www.tandavnews.com
Fact ~ In search of truth

दाइ इकोन दिनुहोस् न !

 

 

 

 


सन्तोष सुवेदी

पोखरा, ताण्डव न्यूज ।

एक साता अघि पोखराको व्यस्त बजार महेन्द्रपुलको एक औषधि पसलमा दुई युवती गफिँदै आए । दुई मध्ये एक युवतीले पसलेसँगै भनिन्, ‘दाइ इकोन दिनुहोस् न ?’ पसलेले इकोन दिए । उनले पानी पनि मागिन् र त्यही इकोन झिकेर खाइन् । उनको साथमा आएका अर्की युवती निकै असहज मान्दै हेरिरहिन् । औषधि खाएपछि सँगै आएको साथीतर्फ फर्कदै भनिन्, ‘बल्ल ढुक्क भयो ।’

Batas

पसलेले उनीहरुको संवाद सुने पनि खासै नौलो मानेनन् । किनकि यसअघि उनले इकोन किन्न आउने युवायुवतीको बारेमा बुझेका थिए । औषधि बेचिरहेका थिए ।

नीति नियम मेडिकलका सञ्चालक धुव्र शर्माका अनुसार १६ वर्षदेखि २५ वर्ष उमेर समूहका युवायुवतीहरु इकोनको प्रयोग बढी मात्रामा गर्छन् ।

‘कति त कलेज ड्रेसमै आएर सिधै इकोन माग्ने गर्छन् ,’ उनले भने, ‘कतिपय लाजले पनि हुन सक्छ माक्स लगाएर आउने गर्छन् । इकोन किन्नको लागि युवाहरु पनि आउने गरेको पाइन्छ ।’ इकोन किन्नको लागि पसलमा पुरुष महिला जो भएपनि लाज नमानी, खुलम खुल्ला माग्ने गरेको उनले सुनाए ।

‘कहिलेकाँही त छक्क परिन्छ । सिधै आउँछन् आत्तिए झै गरी औषधि किनेर पानी मागेर खाइहाल्छन्,’ उनले भने, ‘भोलि यसको समस्या के पर्ला भनेर नबुझी हतारमा खानेको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ । खासमा प्रयोग गर्ने यो औषधि हुँदै होइन । सजिलोको लागि अपनाए पनि त्यति नै असर पुग्ने गर्छ ।’

एक स्रोतका अनुसार कपितय होटेल सञ्चालकहरुले नै कन्डम र इकोन जस्ता औषधि किनेर राख्ने गरेको पाइएको छ ।

इकोनको व्यापार

इकोन अविवाहित, किशोरी, युवतीहरुमाझ लोकप्रिय छ । यौनसम्पर्क गर्दा असुरक्षित गर्ने र पछि सुरक्षाका लागि इकोन सेवन गर्नेहरु धेरै छन् । औषधि पसलहरुमा गर्भनिरोधक औषधिहरु बढी बिक्री हुन्छन् ।

इकोन किशोरीहरुमाझ लोकप्रिय छ । शर्माका अनुसार दैनिक रुपमा ८ देखि १० ट्याव्लेट बिक्री हुने गरेको छ । यो सङ्ख्या बिदाको दिनमा बढ्ने उनले बताए ।

‘प्रायः साँझमा किन्न आउने बढी हुन्छन् । त्यसको अलावा बिदाको दिन बढी बिक्री हुन्छ,’ उनले भने, ‘होटेल नजिकको औषधि पसलहरुमा बढी बिक्री हुने गर्दछ । ’ औषधि खान सजिलो मानिदिँदा कन्डमको व्यापार कम हुने गरेको उनले सुनाए । ‘सहजै किन्न पाइने, यौन सम्पर्कको बेला कन्डम प्रयोग गर्न झन्झट मान्नेहरुले इकोन रोज्ने गर्छन्,’ उनले भने, ‘इकोनबाहेक म्याक्स सेभेन्टी टु, अनवान्टेड, ई सेभेन्टी टु, पिल्स लगाएतका चक्कीहरुको बिक्री बढी हुने गर्छ ।’

चिकित्सकहरुले चक्की भन्दा कन्डम सुरक्षित र भरपर्दो भनिरहँदा पनि गर्भनिरोधक चक्कीको व्यापार बढेको केही औषधि पसलको बिक्रीको रेकर्डले प्रस्टाउँछ । स्वास्थ्यकर्मी विकास नेपालीका अनुसार आकस्मिक गर्भनिरोधक चक्की विवाहित महिला भन्दा अविवाहित युवतीले बढी प्रयोग हुने गरेको पाइन्छ । उनले नबुझी औषधिको प्रयोग गरेर पछि पीडित बनेर चेकअपको लागि आउने गरेको बताए ।

कास्कीमा इकोनको बिक्री

औषधि व्यवसायी संघ कास्कीमा झन्डै ४ सय औषधि पसल दर्ता छन् । पोखरा भ्यालीमा मात्र २ सय औषधि पसल सञ्चालनमा छन् । त्यही पसलको आधार मानेर हेर्ने हो भने पनि दैनिक ३ हजार ट्याब्लेट खपत हुने देखिन्छ ।

‘एउटा मेडिकलबाट दैनिक १० देखि १२ ट्याव्लेट बिक्रीको आँकलन गर्दा धेरै नै खपत हुने देखियो,’ संघको पूर्व सदस्य समेत रहेका धुव्र शर्माले, ‘युवायुवतीको चाहना नै कन्डम भन्दा औषधिमा बढी हुँदा यसको व्यापार बढेको छ ।’ उनका अनुसार बढी चहलपहल हुने क्षेत्र महेन्द्रपुल, बसपार्क, लेकसाइड जस्ता एरियामा यसको व्यापार अझ बढी हुने गरेको छ ।

गर्भनिरोधक चक्की

युवायुवतीको भाषामा यसलाई इकोन भन्दा पनि ७२ घण्टे औषधि भनेर परिचित छ । युवतीहरुले मज्जैले प्रयोग गर्ने यो औषधिको चिकित्सकका अनुसार यो चक्की शतप्रतिशत गर्भ रोक्ने ग्यारेन्टी हुँदैन् । विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ को अनुसन्धानअनुसार इमरजेन्सी कन्ट्रासेप्टिभ पिल्स इसीपीको प्रभावकारिता ५२ देखि ९६ प्रतिशतसम्म मात्रै हो ।

विशेषगरी ७२ घण्टासम्म यसले राम्रोसँग काम गर्ने र त्यसपछि यसै भन्न नसकिने विश्व स्वास्थ्य संगठनको अध्ययनमा देखाइएको छ । औषधिका रूपमा लिभोनोरजेस्ट्रेल र युलिप्रिस्टललाई मान्यता दिएको छ । यो चक्की असुरक्षित यौन सम्बन्धको पाँच दिन अर्थात् एक सय २० घन्टाभित्र खाइसक्नुपर्ने हुन्छ । यो हर्मोनले महिलाको डिम्बाशयबाट निस्कने डिम्बलाई रोक्छ ।

डिम्ब निस्किसकेको छ भने शुक्रकीटसँग सेचन भई भु्रण बन्न दिँदैन । र, भु्रण समेत बनिसकेको छ भने पाठेघरमा टाँसिन दिँदैन । सेचन भइसकेको भए पनि भु्रण बन्न ७२ घण्टा लाग्ने भएकाले यसलाई ७२ घण्टे चक्की पनि भनिएको हो ।

चक्की थरिथरिका

युवायुवतीमा बढी चलेको औषधि इकोन भएपनि यसको अलावा अन्य औषधि पनि थुप्रै मात्रामा पाइन्छन् । जस्तो, आइपिल, म्याक्स७२, अनवान्टेड, पोस्टिनोर लगायत । प्रायः जसो सबैले इकोन नामले चिन्ने आकस्मिक गर्भनिरोधक चक्की अहिले महिलाहरु माझ लोकप्रिय भएको छ ।

यौनसम्पर्कमा संलग्न युवतीले खाने यस्ता चक्कीले आफूले नचाहेको समयमा बच्चा नजन्माउनका लागि मद्दत पनि गरिरहेका छन् । बजारमा ५० देखि १ सय ५० रुपैंयाँसम्म पर्ने यस्ता चक्कीको माग बढ्दै गएको औषधि व्यवसायीहरू बताउँछन् । कुनै पनि गर्भनिरोधक साधनहरुले १०० प्रतिशत गर्भनिरोधको ग्यारेन्टी दिँदैन त्यसैगरी यी आकस्मिक गर्भनिरोधक चक्कीहरुको पनि पूरै ग्यारेन्टी भने नहुने चिकित्सकहरु बताउँछन् ।

कति सुरक्षित ?

आकस्मिक गर्भनिरोधक चक्कीको काम गर्भनिरोधक गर्ने मात्र हुन्छ । आकस्मिक रुपमै यसको प्रयोग गरेमा यसका सामान्य र तत्कालीन असर बाहेक अन्य खतरा नहुने चिकित्सकहरु बताउँछन् । यसको दुरुपयोग गरे, नियमित उपयोग गरे स्वास्थ्य सम्बन्धी जटिलता देखिन सक्ने खतरा हुने उनीहरु भनाइ छ ।

जस्तो कतिपय अवस्थामा कण्डमले यौन रोगहरु सर्ने खतरालाई कम गरिरहेको हुन्छ भने यस्ता आकस्मिक गर्भनिरोधक चक्कीहरुले त्यसमा कुनै भूमिका निर्वाह गर्दैनन् । यस्ता चक्कीले एचआइभी र एड्स जस्ता यौन संक्रमणबाट जोगाउँदैनन् ।

यो चक्की आकस्मिक परिस्थितिमा भएको यौनसम्पर्कबाट हुनसक्ने गर्भधारणबाट बच्ने एउटा उपाय मात्र हो । यसको नियमित उपयोगले शरीरमा हार्मोनको स्तरमा वृद्घि भई स्टेराइड सम्बन्धी जटिलता देखिनुका साथै यसको नियमित उपयोगले हाड खिइने, क्यान्सरको, मुटु रोगको सम्भावना बढाउने र शरीरको प्रतिरोधात्मक क्षमता कमजोर हुँदै जान्छ ।

कहाँ बन्छ ?

यो नेपाली प्रोडक्ट हो । नेपाल सिआरएस कम्पनीले यसको उत्पादन गर्ने गर्छ । यस कम्पनीले यसबाहेक यौनजन्य रोग, परिवार नियोजन लगायतका विषयमा जनचेतना फैलाउने काम गर्छ । ‘सोसियल हर्ट विथ बिजनेस माइन्ड’लाई आधारभूत सिद्धान्त बनाएर ४० वर्षदेखि नेपालका दुर्गम क्षेत्रमा यी विभिन्न स्वास्थ्य सामग्री सिआरएसले पु¥याइरहेको छ ।

हालसम्म सिआरएसले पिल्स २६ करोड ८८ लाख ८ हजार ४ सय २४, संगिनी ८५ लाख ८० हजार ९२, आइयुसिडी ३५ हजार ९ सय ६२, इम्प्लान्ट १८ ४ सय ८२ र इकोन ३७ लाख २१ हजार ७ सय २० बिक्री–वितरण गरिसकेको छ ।

‘स्वास्थ्यकर्मीको सल्लाह लिऔँ’

निरजकुमार दुवे
प्रसुति तथा स्त्री रोग विशेषज्ञ

के हो गर्भनिरोधक इकोन चक्की ?

यो नेपालको सिआएस कम्पनीले उत्पादन गरेको चक्की हो । यसको प्रवद्र्धन त्यहीबाट भएर पसलहरुमा बाँडिएको छ । यो गर्भनिरोधक चक्की हो । असुरक्षित यौनसम्पर्क पछि बच्चा बस्ने सम्भावना छ भने पुस्तक अनुसार ५ दिनभित्र प्रयोग गर्दा बच्चा बस्नबाट रोक्छ । तर, यो गर्भनिरोधक चक्कीको व्यापक प्रचार भइरहेको छ कि डाक्टरहरु अर्थात् स्वास्थ्यकर्मीलाई नसोधी खाने गरेको पाइन्छ । अन्य देशमा यस्तो भयो भने युथ आउट डाक्टर खान मिल्दैनथ्यो । तर, यहाँ ओभर काउन्टर भइसक्यो ।

इकोन औषधिको समस्या के छन् ?

महिलाहरुलाई यो थाहा छैन कि यसको साइड इफेक्ट के छ ? के हुन सक्छ, के हुन सक्दैन, के समस्या पर्न सक्छ भन्ने बारेमा अनविज्ञ छन् । यसरी नबुझी खाँदाखेरि साइड इफेक्टबाट पीडित भएर बिरामी आउँछन् । त्यसलाई सपार्न अल्ली गाह्रो हुन्छ ।

कसैको काउन्सिल बिना यसै औषधिको प्रयोग भयो भने, कसैलाई वाकवाकी हुन्छ, रक्तश्राप, कसैको खेर नगई बच्चै रहन्छ, बच्चा रह्यो भने पनि अपाङ्ग हुन सक्छन्, बाँझोपना हुने गर्छ । अधिकांश बिरामीले भन्दैनन्, यदि विवाहित भए भन्छन् तर, बिहे नभएकोले भन्दैन । उनीहरुले सिधै समस्या लिएर आउँछन् ।

रियल इसु नभन्दिँदा हामी उपचार गर्नेलाई पनि अप्ठ्यारो हुने गर्छ । इकोन औषधि बजारमा आइसकेको छ । तर हामी के भन्छौं भने प्रयोग गरेपनि डाक्टरको सल्लाह बमोजिम गर्न सुझाव दिन्छौं ।

यो औषधि कति मात्रामा प्रयोग गर्दा असर नपर्ने हुन्छ ?

स्वास्थ्य सम्बन्धी पुस्तकले के भन्छ भने, कन्डम जति प्रयोग गर्दा पनि केही फरक पर्दैन । यो पनि प्रयोग गरे हुन्छ तर, यो औषधि हो । त्यस्तो औषधि व्यर्थै प्रयोग गरेर फाइदा हुँदैन । लिमिटेड मात्रामा प्रयोग गर्नुपर्छ । स्वाथ्यकर्मीको निगरानीमा गर्दाखेरि खासै असर नपर्ने हुन्छ ।

इकोनको प्रयोग धेरै बढेको छ । यसले भोलिको दिनमा कस्तो रुप लिन सक्छ ? र, यो प्रयोग गर्नेहरुलाई सुझाव के दिनु हुन्छ ?

यसले एकदम बिकराल रुप लिन्छ । मान्छेले भन्ने गर्छन्, तिन महिने सुई, कपर्टी, चक्की बिहे भएपछि मात्र खानु पर्छ । त्यो होइन, यो जुनसुकै महिला सेक्सुयलमा एक्टिभ छ भने बिहे भएको होस् वा नभएको होस् यो साधन अपनाउन मिल्छ ।

हामीकोमा बिहे भयो भने तीन महिने सुई लगाउने, कपर्टी लगाउने भन्ने हुन्छ । सेक्सुयल क्रियाकलाप बिहे अगाडि नै हुन्छ भने प्रयोग गर्दा हुन्छ ।

त्यही पनि यो कन्डम फुटेको अवस्थामा, लगाउन बिर्से प्रयोग हुने चिज हो । गर्भनिरोधक रेगुलर खानु हुँदैन । नियमित सम्पर्क भइहाल्यो भने यो औषधि खाने गरेको पाइन्छ । त्यो राम्रो होइन् । यो औषधि सिटामोल जस्तो भएको छ । आफ्नो खुसीले सल्लाह बिना नै खाइहाल्ने । यो औषधि फाइदा हुने भन्ने होइन । सरकारको नीति एकदम क्लियर छ ।

जुन बेला बच्चा चाँहिदैन नि त्यो बेला परिवार नियोजनको साधन प्रयोग गर्नुहोस् । आक्कलझुक्कल कथमकदाचित गल्ती भएछ भने यो औषधि प्रयोग गर्ने हो नियमित होइन ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.