www.tandavnews.com
Fact ~ In search of truth

बागलुङका सात गाउँपालिका भाडाकै घरमा

बलेवा ।
बागलुङ जिल्लामा रहेका १० स्थानीय तहमध्ये सातले भाडाका घरमा सञ्चालित छन् । तीमध्ये बागलुङ नगरपालिका, ताराखोला र तमानखोला गाउँपालिकाले मात्रै आफ्नै भवनबाट कार्यालय सञ्चालन गर्दै आएका छन् ।

बाँकी तीन नगरपालिका र चार गाउँपालिकाले घर भाडामा लिएर कार्यालय सञ्चालन गरिरहेका हुन् । ती स्थानीय तहको आफ्नै भवन नभएको र नयाँ भवन बनाउन जग्गासमेत नभएका कारण भाडाको घरबाट कार्यालय सञ्चालन गर्नुपरेको ढोरपाटन नगरपालिकाका उपप्रमुख करमती पुनले बताए ।

जैमिनी नगरपालिकाले सबैभन्दा धेरै भाडा तिरेर कार्यालय सञ्चालन गर्दै आएको छ । स्थानीय दुई व्यक्तिको घरलाई मासिक ९५ हजार ६ सय ६० दिएर कार्यालय सञ्चालन गर्दै आइएको प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले बताए । आफ्नै भवन निर्माणका लागि जग्गाको खोजी भइरहे पनि जग्गा नपाइएको उपप्रमुख लीला रानाले बताए।

ढोरपाटन नगरपालिकाले पनि दुई घर रु ९४ हजार ५००मा भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको छ । गल्कोट नगरपालिकाको कार्यालय पनि भाडाकै भवनबाट सञ्चालनमा रहेको छ । तीन व्यक्तिको घर भाडामा लिएर कार्यालय सञ्चालन गरिएको छ । शिक्षा र स्वास्थ्य शाखा अलगअलग भवनमा छन् भने बाँकी सबै शाखा एउटै भवनबाट सञ्चालन गरिँदै आएको छ । कार्यालय सञ्चालनका लागि लिइएका घरको भाडा मात्रै मासिक ८४ हजार भुक्तानी हुने गरेकाले आफ्नै भवन बनाउन जग्गाको खोजी भइरहेको प्रमुख प्रशासकीय अधिकृत कृष्णराज गौतमले बताए ।

निसीखोला गाउँपालिकाको कार्यालय सञ्चालनका लागि पनि तीन भवन भाडामा लिएको छ । मासिक ३४ हजार भाडा भुक्तानी हुन्छ । गाउँपालिकाको कार्यालय भवन बनाउनका लागि जग्गा लिएको गाउँपालिकाले आगामी आर्थिक वर्षमा आफ्नै भवन बनाउने योजना रहेको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले जानकारी दिए।

बरेङ गाउँपालिकाका केही शाखा सरकारी भवन र केही शाखा निजी भवनबाट सञ्चालन हुँदै आएका छन् । तत्कालीन हुग्दीशिर गाविसको भवनमा राखिएका प्राबिधिक शाखाबाहेक सबै शाखा भाडाकै भवनबाट सञ्चालन हुँदै आएको प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ पौडेलले बताए । उक्त गाउँपालिकाले मासिक १५ हजार भाडा भुक्तानी गर्ने गरेको छ ।

ताराखोला गाउँपालिकाको भने आफ्नै भवन छ । तत्कालीन अर्गल गाविस भवनलाई मर्मत गरेर एक तला थप गरी कर्यालय सञ्चालनमा ल्याइएको बताइएको छ । बडिगाड गाउँपालिकाले पनि दुई भवन मासिक ३५ हजारमा भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको प्रमुख प्रसाशकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले बताए । भवन निर्माणका लागि जग्गाको व्यवस्थापन गरिसकेको गाउँपालिकाले तत्कालका लागि भवन बनाउने योजना नरहेको जनाएको छ ।

तमानखोला गाउँपालिका पनि आफ्नै भवनमा छ । आफ्नै भवनबाट कार्यालय सञ्चालन भइरहेकाले भाडाको दायित्व नरहेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताए । काठेखोला गाउँपालिकाले भने एउटै भवन भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको छ भने ताराखोला र तमानखोलाले आफ्नै भवन भएकाले एउटै भवनबाट कार्यालय सञ्चालन गरेको भए पनि भाडामा रहेका सबै पालिका दुई वा दुईभन्दा बढी भवनमा शाखा राखेका छन् ।

जिल्लामै सबैभन्दा धेरै भवनमा फैलिएको बागलुङ नगरपालिका हो । रातमाटामा रहेको आफ्नै भवनका अलवा नगरका विभिन्न शाखा सदरमुकाममा रहेका साविकका सरकारी कार्यालय कब्जा गरेर स्थानान्तरण गरिएको छ । पहिले जिल्ला विकास समिति रहेको भवनमा कर शाखा, महिला तथा बालबालिका कार्यालयमा न्यायिक समिति तथा महिला शाखा, भूसंरक्षण कार्यालयमा सहकारी शाखा र साविकको जिल्ला कृषि विकास कार्यालयमा प्रशासन लेखालगायतका शाखा राखिएको छ ।

बागलुङ नगरपालिकालाई नगरप्रमुखको आवास र प्रमुख प्रसाशकीयको आवासबाहेक भाडाको दायित्व छैन । भाडामा सञ्चालनमा रहेका स्थानीय तहले बेलाबेलामा समस्या हुने गरेको बताउँछन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.