काठमाडौँ ।
चक्रवात ‘फानी’का कारण नेपालको मौसम परिवर्तन भइ मेघ गर्जन र चट्याङ तथा हावाहुरीसहित वर्षा हुने देखिएको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त चक्रवात नेपालतर्फ आउने सम्भावना अहिलेसम्म देखिएको छैन । यद्यपि यसको प्रभावबाट नेपालको पूर्वी र मध्यक्षेत्रमा आज र भोलि हावाहुरीसहित हल्कादेखि भारी वर्षा हुने महाशाखाका मौसमविद् विभूति पोखरेलले जानकारी दिए ।
हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना देखिएकाले त्यहाँका बासिन्दा तथा पर्यटकलाई सुरक्षित स्थानमा रहन महाशाखाले आग्रह गरेको छ । चक्रवात ‘फानी’ हाल बङ्गालको खाडी तथा भारतको ओडिसा तटीय क्षेत्र नजिकै देखिएको छ । आजदेखि यो मौसम प्रणाली ओड़ीसाको तटीय क्षेत्रमा मध्याह्नतिर भित्रिने सम्भावना देखिएको र उत्तर–पूर्व दिशातर्फ जाने क्रममा कमजोर बन्दै जाने महाशाखाले जनाएको छ ।

देशको पश्चिमी क्षेत्रमा आज पश्चिमी वायुको प्रभाव रहने हुँदा केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिन्छ । हिमाली भू–भागमा पनि हिमपातको सम्भावना रहेको छ । आइतबारदेखि देशभर मौसममा क्रमिकरुपमा सुधार आउने सम्भावना छ ।
यसैबीच गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले शनिबारसम्मका लागि हेलिकप्टर उडान नगर्न सार्वजनिक अपिल गरेको छ।पूर्बी हिमाली क्षेत्रमा ठूलो हिमपात हुन सक्ने हुँदा सो क्षेत्रमा अहिले देखिनै भोलि दिनभरसम्म हेलिकप्टर उडान नगर्न नगराउन र पर्यटक एवं यात्रुहरूले सुरक्षित स्थानमा रहन अनुरोध छ ।
प्रतिघण्टा गति १ सय ७५ किमिमा फानी चक्रवात चलिरहेको छ भने आज अपराह्न ३ बजेदेखि उक्त चक्रवातले नेपालका पूर्वी जिल्लाहरुमा पनि प्रभाव पार्नेछ। यसको प्रभाव आइतबारसम्म रहने मौसम पूर्वानुमान विभागले जानकारी गराएपछि शनिबार दिनभरसम्मका लागि हेलिकप्टर नउडाउन भनिएको हेलिकप्टर सोसाइटीका महासचिव योगराज कँडेलले जानकारी दिए।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.