www.tandavnews.com
Fact ~ In search of truth

मन्त्री अधिकारीको निधनमा शोक प्रस्ताव पारित

काठमाडौँ ।

प्रतिनिधिसभाको आजको बैठकले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट तीन पटक प्रत्यक्ष निर्वाचित सांसद भरतमोहन अधिकारीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

उनी २०४८, २०५१ र २०५६ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा मोरङ जिल्लाबाट निर्वाचित भएका थिए । यसैगरी २०६३ को पुनःस्थापित प्रतिनिधिसभामा पनि अधिकारी सांसद थिए । उनको निधनमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गरेका शोकप्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

अधिकारी २०७० सालको संविधानसभामा एमालेकै तर्फबाट समानुपातिक सदस्य थिए । उनले उपप्रधानमन्त्री तथा अर्थमन्त्रीसहित विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । प्रजातन्त्र पुनःस्थापनापछि विसं २०४६ मा गठन भएको संविधान सुझाव आयोगको सदस्य रहेका अधिकारी लोकतान्त्रिक आन्दोलनका अथक योद्धा भएको पारित शोक प्रस्तावमा उल्लेख छ ।

उपचारका क्रममा उनको यही फागुन १८ गते राजधानीमा निधन भएको थियो । त्रियासी वर्षीय अधिकारीले राज्यका लागि पुर्याएको योगदानको उच्च सम्मान गर्दै प्रतिनिधिसभाको बैठकले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । सभाको अर्को बैठक यही फागुन २२ गते अपराह्न १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.