www.tandavnews.com
Fact ~ In search of truth

चिसोले काम गर्न नसक्दा घर फर्किए मजदुर,रोकियो विकास निर्माण

ठिनी ।

हिमालपारिको जिल्ला मुस्ताङमा सञ्चालित विकास आयोजनाको काम प्रतिकूल मौसम र निरन्तरको हिमपातका कारण प्रभावित भएको छ ।

स्थानीय तह, प्रदेश र सङ्घीय सरकार मातहतका कार्यालयले बजेट विनियोजन गरेका सडक, पुल, भवन, सिँचाइ, खानेपानीलगायतका पूर्वाधार आयोजना ठप्प भएका छन् ।

यसपालि फागुनको तेस्रो सातासम्म पनि हिमपात भएकाले विकासको काम ठप्प बनेको जिल्ला समन्वय समितिका प्रमुख छिरिङ ल्हमो गुरुङले बताए । दाङ, धादिङ, बाँके, बर्दियाबाट आएका मजदुर चिसोले काम गर्न नसकेपछि फर्किएका छन् । राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको मुस्ताङ खण्डको सडक विस्तार, पर्खाल र नाली निर्माणको काम पनि ठप्प छ ।

तयारी अवस्थामा रहेको चार मोटरेवल पुलको ढलान गर्ने काम हिउँका कारण रोकिएको आयोजनाका प्रमुख मुकुन्द अधिकारीले बताए । आयोजनाको काम एक महीनापछि धकेलिएको उनको भनाइ छ । जोमसोम–कोरला सडकको निर्माण कम्पनी अमित विल्डर्सका सञ्चालक अमित तुलाचनले चिसोले काम गर्न नसकेपछि तराईबाट आएका मजदुर फर्किएको बताए ।

विकास आयोजनामा ढिलासुस्ती हुनुका साथै पूँजीगत बजेट परिचालनमा समस्या देखिएको छ । मुस्ताङका पाँच स्थानीय तहले पनि बजेट विनियोजन गरेका योजना तथा कार्यक्रम कार्यान्वयन गर्न सकेका छैनन् ।

बजेट कार्यान्वयनका लागि अनुकूल मौसमको प्रतिक्षामा रहेको जनप्रतिनिधिको भनाइ छ । कागबेनीदेखि उपल्लो मुस्ताङ जोड्ने सडकमा गत पुसयता यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । सडकमा बाक्लो हिउँ जमेकाले स्थानीयवासीलाई आवतजावत र ढुवानीमा समस्या भएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले डोजर परिचालन गरेर हिउँ पन्छाएपछि कागबेनी–मुक्तिनाथ सडक खुलाइएको छ ।

चौरीगाई, भेँडा र च्याङ्ग्रालाई चरनको अभावले मर्न थालेका छन् । जाडो छल्न बेँसी झरेका उपल्लो मुस्ताङका बासिन्दा घर फर्कन सकेका छैनन् । मृग, घोरल, कस्तुरीजस्ता वन्यजन्तु पनि आहाराको अभावले प्रभावित बनेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०की रेञ्जुर धनु गुरुङले बताए । रासस

तस्बिर गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.