www.tandavnews.com
Fact ~ In search of truth

पत्रकार पक्राउको विरोधमा प्रेस संगठन नवलपुरले ज्ञापनपत्र बुझायो

बिजय चालिसे
कावासोती ।

पोखराका पत्रकार अर्जुन गिरी पक्राउको विरोधमा प्रेस संगठन नेपाल नवलपुरले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य बिद्रोही गिरीसहित संगठनमा आवद्ध पत्रकारहरु प्रशासन कार्यालय पुगेर प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका हुन् ।

प्रेस संगठन नवलपुरले समाचार लेखेकै भरमा पत्रकार गिरीलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रा अभिव्यक्ती विरुद्ध भएको भन्दै गिरीलाई तत्काल रिहा गर्न माग गरेको छ । प्रेस चौतारी नवलपुरका उपाध्यक्ष शालिकराम कोईराला र प्रेस सेन्टरका कार्यवाहक अध्यक्ष अर्जुन अविरलद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ– समाचारको बिषयमा चित्त नबुझेमा प्रेस काउन्सिल नेपालमा उजुरी गर्ने कानुनी प्रावधान विपरीत पत्रकारमाथि विद्युतीय कारोबार ऐनमा कारवाही चलाउनु आपत्तिजनक छ । दर्ता भएको पत्रिका र अनलाइनलाई ‘दर्ता नै नगरेको’ भन्दै पक्राउ गरिनु झनै खेदजनक छ ।

Batas

घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप र पत्रकारले स्वतन्त्रतापूर्वक समाचार लेख्न पाउने संवैधानिक अधिकारमाथिको हनन् भएको जिकिर गरिएको छ । साथै सम्पादक गिरीलाई विना शर्त तत्काल रिहाइको माग गर्दै पत्रकारलाई स्वतन्त्र र निर्भीक रूपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत आनन्द भुसालले ज्ञापनपत्र तत्कालै सम्बन्धित निकायमा पुर्याउने प्रतिवद्वता व्यक्त गरे । बतास कम्पनीका विपेन्द्रराज बतासले पैसा नतिरेर ठगी गरेको भन्ने निवेदन प्रहरीकोमा परेपछि पत्रकार गिरिले त्यसैलाई आधार बनाएर समाचार लेखेकै कारण उनलाई केन्द्रिय अनुसन्धान ब्युरोको निर्देशनमा कास्की प्रहरीले बैशाख २ गते पक्राउ गरेको थियो ।

यस्तै, पत्रकार महासङ्घ नवलपुर शाखाले पनि पत्रकार गिरी पक्राउको विरोधमा प्रशासनमा १ घण्टा धर्ना दिएको छ । महासङ्घ शाखा उपाध्यक्ष श्रीराम सिग्देलको नेतृत्वमा भएको धर्ना कार्यक्रममा पत्रकार महासङ्घ गण्डकी प्रदेश काेषाध्यक्ष दिपक भट्टराई, प्रदेस सदस्य राजेश सुनामलगायतको सहभागिता रहेको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.