www.tandavnews.com
Fact ~ In search of truth

‘खुल्ला चौरमा बसेर पढ्दा गोली चल्यो’

पाेखरा
ताण्डव न्यूज ।

म ६ वर्षको हुँदा अर्थात २०३९ साल देखि स्कुल जान थालेको हुँ । पोखराको लेकसाइडमा जन्मे हुर्केको हुँ ।

यहि लेकसाइडमा रहेको श्री तालबाराही माध्यमिक विद्यालयमा भर्ना भए । हुन त, म २०३८ साल देखि नै स्कुल जान्थे तर नियमित भने ३९ साल देखि नै स्कुल जान थालेको हुँ । मेरो आफ्नै घरमा बोर्डिङ स्कुल थियो तर मेरो बुवाले मलाई सरकारी स्कुलमा भर्ना गरिदिनु भएको थियो ।

म स्कुल पढ्दा पढ्ने सानै उमेर देखि नै पोजेटिभ सोच्ने खालको थिए । जे कुरा पनि गर्न सकिन्छ भन्ने सोच आत्मबल मसँग सानै देखि थियो, त्यसैले आज म समाजसेवामा छु । त्यसैले पनि होला मैले स्कुल पढ्दा साथीसङगीको माया ममता खुबै पाउँथे । किनकी मैले सबै साथीलाई समान रुपमा हेर्थे र सबैसँग उत्तिकै मिल्थे पनि ।

मैले पढेको तालबाराही स्कुल फेवाताल किनारमै भएको कारणले स्कुलको हाफ टाइमका बेला, छुट्टिका बेला फेवातालमा गएर साथीसङगी मिलेर पौडी खेली खुब रमाइलो गरिन्थ्यो ।

मैले पढ्ने बेलामा लेकसाइड अहिलेको झै विकास भएको थिएन । त्यहाँ खेतबारी थिए ,त्यही खेतबारीमा अरुले लगाएका फलफूल, बेलौती ढुंगाले हानेर झारेर खाइन्थ्यो । स्कुल पढ्दा हामी साथीसाथी मिलेर रुखका फलहरु चोरेर खाने गरिन्थ्यो । चोरेको फल लुकेर खानका लागि ३-४ घण्टा सम्म खाटको मुनि पनि बसेको अझै सम्झना छ । सम्झिदा रमाइलो लाग्छ ।

म स्कुल पढ्दा डन्डीबियो खेल्ने चलन थियो । डन्डीबियो हामी साथीहरु मिलेर खेल्थ्यौँ,चुंगी पनि खेल्थे । मलाई स्कुले जीवनले दिएको एउट यस्तो सम्झना छ, जुन चाहेर पनि म भुल्न सक्दिन । स्कुल पढ्दा ढ्याकी खेल्ने ढ्याक बनाउँदा मेरो दाहिने हातको चोर औला थिचिएको थियो । मैले घरमा बाआमा गाली गर्नुहुन्छ भनेर १५ दिनसम्म ढुंगाले थिचेको औँला पकेट भित्र राखेर देब्रे हातले भात खाएको थिएँ । पछि औला पाकेर गन्हाउन थाले पछि मेरो औँलाको उपचार गरिएको थियो । अहिले यो औँला नै ठुटे छ ।

म स्कुलमा कविता लेख्थे । त्यो बेला तिरमिरे सुई भन्ने कविता लेखेको थिएँ । एकपटक एसओएस स्कुलमा कविता प्रतियोगिता भएको थियो । त्यसमा म तेस्रो भएको थिएँ ।

मलाई स्कुलमा केटी साथीले धेरै माया मान्थे किनकी मैले हरेक महिलालाई दिदीबहिनीको ब्यवहार गर्थे । केटी साथीले कुराहरु मसँग सेयर गर्थे । म पनि उनीहरुको कुरालाई सम्मान साथ सुन्थे ।

४-५ कक्षामा पढ्दा देखिनै भाषण गर्थे । खास गरी कविता प्रतियोगिता,वक्तित्वकला प्रतियोगितामा भाग लिन्थे । स्कुलले राख्ने हरेक एक्टिभिटिजमा म एक्टिभ नै थिएँ । खासगरि हाजिरीजवाफ प्रतियोगितामा म खुबै भाग लिन्थे । त्यतिबेला विद्यार्थीको समूह छुट्टाइन्थ्यो । हाम्रो स्कुलमा तालका नामहरु नै समूहको नामका रुपमा थिएँ म खाष्टे भन्ने समूहमा थिए ।

मेरो घरमा गाई भैँसी थिए, मेरा दिदीहरुले घरमा काम गर्नु पथ्र्यो तर मैले केही गर्नु पर्दैनथ्यो । किनकी म तिम्लाह जन्मेको बच्चा मध्ये बाचेको एउटै छोरा हुँ । त्यसैले परिवारका सदस्यको मायाले पुलपुल्लेको थिए ।

Lama collectio News Middle

म स्कुलमा होमवर्क गर्ने, अनुशासित र शिक्षकको अगाडी ज्ञानी विद्यार्थी नै मानिन्थे । मैले पढ्ने स्कुलमा रोल नम्बर भर्ना को आधारमा हुने गथ्र्यो भर्ना अनुसार मेरो रोल नम्बर १६÷१७ हुने गथ्र्यो । म स्कुल पढ्दा देखि नै खाइलाग्दो थिए त्यसैले पनि मेरा साथीहरुले मलाई भुडे भन्दै जिस्काउँथे । म अलि बाठो थिए मैले शिक्षकको जिस्काउने नाम साथीहरुलाई राख्न लाएर शिक्षकको अगाडि जाती र सभ्य बन्थे ।

मलाई स्कुल पढ्दा २ वटा कुरामा बेस्सरी रुची थियो । एउटा गाउन, अर्को चित्र बनाउन, यी दुई कुरामा रुची भएपनि म सधै असफल भए ।

ट्वाइलेट बस्दा खुब चिच्याई चिच्याई गीत गाउँथे । उदितनारायण झा जस्तै गायककार बन्ने कल्पना गर्थे तर असफल भए । चित्र पनि बेन्चमा कोर्थे मलाई चराको चित्र बनाउन खुब मन पथ्यो तर कहिल्यै गतिलो चित्र बनाउन जानिन् ।

सभ्य र अनुशासित हुँदाहुँदै पनि कक्षा ९ मा पढ्दा म ग्याङ फाइटमा परेको छु । तर अप्रिय घटना भएन । म स्कुल पढ्दा देखि नै हाम्रो घर अघोषित पार्टी कार्यालय थियो ,घरमा राजनीतिक गतिविधी हुन्थे । त्यसैले पनि म सानै देखि राजनीतिमा अग्रसर थिए ।

म सानै देखि बोल्ने कुरामा नडराउने, हक्की स्वभावको थिएँ । कसैले अन्याय गरेको छ भने त्यसलाई सहन नसक्ने आवाज उठाई हाल्नु पर्ने मेरो स्वभाव थियो र म स्कुलमा यस्ता अन्यायका विरोध आवाज उठाउथे । स्कुल पढ्दा पढ्दै २०४३ सालदेखि नै म राजनीतिमा लागे । जुनबेला आन्दोलन चलिरहेको थियो । पञ्चायत नै थियो त्यो बेला ।

२०४५ सालमा भारतले लगाएको नाकाबन्दीका विरुद्ध म एक्टिभ भएर आन्दोलनमा उत्रे । त्यतिबेला मैले राजनीतिक शैलीमा जिल्ला शिक्षा कार्यालय अगाडि भाषण गरेको थिए ।

त्यतिबेला स्कुलमा तालबाराही काण्ड भनेर ठुलो आन्दोलन भयो । म कक्षा ९ मा पढ्दा कांग्रेसको सरकार थियो । त्यो बेला स्कुल सञ्चालकले एकलौटी ग¥यो भनेर आन्दोलन चर्कियो । आन्दोलनका क्रम स्कुलमा गोली पनि चल्यो, यस्तो भयावह स्थिति सिर्जना भयो कि स्कुल बन्द हुन पुग्यो ।

त्यसपश्चात हामी डिहिकोपाटनको खुल्ला चौरमा बसेर पढ्यौँ । चौरमै बसे पढ्दा पनि गोली चल्यो स्थिति तनाव पूर्ण भएको थियो । मलाई भेटेको भए सुरक्षाकर्मीले मार्ने थिए । म भनेर मेरो धेरै साथीले पिटाई पनि खाएका थिए । स्कुल लाइफमा म राजनीतिक र रचनात्मक काममा अलि बढी नै क्रियाशील थिए ।

मेरो स्कुल लाइफमा त्यस्तो कोहीसँग प्रेम चाही भएन । किनकी मेरो स्वभावनै सानै देखि पोलिटिक्स गर्ने थियो । मेरो आफ्नै घरमा बोर्डिङ स्कुल थियो तर मेरो बुबाले मलाई सरकारी स्कुलमा भर्ना गरिदिनु भएको थियो ।

एक दिनको कुरा हो, म स्कुल छुट्टि भएकाले घरमा थिए बाबाले बारीमा गाईभैसी आएर बारीको अन्न खाला हेर है भन्नुभो, मैले पनि बारीमा हेरेर बसे, गाइभैसी आएर सबै अन्न खाइदियो मैले बाले भनेअनुसार हेरेरै बसेपछि बाले यत्ति नमज्जासँग पिट्नुभो मैले अझै सम्झिन्छु बाको त्यो पिटाईको दुखाई । यत्तिसम्म कि मलाई कसैले ठुलो भएर के बन्छस् भनेर सोध्दा मैले म बा बन्छु भन्थे ,मलाई लाग्थ्यो कि बा बन्यो भने पिट्न पाइन्छ ।

स्कुल पढ्दा मैले चटपट् खुब खान्थे चटपट १ सुक्का जत्तिमै पाइन्थ्यो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop