पोखरा ,
ताण्डव न्यूज ।
व्यवसायीले प्याराग्लाइडिङ उडान गरे बापतको कर नतिरेपछि बुधबार (भोली) देखि पोखराको आकाशमा प्याराग्लाइडिङ उडान बन्द हुने भएको छ । पोखरा महानगर र प्याराग्लाइडिङ उडान हुने वडा कार्यालयले करको विषयमा सम्बन्धीत कम्पनीहरुलाई पत्र लेखेर कर बुझाउन आग्रह गरेपनि उनीहरुले अटेर गरेपछि महानगर र वडा कार्यालयले उडान नै बन्द गर्न लागेको हो ।
‘महानगरले गत पुषको १९ गते अहिले अप्रेशनमा रहेका सबै कम्पनीलाई अनिवार्य कर तिर्नु भनेर पत्रचार नै गरेको छ,’ पोखरा महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषनारायण पौडेलले भने, ‘वडा कार्यालयले पनि अन्तिम पटक यहि फागुनको १५ गते पत्र लेखेर फागुनको २१ गते भित्र कर नबुझाए उडान रोक्ने भनेर पत्र पठाएको छ । यो अनुसार भोलीबाट उड्न पाउँदैनन् ।’

जम्मा एउटा कम्पनीले तिर्यो कर
पोखरा महानगरमा भएको तथ्याङ्क अनुसार अहिले पोखराको आकाशमा ४० वटा कम्पनीबाट प्याराग्लाईडिङ उडान भइरहेका छ । नागरिक उड्ययन प्राधिकरण पोखरामा भने करिब ६० वटा कम्पनीहरुले उडान अनुमति लिइसकेको तथ्याङ्क छ ।
अहिले उडान गरिरहेका ४० कम्पनी मध्ये एउटा कम्पनीले मात्र कर तिरेको पोखरा महानगरपालिका १८ का अध्यक्ष रण बहादुर थापाले बताए । अरु ३९ वटा कम्पनीले २०७२ सालबाट प्याराग्लाइडिङ उडानबापतको कर नतिरेको रेकर्ड पोखरा महानगरमा छ ।
‘अब कर नतिर्ने कम्पनीका गाडी प्याराग्लाइडिङ गर्ने मान्छे बोकेर सरांकोट उक्लन पाउँदैन,’ वडा अध्यक्ष रणबहादुर थापाले भने, ‘अहिलेसम्म माउण्टेन भ्यू प्याराग्लाइडिङले मात्र कर तिरेको छ । उसले बाहेक अब कसैले मान्छे उडाउन पाउँदैन । जहिले कर तिर्छन त्यहिले देखि नै उडाउन पाउँछन् ।’
प्रत्येक कम्पनीले वार्षिक रुपमा करबापत एक लाख २५ हजार रुपैयाँ पर्यटन वापत कर तिर्नुपर्ने हुन्छ । सो रकम वडा कार्यालयले वा पोखरा महानगरपालिका जहाँ बुझाए पनि हुने उल्लेख गरिएको छ । आर्थिक वर्ष २०७२÷०७३ र २०७३÷०७४ मा प्रत्येक कम्पनीले नेपाल सरकारलाई कर बापत जम्मा पाँच हजार पाँच सय रुपैयाँ मात्र बुझाउँथे । पछि बढेर आर्थिक वर्ष २०७४÷०७५ मा बढेर वार्षिक कर ५० हजार रुपैयाँ पुगेको थियो ।
त्यस्तै आर्थिक वर्ष २०७५÷०७६ मा बढेर प्रदेश सरकारले पर्यटन शूल्क शिर्षकमा एकमुष्ट एक लाख २५ हजार रुपैँया बुझाउनुपर्ने नीति ल्याएको हो ।
फाइल तस्बिर
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.