www.tandavnews.com
Fact ~ In search of truth

अपाङ्गताको सहारा बन्यो रिसेडको ह्विलचियर

तनहुँ ।
तनहुँको रिसिङ गाउँपालिका–७ का भक्तबहादुर आले छ वर्षदेखि विनासहारा हिँड्डुल गर्न सक्दैनन । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा रहँदा दुर्घटनामा परेर उनी अपाङ्ग भएका थिए । त्यसयता उनी ह्विलचियरको सहाराले हिँड्डुल गर्छन् ।

मलेशियाबाट ल्याएको ह्विलचियर पुरानो भएपछि उनलाई केही असहज अवस्था उत्पन्न भएको थियो । रिसेड तनहुँले राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाजको सहयोगमा नयाँ ह्विलचियर प्रदान गरेपछि उनीमा खुशी छाएको छ ।“बिग्रिएको ह्विलचियर मर्मत गर्दै दुई वर्षदेखि प्रयोग गर्दै आएको थिएँ”, उनले भने, “नयाँ ह्विलचियर पाएपछि खुशी लागेको छ ।” पुरानो ह्विलचियरमा हिँड्दा समस्या हुने गरेको र अब नयाँ ह्विलचियर पाएपछि सहज हुने उनले बताए ।

व्यास नगरपालिका–६ का प्रतिमा श्रेष्ठसमेत नयाँ ह्विलचियर पाएपछि खुशी छन् । पुरानो ह्विलचियर बिग्रिएर हिँड्डुल गर्न समस्या भएपछि उनीलाई नयाँ ह्विलचियरको आवश्यकता थियो । “पुरानो ह्विलचियरमा हिँड्दा कहिलेकाहीँ लड्ने समस्या थियो, नयाँ ह्विलचियरको खोजीमा थिएँ”, उनले भने, “रिसेडले नयाँ ह्विलचियर प्रदान गरेपछि खुशी लागेको छ ।”

Batas

उनी सोही वडाको जनजुक्त शाही माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छन । उनले भने, “नयाँ ह्विलचियरमा विद्यालय जान÷आउन अब सजिलो हुने भयो ।”

भक्तबहादुर र प्रतिमा मात्र होइन अन्य १८ अपाङ्गता भएका व्यक्तिसमेत ह्विलचियर पाएपछि खुशी छन् । बन्दीपुर गाउँपालिका–२ का प्रमिला कुँवर जोगीले निःशुल्क ह्विलचियर पाएपछि सजिलो भएको बताए। उनले भने, “पैसा तिरेर खरीद गर्नुपरेको भए समस्या थियो । निःशुल्क ह्विलचियर उपलब्ध गराएर आयोजकले गुन लगाएको छ ।”

रिसेड तनहुँले राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाजको सहयोगमा २० जनालाई ह्विलचियर वितरण गरेको छ । करीब सात लाख रुपैयाँ मूल्य बराबरको ह्विलचियर वितरण गरिएको रिसेड तनहुँका अध्यक्ष पदम परियारले जानकारी दिए । ह्विलचियर पाउनेमा व्यास नगरपालिका, रिसिङ गाउँपालिका, म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकाका अपाङ्गता भएका व्यक्ति रहेको रिसेडका महासचिव दामोदर रेग्मीले जानकारी दिए ।

राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका केन्द्रीय सदस्य सुगम भट्टराईका अनुसार समाजले देशका विभिन्न ठाउँमा पुगेर अपाङ्गता भएका व्यक्तिलाई ह्विलचियर प्रदान गर्ने गरेको छ । नेपालमा वार्षिक तीन हजार ५०० भन्दा बढी ह्विलचियरको माग भए पनि दुई हजारलाई मात्रै ह्विलचियर वितरण गर्न सकिएको उनले जानकारी दिए । समाजले सन् २००६ देखि नेपालमा १५ हजारभन्दा बढी ह्विलचियर वितरण गरिसकेको छ ।

राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाजका प्राविधिक सुनिता रिजालले नेपालमा तीन प्रकारको ह्विलचियर वितरण भइरहेको छ । उचित स्याहारसुसार गरेको खण्डमा ह्विलचियर तीन वर्षसम्म टिक्छ । समाजले घिरिङ गाउँपालिकामा सातलाई र भिमाद नगरपालिकामा १० लाई ह्विलचियर वितरण गरिसकेको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.