www.tandavnews.com
Fact ~ In search of truth

बागलुङमा महिला,म्याग्दी र पर्वतमा पुरुष बन्दीगृह बनाइने

 

गलकोट।
साविक धवलागिरि अञ्चलका तीन जिल्लामा रहेको कारागारलाई रूपान्तरण गर्न पहल थालिएको छ । क्षमताभन्दा बढी कैदीबन्दीको समस्या भोगिरहेका कारागारलाई समाधान गर्न बागलुङ, पर्वत र म्याग्दीका जिल्ला कारागार रूपान्तरणका लागि पहल थालिएको हो ।

बागलुङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलको अध्यक्षतामा बागलुङ, पर्वत र म्याग्दी अन्तरजिल्ला समन्वय समितिको सोमबार बसेको बैठकले तीनवटै जिल्लाका महिला बन्दीलाई गाभेर बागलुङमा महिला बन्दीगृह तथा म्याग्दी र पर्वत जिल्लामा पुरुष बन्दीगृह बनाउने निर्णय गरिएको बताइएको छ ।

Batas

जिल्ला कारागारमा हुने कैदीबन्दीको चाप र व्यवस्थापनका लागि तीनै जिल्लाका कारागारका कैदीबन्दी गाभ्ने निर्णय भएको बागलुङका प्रमुख जिल्ला अधिकारी खरेलले बताए । “तीनै जिल्लाका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या छ”, खरेलले भने, “कारागारलाई रूपान्तरण गर्दा समस्या समाधान हुन्छ ।”

बागलुङ, पर्वत र म्याग्दीका कारागारको व्यवस्थापन एवं क्षमता विस्तारका लागि कारागारलाई रुपान्तरण गर्ने निर्णय गरेर गृहमन्त्रालय र कारागार विभागमा पठाइने जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ ।

सम्बन्धित निकायको अनुमति प्राप्त भएपछि कारागार रूपान्तरण गरी महिला र पुरूषलाई छुट्टाछुट्टै कारागारमा राख्दा कारागारको व्यवस्थापनमा सहज हुने तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको अपेक्षा छ । बागलुङमा रहेको जिल्ला कारगारलाई रुपान्तरण गरी महिला बन्दीगृहको रूपमा मात्र विकास गर्दा कारागारको क्षमताअनुसार मात्र कैदीबन्दी राख्न सकिने छ भने अन्य जिल्लामा पुरूषलाई मात्र कारागारमा राख्दा व्यवस्थापनमा निकै सहज हुनेछ ।

पचास जनाको क्षमता रहेको जिल्ला कारागार बागलुङमा ९५ पुरुष १४ महिला र एक नाबालिका गरी ११० कैदीबन्दी रहेको कारागार कार्यालयका प्रमुख मोहन पौडेलले जानकारी दिए । अन्तरजिल्ला समन्वय समितिले जिल्ला कारागार बागलुङको अनुगमनसमेत गरेको छ । अनुगमनका क्रममा क्षमताभन्दा धेरै कैदीबन्दी हुँदा आवास, खानेपानी र स्वास्थ्यलगायतका समस्या भएको कैदीबन्दीले बताएका थिए । रासस

सांकेतिक तस्बिर:गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.