www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महानगरका भद्रगोल सडकहरु

विनिता सुनार
पोखरा, ताण्डव न्यूज । 

राति करिब ८ बजेको समय थियो । सिद्धार्थचोकबाट भित्री गल्ली हुँदै लेकसाइड फर्किदै गरेको पल्सर बाइक आलुमाइला चोकमा दुर्घटना भयो । कारण थियो भद्रगोल सडक । पानीको पाइपका लागि बनाइएको खाल्डो साइडमा राखिएका ढुंगामा बाइक ठोक्किदा दुर्घटना निम्तिन पुग्यो ।

लेकसाइड बस्ने अलि देवानले सवार गरेको उक्त बाइक एक्कासि ब्रेक लगाउँदा पल्टिन पुगेको हो । उनी भन्छन्, ‘खाल्डो भएपछि केही सिम्बोल राख्नुपर्ने थियो । केही सिम्बल नभएको हुनाले घटना घट्न गयो ।’

Batas

बाइक कम गतिमा भएकाले ठूलो क्षति हुनबाट जोगियो । सडक व्यवस्थित नभएकाले सडकमा दिनहुँ जसो दुर्घटना हुने गर्दछ ।

पोखराका हरेक सडकहरुमा अव्यस्थित खाल्डो र ढिस्को हुनाले स्कुटरमा सवारी गर्दा धेरै गाह्रो हुने मेथ्लाङ बस्ने सम्झना गौतमले बताउँछिन् । ‘पृथ्वीचोकको टर्निङमै ठूलो ढिस्को छ, त्यतिमात्र नभई नागढुंगा वरपर पनि साना–साना धेरै खाल्डाहरु छन्,’ उनले भनिन्, ‘यस्तो अव्यवस्थित सडकले सवारी चालकहरुले निकै समस्या भोग्नु परेको छ ।’

कहिलेकाहीँ स्पिडमा सवारी चलाएको बेला ढिस्को, खाल्डोमा अल्झिएर सवारी अन्ब्यालेन्स हुँदा पनि दुर्घटना हुने गरेका छन् । बिग्रिएको सडकलाई व्यवस्थित गर्न महानगरले छिटो भन्दा छिटो काम थाल्नु पर्ने उनको गुनासो थियो ।

पृथ्वीचोक, सिर्जनाचोक, जिरो, बुलौंदी हुँदै जरेबरसम्म आउँदा बाटोमा थुप्रै घातक खाल्डो र ढिस्कोहरु छन् । यसमा पनि बुलौंदीको ओरालोमा बढी दुर्घटना हुने गरेको पाइन्छ । नामको मात्र कालो पत्रे सडक हुनाले पनि सडक ग्रामीण अवस्थाको भन्दा कम नरहेको बगरका दीपक परियार बताउँछन् ।

‘वर्षाको समयमा खाल्डोमा पानी जम्ने हुँदा सडकमा हिँड्ने यात्रुलाई पनि समस्या पर्ने गर्छ,’ उनले भने, ‘सडकको जुन स्तर हुन पर्ने हो त्यो स्तर अझै पनि देखिँदैन् । एकै ठाउँका लागि बारम्बार मर्मत सम्भार गर्न लाखौ पैसा खर्चिए पनि हाम्रो सडक हरेक समयमा भत्किाउँदै बनाउँदै गर्नुपरेको छ ।’ सडक जस्तो संवेदनशील कुरामा राज्यको सम्बन्धित निकायले अनुगमन गरी स्तरीय सडक निर्माण गर्न आवश्यक रहेको उनले बताए । ‘मुख्य कुरा सडकमा सवारी लिएर हिँड्दा त्यसमा पनि विशेषगरी बाइक लिएर हिँड्दा सडक टल्किएर हिँड्न नसकिने हुन्छ,’ उनले भने, ‘त्यस्तो गतिको सडक छ तैपनि राज्यले कुनै चाँसो किन नदेखाएको होला ।’

जिल्ला ट्राफिक कार्यालय कास्कीका सई शिवप्रसाद पाठकले यस्तो खाल्डा खुल्डी र ढिस्कोले दुर्घटना हुने गरेको बताउँछन् । ‘त्यसका लागि हामिले पहल गरेका छौं,’ उनले भने, ‘यसको कसरी व्यवस्थित गर्ने भन्ने बारेमा महानगरपालिका र सडक विभागले बेला बेलामा छलफल गरेका छन् ।’

सिटीभित्रका सम्पूर्ण सडकहरु ३ निकायहरुबाट गरिएका हुँदा त्यसमा केही सडकहरु सडक विभागको मातहातमा बनाइने महानगरपालिकाका इन्जिनियर सोभित खड्का बताउँछन् । ‘हामीले बनाएको सडक भत्किएको छैन्,’ उनले भने, ‘चिसो मौसम अगाडि केही खाल्टा टालटुल गर्ने प्लान छ, अहिले थोरै टेम्प्रेचर घटेको र अलकत्रले काम नगर्ने हुनाले सुरु गर्न सकेका छैनौ ।’

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.