www.tandavnews.com
Fact ~ In search of truth

पर्वतका छ स्थानीय तह दमकल विहीन

पर्वत ।
गर्मी मौसममा हावाहुरी, आगलागी र डढेलोका घटना बढ्ने भए पनि त्यस्ता घटनाबाट क्षति हुन नदिनका लागि पर्वतमा दमकलको अभाव रहेको छ ।

जिल्लाका ६ स्थानीय तह दमकलविहीन छन् । कुश्मा नगरपालिकाबाहेकका सबै स्थानीय तहमा दमकल उपलब्ध हुन सकेको छैन । फलेवास नगरपालिका, जलजला गाउँपालिका, महाशीला गाउँपालिका, मोदी गाउँपालिका, विहादी गाउँपालिका र पैंयु गाउँपालिकामा दमकल छैनन् ।

आगामी वर्ष बजेट विनियोजन गरेर खरीद गर्ने तयारी रहेको फलेवासका प्रवक्ता टीकाराम गौडेलले जानकारी दिए । ग्रामीण क्षेत्रमा पनि शहरीकरण र व्यापारिक केन्द्र बढ्दै गएका बेला दमकलको ठूलो आवश्यकता रहेको उनले बताए।

बजेट विनियोजन गरेर स्थानीय तहले खरीद गर्दा ठूलो जनधनको क्षति हुनबाट रोकिने जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर पौडेलले जानकारी दिए । जिल्लामा मोटरबाटोको सहजता भएसँगै दमकलको आवश्यकता महसुस भइरहेकोे उनको भनाइ छ ।

आवश्यकता भए पनि स्रोत साधनको अभावमा दमकल खरीद गर्न नसकिएको जलजलाका अध्यक्ष यामबहादुर मल्लले जानकारी दिए । अन्य स्थानीय तहमा आगलागी हुँदा कुश्माको दमकल गुहार्नुपर्ने अवस्था रहेको छ । आगलागीका घटनामा अन्य स्थानीय तहलाई समेत सहयोग गर्दै आएको कुश्माका नगर प्रमुख रामचन्द्र जोशीले बताए ।

सबै स्थानीय तहमा विपद् व्यवस्थापन समिति र दमकलको व्यवस्था गर्दा आइपर्ने घटनामा उद्धार र राहतका लागि सहज हुने प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए । जिल्ला विपत् व्यवस्थापन समितिले अहिले रहेको एकमात्र दमकललाई सबै स्थानीय तहले आपसी समन्वयमा सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । त्यस्तै प्रत्येक स्थानीय तहमा ३० लाख रुपैयाँ बराबरको विपत् व्यवस्थापन कोष स्थापना गर्ने निर्णय समेत गरिएको छ ।रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.