिएको छ ।’

यी तीन दाजुभाइलाई फाटेका कपडा भन्दा सपनामा आउने बुबाको कुराले उत्तिकै सताउँछ ।

आमाहरु त उनीहरुको माया मारेरै अरुसँगै गएका कारण खासै सम्झन मन नलाग्ने बताउँदै धनबहादुरका जेठा छोरा विशाल भन्छन्, ‘बाबा सपनामा आउनुहुन्छ, छोरा भाइहरुलाई कुट्न हुन्न, राम्रोसँग पढ्नु भन्नुहुन्छ अनि उत्तिखेरै हराउनुहुन्छ ।’ बेलुका खाना खाएर सुतेका धनबहादुर केही वर्षपहिल्यै बिहान मृत भेटिएका थिए । यो घटनाबाट गौमतीको परिवार विक्षिप्त बनेको छ ।

Lama collectio News Middle

कान्छा विवेक भन्छन्, ‘बाबालाई रातिमा देख्छु, घर (हातले देखाउँदै) उता पट्टीको बाटोमा हिँड्नुहुन्छ, कालो पाइन्ट लगाउनुभएको थियो । तिमी ‘सर’ बन्नुपर्छ त्यही भएर राम्ररी पढ है भन्नुभयो ।’ बुबाका बारेमा बोल्ने बेलामा तिनै जना दाजुभाइले तप्पतप्प आँशुका ढिका खसालिरहेका थिए ।

 

१५ वर्षीय विशाल कक्षा ९ मा, १४ वर्षीय विवेक कक्षा ७ मा र १२ वर्षीय विश्वास अहिले कक्षा १ मा अध्ययनरत छन् । उनीहरुका सपना शिक्षक र प्रहरी बन्ने छ । भविष्यका शिक्षक र प्रहरी हुनेहरु अहिले न त पेटभर खान पाउँछन्, न त पुसको जाडोमा आङ ढाकिने गरी सिरक नै ओड्न पाउँछन् ।

यी तिनै जना दाजुभाइले बाबा र आमाको माया नपाएका भएपनि उनीहरु केही सम्भावना बोकेका देखिन्छन् । मिजासिला स्वभाव र संस्कारी देखिने उनीहरु राम्रो मान्छे बन्न पाए बुबाको सपना पूरा हुने तथा हजुरबुबा र हजुरआमाले अहिले पाएको दुःखको ऋण तिर्न सक्ने बताउँछन् ।

प्रमुख जिल्ला अधिकारीबाट पहल

पर्वतमा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल सरुवा भएर आएपछि भने बालकहरुलाई केही राहत मिलेको छ । प्रमुख जिल्ला अधिकारी ढकालले उक्त परिवारको राहतका लागि पहल गर्दै आएका छन् ।

गत वैशाखमा सरुवा भएर आएका ढकालले गत जेठ महिनामै बालकहरुको हेरचाह, पालनपोषण र शिक्षादीक्षाका लागि पहल गरेपछि अहिले नियमित रुपमा मासिक ६ हजार रुपैयाँ परिवारले पाउने गरेका छन् । स्थानीय वडाको सिफारिका आधारमा प्रमुख जिल्ला अधिकारी ढकालले एओएस् सामाजिक सेवा केन्द्र गण्डकीलाई पत्राचार गरेपछि अहिले उक्त संस्थाले तीन बालकका लागि मासिक २/२ हजार रुपैयाँका दरले सहयोग गर्दै आएको छ ।

यो परिवारलाई गत असार महिनादेखिनै मासिक ६ हजार रुपैयाँका दरले हालसम्म ४२ हजार रुपैयाँ बुझिसकेका छन् । उक्त रकम आउन थालेपछि भने नातिहरुलाई नियमित रुपमा दाल र भात खुवाउन पुगेको गौमतीले बताएकी छन् ।

गतिलो लुगा लगाउन, ओढ्ने, ओछ्याउने कपडा किन्न नपुगे पनि बिहान बेलुकाको छाक टार्न र कलम कापी किन्नका लागि निर्वाह भएको गौमतीले जानकारी दिइन ।

‘नातीहरुलाई पढाउनका लागि कुनै संस्था वा निकायले सहयोग गरेमा उच्च शिक्षा हाँसिल गरेर राम्रो मान्छे बन्ने थिएकी भन्ने आशा गरेका छौँ,’ गौमती भन्छिन्, ‘यही सहयोग पनि सिडियो सरले मिलाइदिनुभयो, हामीलाई भगवान् आएझै भएको छ ।’

प्रमुख जिल्ला अधिकारी ढकालले बालबालिकाको भविष्य राम्रो बनाउनका लागि आफूले सहयोगी निकायहरु खोजी गरेको बताए । उनले बालकहरुलाई पठनपाठन गराउने र परिवारका लागि नियमित सहयोग गर्ने सहयोगी निकायको खोजी आफूले निरन्तर रुपमा गरिरहेको जानकारी दिए ।

यो परिवारको सहयोगका लागि स्थानीयबासीले पनि विभिन्न खालका सहयोग नगरेका भने होइनन् । बालबालिकाहरुको संरक्षक जस्तै बन्दै आएका स्थानीय समाजसेवी विष्णु अधिकारीले परिवारको लालनपालनका लागि विभिन्न ठाउँमा सहयोगका लागि अनुरोध गर्दै आएका छन् ।

अधिकारी भन्छन्, ‘यो अवस्थाका बालकहरुलाई सहयोग गर्नुपर्छ भनेर धेरै ठाउँमा भनेको छु, धेरैबाट सहयोगको आश्वासन आएको छ, तर प्रमुख जिल्ला अधिकारीको पहलपछि जे भयो त्यहाँ बाहेक अरु केही पनि सहयोग हुन सकेको छैन ।’ अधिकारीजस्तै स्थानीय अरु केही व्यक्तिले पनि उनीहरुलाई सहयोग जुटाउनको लागि आपूmहरुले प्रयास गरिरहेको बताएका छन् ।

बालकहरुको समस्याको बारेमा जानकारी गराएपछि कुश्मा नगर कार्यपालिका अन्तर्गत नगर शिक्षा शाखाका शाखा अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले आपूmले उक्त बालबालिकाहरुको लागि केही न केही सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनी भन्छन्, ‘नगरपालिकाको तर्पmबाट होइन मेरो व्यक्तिगततर्पmबाट दुई तीन दिनमा नै केही स्टेशनरी सामग्री, खाद्यान्न र लुगा सहयोग गर्ने योजना बनाएको छु ।

उनीहरुको अवस्था सुन्दा मेरो पनि आँखा रसाएको छ ।’

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery