गोरखा ।
गोरखा गण्डकी गाउँपालिकामा घर बनाउन प्रदान गरिएको डकर्मी तालीमबाट विपन्न परिवारले भने भूकम्प प्रतिरोधी घर पाएका छन् ।

गाउँपालिका वडा नम्बर १, २ र ६ मा भूकम्प प्रतिरोधी घर बनाउन प्रदान गरिएको डकर्मी तालीमबाट अतिविपन्न परिवारका लागि भने बास बस्ने घर बनेको हो ।
तालीम दिँदै गर्दा वडा कार्यालयले छनोट गरेको अतिविपन्न परिवारका लागि दुई कोठे भवनसमेत निर्माण भएको वडा नम्बर २ का वडाध्यक्ष गिरबहादुर गुरुङले जानकारी दिए ।
आवास निर्माण परियोजनाले त्यहाँका १६ स्थानीयवासीलाई तालीम प्रदान गरेको थियो । “स्थानीयवासीलाई भूकम्प प्रतिरोधी घर बनाउनका लागि सीप सिक्ने अवसर पनि भयो, त्यही अवसरको सदुपयोग गर्दा घर नै बनाउन नसक्ने भूकम्पपीडितका लागि घर पनि भयो” उनले भने । दक्ष प्राविधिकले प्रदान गरेको तालीमसँगै वडा कार्यालयले छनोट गरेका तीन जना अतिविपन्न एकल महिलाका लागि घर निर्माण भएको परियोजनाका टोलीका संयोजक इञ्जिनीयर विकास न्यौपानेले बताए।
वडाले लाभग्राहीको सूचीमा परेर पनि घर बनाउनै नसक्ने अवस्थाका भूकम्पपीडितको घर निर्माणका लागि प्रस्ताव गरेका थियो । सो अवसरमा दक्ष प्राविधिकबाट तालीम प्रदान गर्दा विपन्न लाभग्राहीका लागि पुनःनिर्माण प्राधिकरणकोे मापदण्डअनुसार घर पनि निर्माण भएको इञ्जिनीयर न्यौपानेको भनाइ छ । तालीमसँगै वडा नम्बर–२ की ७० वर्षीया दिलकुमारी गुरुङ, ७४ वर्षीया खिनमाया गुरुङ र ६० वर्षीया मनमाया गुरुङको घर निर्माण भएको उनले बताए ।
तालीममा सहभागीलाई दैनिक ५०० आवातजावत खर्चसमेत दिएर तालीम दिइएको संयोजक न्यौपानले बताए । “वडा कार्यालयले सिफारिस गर्नुभएका लाभग्राही सबै अतिविपन्न एकल महिला हुनुहुँदो रहेछ”, उनले भने, “हामीले दक्ष जनशक्ति उत्पादनसँगै घर बनाउनै नसक्नेलाई सहयोग पनि होस् भनेर यसो गरेका हौँ।”
कम खर्चमा जस्ता तार प्रविधिमा कसरी भूकम्प प्रतिरोधी घर निर्माण गर्न भन्ने जानकारी दिन परियोजनाले डकर्मी तालीम प्रदान गर्दै आएको छ । “घर बनाउन सक्ने अवस्थानै नरहेपछि उनीहरुले सम्झौतासमेत गरेका रहेनछन्”, इञ्जिनीयर न्यौपानले भने, “हामीले सम्झाएर घर निर्माण गरिदिने प्रतिबद्धता जनाएपछि बल्ल उनीहरु सम्झौता गर्न तयार भएको हो ।”
जस्ता तार प्रविधिअन्तर्गत पुराना सामग्रीको प्रयोग गरेर थोरै खर्चमा घर निर्माण गर्न सकिने भएकाले थोरै सहयोगबाट पनि विपन्न परिवारले नयाँ घरमा बस्न पाएको इञ्जिनीयर अन्जन श्रेष्ठको भनाइ छ । “यो थोरै लागतमा घर बनाउने प्रविधि हो, उनले भने, “यो प्रविधिबाट घर बनाउन तालीम दिँदा कम खर्चमा भूकम्प प्रतिरोधी घर बनाउन चाहानेका लागि पनि सजिलो हुन्छ ।” रासस
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.