www.tandavnews.com
Fact ~ In search of truth

सुक्खा पहिरोले मुस्ताङका ६५ घरसहित शरणार्थी शिविर जोखिममा

ठिनी ।

मुस्ताङको घरपझोङ गाउँपालिका–१ छैरोमा रहेको तिब्बती शरणार्थी शिविर सुक्खा पहिरोको जोखिममा परेको छ ।

बस्ती तल रहेको कालीगण्डकी किनार तर्फबाट सुक्खा पहिरो खस्न थालेपछि ६५ घरधुरी तिब्बती शरणार्थीको बसोवास रहेको शिविर जोखिममा परेको हो । सुक्खा पहिरोले सोमबार शरणार्थी शिविरको स्वास्थ्यकेन्द्र भवन र तीन सार्वजनिक शौचालय भत्काएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

आठ घर उच्च जोखिममा परेका छन् । प्रजिअ गङ्गाबहादुर क्षेत्रीको नेतृत्वमा गएको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको साथै जनप्रतिनिधि र स्थानीयवासीले उच्च जोखिममा रहेका घरका सामान सुरक्षित ठाउँमा स्थानान्तरण गरेका छन् ।

स्थानीयवासीका अनुसार कालीगण्डकी किनारमा ग्याबियन पर्खाल निर्माणका लागि केही दिन एक्साभेटर (डोजर) प्रयोग गरिएको थियो । एक्साभेटरको कम्पन, किनारमा खनिएको खाडल, कमजोर भू–बनोट र हिउँ पग्लिएपछि जमीन गलेर पहिरो गएको स्थानीयवासीको भनाइ छ ।

पहिरोले मार्फा गाउँ हुदैँ छैरो र चिमाङ गाउँजाने पैदलमार्ग बगाएपछि आवतजावतमा कठिनाइ भएको छ । पहिरो नियन्त्रणका लागि कालीगण्डकी किनारमा ग्याबियन पर्खाल निर्माण शुरु गरिएको र जोखिममा परेकालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताए ।

कालीगण्डकी नदीले छैरो क्षेत्रमा खेतीयोग्य जमीन कटान गरेको छ । गत बर्खामा कालीगण्डकीले खेतीयोग्य जमीन कटान गरेको थियो । गत महीना मार्फा क्षेत्रमा जमीन भासिएको थियो । रासस

फाइल तस्बिर :गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.