www.tandavnews.com
Fact ~ In search of truth

बुधबारदेखि हिन्दूराष्ट्र कायम गराउन मेची महाकाली यात्रा

 

 

काठमाडौँ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकमा पूर्ण धार्मिक स्वतन्त्रता सहित हिन्दूराष्ट्र कायम गराउनका लागि दबाब दिन बुधबारदेखि मेची महकाली यात्रा गर्दैछ ।

यही फागुन १५ गते ताप्लेजुङबाट शुरु भई मुलुकका ३६ जिल्लामा हुने उक्त यात्रा काठमाडौँमा आएर समापन गरिने छ । दुई हजार ८०० किलोमिटरको यात्रामा सम्बन्धित जिल्लाका सङ्गठनले यात्राका क्रममा आवश्यक समन्वयन र सहयोग गर्ने तथा यात्रा अवधिभर विभिन्न शहरमा करीब २०० सभा गरिने भएको छ । उक्त यात्रा सकिएपछि यस किसिमको यात्रा बाँकी अन्य जिल्लामा समेत गरिने पार्टीले जनाएको छ ।

पार्टीका शीर्ष नेता तथा विभिन्न धार्मिक गुरुले सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । पार्टीका प्रवक्ता मोहन श्रेष्ठले राष्ट्रलाई सक्षम, समर्थ एवं समृद्ध बनाउने उद्देश्यले उक्त यात्रा थालिएको जानकारी दिए ।

राष्ट्रिय अखण्डता सुदृढ गर्ने, महँगी तथा कालोबजारी नियन्त्रण गर्नेलगायत मुलुकका समसामयिक राजनीतिक अवस्थाबारे सभामार्फत जनतालाई जानकारी दिइनाका साथै यज्ञ, हवन तथा अनुष्ठान पनि गरिने भएको छ । पार्टीले लिएको राजसंस्थासहित सबै राजनीतिक शक्ति अटाउने सर्वपक्षीय गोलमेच सम्मेलन र सङ्घीयताबारे जनताको प्रत्यक्ष अभिमत बुझ्न राष्ट्रिय जनमत सङ्ग्रह गरिनुपर्ने आफ्ना राजनीतिक एजेण्डासमेत जनता माझ छलफल गराउने कार्यक्रम छ । यात्राका क्रममा विभिन्न नदी तथा तीर्थस्थलबाट ल्याइने जल पशुपतिनाथ मन्दिरमा समापनका दिन चढाइने छ ।

पार्टीका नेता भुवन पाठकले नेपाल बैद्धिक कालदेखि नै देवभूमि र तपोभूमि भएको बताउँदै विश्वमा एकमात्र हिन्दू राष्ट्र नेपालको विशिष्ट पहिचान मेटाउन खोजिएकाले उक्त यात्रा गर्न लागिएको बताए । उनले यात्राका क्रममा गरिने यज्ञबाट प्राप्त हुने ऊर्जाले सकारात्मक सोचको विकास हुनाका साथै सांस्कृतिक एकता, सामाजिक सहिष्णुता कायम हुने विश्वास पनि व्यक्त गरे ।

सङ्गठित रुपमा लोभलालच देखाएर र भ्रम सिर्जना गरेर जबर्जस्ती धर्म परिवर्तन गराउने कार्य नियन्त्रण गरिनुपर्ने, धर्म परिवर्तनमा संलग्न गैरसरकारी संस्थालाई बन्द गरिनुपर्ने,, गौ हत्या नियन्त्रण गरिनुपर्ने, प्रत्येक गाउँपालिका तथा नगरपालिकामा कम्तीमा एउटा गौशाला निर्माण गरिनु पर्नेलगायत सन्देश यात्राका क्रममा फैलाइने भएको छ ।

सबै धर्म र सम्प्रदायका मन्दिर, मठ, गुम्बा, मस्जिद र चर्चको सञ्चालन र व्यवस्थापनमा सरकारी नियन्त्रण अन्त गरिनुपर्ने, यस क्रममा पशुपतिनाथ, लुम्बिनी र जानकी मन्दिरको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी सम्बन्धित धर्म र सम्प्रदायका समुदायलाई तत्काल हस्तान्तरण गरिनुपर्ने विषयमा पनि पार्टीले कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

हाल आरक्षणको सुविधाबाट वञ्चित तर आर्थिकरुपमा विपन्न अन्य जातीय समूहलाई समेत सबै क्षेत्रमा कम्तीमा १० प्रतिशत आरक्षण गरिनुपर्ने, भ्रष्टाचार नियन्त्रणका लागि विदेशमा लुकाएर राखिएको कालोधन देशभित्र ल्याइनुपर्नेलगायत सामाजिक विषयवस्तुमा देशव्यापी रुपमा सशक्त कार्यक्रम सञ्चालन भइरहेको पार्टीले जनाएको छ ।

यसैगरी पार्टीले बेरोजगारी समस्या समाधानका लागि अल्पकालीन तथा दीर्घकालीन कार्ययोजना ल्याउन गर्न माग गर्दै वर्षमा कम्तीमा पाँच लाख रोजगारी सिर्जना गर्नेगरी दीर्घकालीन आर्थिक विकासका योजना सञ्चालन गर्न सरकारलाई सुझाएको छ ।

कम्तीमा एक परिवार एक रोजगारी कार्यक्रम कार्यान्वयन गरी रोजगारीको अवसर नपाएकालाई निश्चित अवधिसम्म बेरोजगार भत्ता उपलब्ध गराउन, भ्रष्टाचार नियन्त्रण गर्न प्रभावकारी कदम चाल्नलगायत २२ बुँदे माग गर्दै यही फागुन ७ गतेदेखि देशभर राजनीतिक गतिविधिसमेत सञ्चालन उक्त पार्टीले सञ्चालन गर्दै आएको छ ।

पार्टीले उठाएका मागमध्ये महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा र विभेद अन्त गरिनुपर्ने, सबै प्रकारका जातीय विभेद र छुवाछूत अन्त्य गरिनुपर्ने, स्थानीय तहमा लगाएका अव्यावहारिक कर अन्त्य गरी तीन तहका सरकारबाट लगाइएका दोहोरो कर हटाउनुपर्नेजस्ता विषयमा जोड दिएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop