www.tandavnews.com
Fact ~ In search of truth

वडा कार्यालय पुग्न चार घण्टा हिँड्नुपर्ने बाध्यता

नवलपरासी ।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ पटुके बस्तीका स्थानीयवासीलाई आफ्नै वडा कार्यालय पुग्न करीब चार घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ ।

वडा कार्यालय पाएक पर्ने स्थानमा नहुँदा चिसापानी बजारमा रहेका वडा कार्यालयमा आउन पटुके बस्तीका स्थानीयवासीलाई चार घण्टा पैदल हिँड्नुपर्ने बाध्यता रहँदै आएको हो ।

Batas

चिसापानी वडा कार्यालय आउन दुई वटा विकल्प छ । एउटा पैदल यात्रा गरेर करीब चार घण्टा यात्रा गर्नुपर्ने र अर्को सवारी साधनमार्फत प्रदेश नं ४ को दुम्किबास, दाउन्ने हुदैँ चिसापानीसम्म आउनुपर्ने हुन्छ ।तराई क्षेत्रको नगरपालिका भए पनि पटुके बस्ती विकट पहाडी खोँचमा पर्दछ ।

स्थानीय तहको सिमाङ्कनको समयमा यहाँका बासिन्दाले आफूहरुलाई बर्दघाट नगरपालिका जानका लागि असहज हुने र भौगोलिक विकटताका कारण सेवा प्रवाहमा समेत असर पुग्ने भन्दै नजीकै केन्द्र रहेको विनयीत्रिवेणी गाउँपालिकामा गाभ्नका लागि प्रशासन र राजनीतिक दलका नेतालाई ध्यानाकर्षण गराए पनि सुनुवाइ नहुँदा अहिले सामान्य सेवाका लागिसमेत घण्टौँ हिँड्नुपर्ने बाध्यता परेको हो ।

त्यहाँका सेवाग्राहीलाई वडा कार्यालयमा आउन करीब चार घण्टाको पैदल यात्रा र सवारी साधनमा आउँदा पनि करीब दुई घण्टा लाग्ने अवस्था देखिन्छ । वडा कार्यालय आउन सडक सञ्जाल राम्रो नहुँदा यस्तो समस्या हुँदै आएको स्थानीयवासीको भनाइ छ ।

यस पटक सो क्षेत्रमा सडकको बाटो खोल्ने काम सम्पन्न भइसकेको र यस वर्ष करीब एक करोड रुपैयाँ बराबरको लगानीमा सडक विस्तारको काम गर्ने योजना रहेको बर्दघाट नगरपालिकाका नगरप्रमुख धिरज शर्मा बस्यालले जानकारी दिए।

पटुके बस्तीमा करीब तीन सय जनसङ्ख्या रहेको छ । आफ्नै वडा कार्यालय जान घण्टौँ हिँडेर पुग्नुपर्ने भन्दै स्थानीयवासीले वडा कार्यालय पायक पर्ने स्थानमा सार्न माग गरेका छन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.