www.tandavnews.com
Fact ~ In search of truth

राधा ‘हिल्ड’

 

 

 

 


माधव भुसाल

पाेखरा, ताण्डव न्यूज ।

निको हुँदै छिन्, राधा । हँसिलो अनुहारले उनको स्वास्थ्य बाहेकको खबर पनि निको नै हुँदैछ भन्ने प्रष्ट्याउँछ । तर पनि सोधेँ ‘के छ खबर ?’ । हँसिलो अनुहारले सहि झल्क्याएछ । खबर पनि निको छ उनको । उनकाे अर्थात् नवलपुर कावासोती बस्ने राधा बस्यालकाे ।

Batas

हिल्ड शब्द सुनिरहँदा प्रायः मनिषा कोइराला सम्झन्छौँ, हामी । मनिषाद्धारा लिखित पुस्तकको नाम हो हिल्ड । जसमा उनले क्यान्सर रोगसँग जुध्नुपर्दाका समयहरु समेटेकि छन् । उनी निको भइसकेकी छिन् । क्यान्सरसँगको पैठाजोरीमा मनिषाको जीत भयो ।

हिल्ड विमोचन गर्दैगर्दा मनिषाले भनेकी थिइन् ‘हामी आफ्नो स्वास्थ्यलाई इग्नोर गर्छौ । रुघा, खोकी, ज्वरो जस्ता अप्ठ्यारालाई हामी सहज लिइदिन्छौँ । ठूलो रोग लाग्नुअघि आफ्नो शरिरले सिम्पटम्सहरु देखाइरहेको हुन्छ । बेवास्ताले जिन्दगी नै धरापमा पु¥याउँछ भन्ने सोच्दैनौँ ।’

सिम्पटम्स अर्थात् लक्षण राधाको शरिरमा पनि देखिएको थियो । ब्रेस्ट (स्तन) भन्दा अलिकति तल गिर्खा देखिएपछि सामान्य उपचारको लागि अस्पताल पुगिन् । सामान्य जाँच गरियो । सामान्य अप्रेसन गरेर हटाउने चिकित्सकको सल्लाह अनुसार गिर्खा फालियो । ‘सन्चो भएँ’ भन्ने सोचिन् । परिवारले पनि त्यसै सोच्यो ।

पेशाले सञ्चारकर्मी हुन्, राधा । रेडियोमा कार्यक्रम सञ्चालन गर्ने, घरका काममा आमाबुवालाई सघाउने । दैनिकि सामान्य बन्दै थियो । तर बेला–बेला शरिरमा असहज महशुस हुँदा झस्किन्थिन् । ‘सामान्य त हो, फेरी अप्रेसन भइसकेको छ । कमजोरीले होला । ठिक भैहाल्छ नि ’ यसै सोच्थिन् ।

तर, राधाले सोचेजस्तो भएन । ‘स्वास्थ्यको असहजता झन्झन् बल्झिदैँ गयो । एक पटक चेकअप गर्ने निधो गरेपछि अस्पताल पुगेँ । यसपटक केही शंका देखियो । ब्रेस्ट क्यान्सर हो की भन्ने । कन्फर्म चाहिँ भएको थिएन,’ राधा सुनाउँछिन् ।

शंकाले लंका मात्रै नजलाउँदो रहेछ । जीवन पनि बचाउँदो रहेछ । क्यान्सरको शंकाले राधालाई गत जेठमा भारत पु¥यायो । भन्छिन् ‘चेकअप पछि क्यान्सर लागेको कन्फर्म भयो । तत्काल उपचारको लागि प्रोसेस गरियो ।’

उपचारको प्रोसेस चलिरहँदा, यता परिवारबिच ‘अर्थ’ अर्थात् ‘पैसा’ खोज्ने प्रोसेस सुरु भयो । केहि समयअघि मात्रै विवाह बन्धनमा बाँधिएकी थिइन् राधा । विवाह लगत्तै देखिएको थियो क्यान्सर । ‘समाजमा हल्ला चलेछ’ टिलपिलिदै भनिन् ‘पैसा खान यो सब नाटक गरेको भनेर । सासु आमा स्वयं सेविका । श्रीमान्, सहकारीको सिइओ हुनुहुन्छ रे अहिले । त्यस्तो हल्ला फैलाउने उहाँहरु नै हो भन्न गाह्रो हुँदैन मलाई । अहिले बोलचाल नै छैन । यो बाच्दिन भन्ने लागेर हो की ।’

राधाको उपचार चलिरहेको छ । किमो र शल्यक्रिया सकियो । इन्जेक्सन लिइरहेकी छिन् । ‘बाँच्छु भन्ने लागेकै थिएन । कहिले सास रोकिन्छ भन्ने मात्र हुन्थ्यो’ अघि टिलपिलिएका राधाका आँखाले आशु थाम्न सकेन । बोल्दाबोल्दै रोइन् राधा ।

फागुन ९ गते, राधाको जन्मदिन । जन्मिएकै दिन पारेर एक अठोट लिइन् । ‘रुघाखोकी, शरिरको दुखाई, गिर्खा जस्ता कुराहरुलाई नकार्दा नै म त्यो अवस्थामा पुगेँ । सञ्चार क्षेत्रमा काम गरिरहँदा पनि आफ्नै नेग्लिजेन्सले मृत्युको मुखमा पु¥यायो । हाम्रो गाउँघरमा कति होलान् त्यसरी नेग्लिजेन्स गर्ने ? ,’ राधा भन्दै थिइन् ‘स्वास्थ्यबारे स साना कुराहरुमा ध्यान नदिँदा ठूलो रोग निम्त्याउने रहेछ । यहि कुरा सामाजमा बुझाउनु पर्छ भन्ने अठोट लिएँ । र, जन्मदिनको अवसरमा राधा क्यान्सर सचेतना फउन्डेसन प्रस्तावित घोषणा गरे । त्यहि दिन कार्यक्रम गरेर क्यान्सरसँग जुध्दाको अनुभव सेयर गरेँ ।’

उपचारसँगै राधाको आत्मबल र साहस पनि बढिरहेको छ । बाँकी जिवन क्यान्सरको सचेतनाकै लागि विताउने अठोट छ राधाको ।

यति बुझिसकेपछि मैले बिट मार्नलाई प्रश्न राखेँ ‘ जीवनको यो समयबारे केही लेख्ने योजना छन् कि ? ’ । गम्भिर भएकि राधा उज्यालिदै हाँस्दै भनिन्, ‘ लेख्नुपर्ला नि पूरै सञ्चो भएपछि ‘राधा हिल्ड’ ।’

हो, राधा निको हुँदैछिन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.